
कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा तीव्ररुपमा फैलिरहेको छ । यस महामारीले तुलनात्मक रुपमा पछिल्लो समयमा विद्यालय जाने उमेर समूहका बालबालिकाहरु बढि प्रभावित भएका छन् । छिमेकी मुलुक भारतमा दैनिकजसो तीन लाखको हाराहारीमा संक्रमित बढिरहेका छन् । यसको प्रभाव तीव्ररुमा नेपालमा पनि पर्न थालेको स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार जन्मेदेखि ९ वर्ष उमेर र १० वर्षदेखि १९ वर्ष उमेर समूहका बालबालिकामा यसको दर अलग–अलग प्रतिशतले बृद्धि भइरहेको छ । संक्रमित बालबालिकाको तथ्यांक दिनानुदिन बढ्दा सर्वत्र चिन्ता र चासो पनि बढेको छ । नेपालमा हाल देखा परेको युके भेरिअन्ट र म्युटन्ट भेरिअन्टको प्रभावले पहिलो चरणको प्रभावलाई रुपान्तरण गरिसकेको छ । यी भेरिअन्टले वृद्धवृद्धाभन्दा बालबालिका र युवा–युवती बढि संक्रमित हुन थालेकोले विद्यालय र क्याम्पस जाने उमेर समूहका विद्यार्थीहरु बढि जोखिममा पर्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।
निर्वाधरुपमा विद्यालय सञ्चालन भइरहनु र परीक्षण गर्ने गति पनि सीमित हुनु, संक्रमण्को लक्षण ढिलो देखिनुले समेत सतही आँकडा मात्र बाहिरिएका छन् । कोरोना संक्रमणको पहुँच समेत नभइरहेको अवस्थामा वर स्वास्थ्य मापदण्डमा समेत लापरवाही गरिएको कारणले यो अवस्था आउँदा दुई–तन महिीना अझ त्रासदीपूर्ण हुने जोखिम बढ्दै गएको छ । बालबालिकाको स्वास्थ्य अवस्था कस्तो छ भन्ने परीक्षण तीव्र र अनिवार्य गराइँदा मात्र यथार्थ बाहिर आउन सक्छ । तर, त्यो असम्भव छ । यदि परीक्षण गर्ने र उपचारमा जाने नै हो भने पनि यही अवस्थामा हाम्रा उपचार गराउने संस्था र प्रयोगशाला लगायत अन्य कुनै पनि पूर्वाधारले धान्न सक्ने अवस्था देखिँदैन । यस महामारीबाट बच्ने उपाय सहज र सजिलो भए पनि चेतना हुँदाहुँदै पनि यसतर्फ सरकार स्वयम्को ध्यान गएको देखिँदैन ।
भारतमा घातकरुपमा दोस्रो लहरमा देखापरेको द्य।ज्ञ।टज्ञठ नाम दिइएको भारतीय भेरिअन्ट नेपालमा प्रवेश गर्ने हो भने यसको उपचार मुलुकले धान्न सक्ने अवस्था देखिँदैन । विश्वको २२ वटाभन्दा बढी देशमा फैलिएको यो भेरिअन्टबाट नेपाल अछुतो रहला भन्न सकिँदैन र आधार पनि छैन । अझ खुल्ला सिमानाबाट अहिलेसम्म भइरहेको निर्वाध आवागमन घातक बन्दै गइरहेको छ । संक्रमणको उच्च जोखिममा रहेको संकेत मुलुकले पाइसकेको छ । गत वर्ष एक–दुई जनामा संक्रमण देखिएको बला मुलुक पूर्णरुपमा बन्दाबन्दी भइसकेको थियो । सरकार निकै आलोचित पनि भयो । यही झस्कोले अहिलेसम्म सरकार तर्सिएको छ । स्थिती अनियन्त्रित हुन लाग्दासम्म सरकार मुकदर्शक बनेको छ ।
बन्दाबन्दी चाहना होइन, तर बाध्यता बन्न सक्छ । आँकडाले यो स्थिति नजिक ल्याइसकेको छ । संकट आएपछि ज्यान बचाउनुको विकल्प पनि छैन । अहिले राज्य स्वयम् निरीह देखिएको छ । राजनीतिक दल, संघ–संगठन, स्थानीय सरकार र संघीय सरकार सबै लाचार देखिएका छन् । कानून निर्माण र कार्यान्वयनमा परिपक्व नभएका स्थानीय सरकारका काँधमा जिम्मेवारी थोपर्ने, पानी माथिको ओभानो भनिए झैं द्वैध चरित्र भएको संघीय सरकारको आदेश मान्न कोही पनि तयार देखिँदैनन् ।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विज्ञले बारम्बार संकटको चेतावनी दिइरहे पनि मुलुकलाई स्वास्थ्य संकटको भुँमरीमा फसाउन राज्य नै उद्यत देखिएको छ । राज्य मौन छ । स्वास्थ्य मन्त्रालयदेखि अन्य मन्त्रालय र विभागबीच कहीँकतै कुनै पनि विषयमा तालमेल देखिँदैन । स्थानीय तहले आफ्नो क्षेत्रको स्वास्थ्य अवस्था हेरेर सोही बमोजिम गर्ने गराउने भनिए पनि स्थानीय तहका सरकारले आ–आफ्ने अड्डि र लिँडेढिपी कायमै राखेर लाखौं बालबालिकाको भविष्यप्रति बेखवर गरेका छन् । विद्यालयमा स्वास्थ्य जोखिम दिनानुदिन बढिरहेको छ ।
युके भेरिअन्टको लहरले छ्याप्प छोपीसक्दा समेत भौगोलिक रुपमा बन्दाबन्दी वा प्रतिबन्धात्मक आदेश लागू गर्दा कुनै पनि परिणाम सकारात्मक आउनसक्ने देखिँदैन खासगरी विद्यालयको शैक्षिक उपलब्धि हासिल गर्न होस् वा शैक्षिकसत्र बचाउन होस् कुनै पनि सवाल सकारात्मक बन्न सक्ने देखिँदैन । स्वास्थ्य मन्त्रालयले चेतावनी दिइरहँदा यसको पालना हुन सकिरहेको छैन । प्रतिबन्धात्मक आदेशको पालना र कार्यान्वयन भएका छैनन् । सडक र पुलको सीमाना लगाएर विद्याालय खोल्ने र बन्द गर्ने गरिएको छ । बन्द गरिएका विद्यालय र शिक्षण संस्थाका विद्याार्थीको पठनपाठन ठप्प छ । खुल्ला गरिएका विद्यालयका विद्यार्थी लापरवाहीका साथ यत्रतत्र भीडभाड गरिरहेका छन् । अभिभावकहरु जोखिम मोलेर बालबालिकालाई विद्यालय पठाइरहेका छन् ।
विद्यालयमा विद्यार्थीले कुनै किसिमको स्वास्थ्य मापदण्ड अपनाएको देखिँदैन । विद्यार्थीले मास्क लगाएका छैनन् । लगाइ हाले पनि त्यो स्वास्थ्य मापदण्ड अनुसार छैन र गराउन पनि सम्भव छैन । भौतिक दूरी कायम गरिएको छैन र सम्भव पनि छैन । एउटा बेञ्चमा चार–पाँच जना सँगै बस्ने, एउटै बोतलको पानी पिउने, ट्वाइलेट बाथरुम समूहमै जाने, सँगै खेल्ने, क्यान्टीनमा सँगै खाजा खाने, अंकमाल गरेर हिँड्ने यो दृष्य नौलो होइन र भौतिकरुपमा विद्यालय खुल्ला गरिएसम्म यसबाट बालबालिकालाई जोगाउन सकिने कुनै उपाय छैन ।
विद्यालयमा न त भौतिक दूरी नै कायम हुन्छ, न त उनीहरुले पटक–पटक साबुनपानीले नै हात धुन्छन् । न त मास्कको उचित प्रयोग नै हुन्छ । आखिर यी सबै उपाय औपचारिक मात्र हुन । साँच्चै महामारीबाट बच्नु र बचाउनु छ भने निश्चित समयसम्म बालबालिकालाई घरबाट बाहिर ननिकाल्नु नै सर्वोत्तम उपाय हो । भिडभाडमा नजाने र स्वास्थ्यका सबै मापदण्ड पूरा गर्न भनेको त सचेत मानिसले मात्र हो । यो सचेतना विद्यार्थीमा पाउन कठिन छ । बाहिर बसेर हेर्न र भन्न जति सहज छ, विद्यालयभित्र असम्भव छ । पहिला ज्यान र त्यसपछि मात्र ज्ञान भन्ने कुरा राज्यले बुझ्नुपर्छ ।
अभिभावकले सोच्नुपर्छ । तर, लाग्छ राज्य कसको प्रभावमा परिरहेको छ । महामारी नियन्त्रणका लागि किन कठोर बन्न सकिरहेको छैन राज्य ? निश्चित समय कठोर हुँदा ज्यान बच्छ भने किन लाचारी बनिरहनु ? महामारीको बेला शिक्षण संस्थाका परीक्षा र पठनपाठनमा वैकल्पिक विधि अवलम्वन गर्नुको विकल्प सोचिएन । विकल्प दिन सकिएको भए राज्य आलोचित हुनुपर्ने थिएन । बालबालिकाको ज्यान पनि बचाउन सकिन्थ्यो । सरकारले शहरी क्षेत्रका बन्द गर्ने आदेश दिएको छ ।
यतिले मात्र संक्रमण नियन्त्रण सम्भव छैन । यो आदेशको पालना भएको छैन । शहरी क्षेत्रका विद्यालय पनि सबै बन्द छैनन् । केही विद्यालय बन्द हुनु र केही खुल्नु व्यवहारिक छैन । शहर र गाउँको शैक्षिकसत्रको थालनी र अन्त एउटै क्यालेण्डरबाट र एउटै पाठ्यक्रमबाट हुने भएकाले पनि यो व्यवहारिक छैन । पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तु र शैक्षिक उपलब्धि मापनका आधार, मूल्य र मान्यता के हुने भन्ने विषयमा समेत सम्बन्धित पक्ष मौन छ । हाम्रा नियामक निकायका शैक्षिक सरोकारवाला नै मौन छन् ।
अबको विकल्प भनेको बिना शर्तको निश्चित समयको लागि पूर्णरुपमा बन्दाबन्दी नै हो, ज्यान रहेमात्र ज्ञान आर्जन गर्न सकिन्छ भन्नेतर्फ राज्य र सरोकारवाल सबै सचेत हुनैपर्छ । विज्ञहरुले अरु दुई–तीन महिनासम्म महामारी उच्च हुने संकेत दिइरहँदा यो अवधिमा विद्यालय, सार्वजनिक यातायात कलकारखाना, हाटबजार, सभा–सम्मेलन, गोष्ठी–भेला जस्ता कुरामा पूर्णरुपमा प्रतिबन्ध नलगाएसम्म सम्भावित भयावहबाट बच्न सकिनेतर्फ सोच्न ढिलो भइसकेको छ । त्यस्तै यो विपद्बाट आफ्ना बालाबालिकालाई बचाउन अभिभावक स्वयम् जागरुक हुनुपर्ने देखिन्छ ।


























