रत्नबहादुर बस्नेत,
बिर्तामोड।

बिर्तामोड नगरपालिकाको आयोजना तथा लेखाजोखा केन्द्र झापाको व्यवस्थापनमा अपाङ्गता भएका बालबालिकाका लागि पोलिमर गहना र सिसापोते माला निर्माण सम्बन्धी एक महिने सिपमूलक तालिम सम्पन्न भएको छ ।
दुर्गा मावि गरामनीका प्रधानाध्यापक कृष्णप्रसाद पाठकको अध्यक्षता तथा बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव तिलचन भण्डारीले कार्यक्रमको औचित्यसहित स्वागत गरेका थिए ।
समुन्नत नेपालकी प्रमिला आचार्य प्रसाईले सहजीकरण गरेको तालिममा बिर्तामोड क्षेत्रका बौद्धिक अपाङ्गता भएका १० जना बालबालिकाको सहभागिता रहेको थियो । दुर्गा मावि र विराट आधारभूत विद्यालयमा अध्ययनरत् तथा अध्ययन छोडेका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको विराट आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद बाँस्कोटाले जानकारी दिए ।
कार्यक्रममा तालिमका क्रममा निर्माण गरिएका टप, जागृतिमाला, पङ्कीबीट माला लगायत सामग्री प्रदर्शन गरिएको थियो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख राजकुमार विश्वकर्मा, समुन्नत नेपालकी अध्यक्ष कोपिला बस्नेत, व्यवसायिक महिलाहरुको अन्तर्राष्ट्रिय संगठनकी पूर्व नेतृ निलीमा बस्नेत लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन लेखाजोखा तथा परामर्श केन्द्र झापाकी संयोजक लुना शिवाकोटीले गरेकी थिइन् ।
यसैबीच, बौद्धिक अपाङ्गता भएका बालबालिकाको वृत्तिविकास र आर्थिक उन्नयन गर्ने उद्देश्यले बिर्तामोड क्षेत्रका अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुको भेलाले कुसुम पौड्यालको अध्यक्षतामा सिर्जनशील बौद्धिक अपाङ्गता आमा समूह गठन गरेको छ । समूहको उपाध्यक्षमा इन्द्रमाया विश्वकर्मा, सचिव निर्मला गुरुङ, सहसचिव भीमा बस्नेत, कोषाध्यक्ष उमा सिटौला रहेका छन् । त्यस्तै सदस्यहरुमा एकमाया विश्वकर्मा, उमा कडरिया, कमला थपलिया, अम्बिका भट्टराई र धनकुमारी गुरुङ रहेका छन् ।
त्यसैगरी बद्रीप्रसाद बाँस्कोटाको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा लुना शिवाकोटी, भद्रकला प्रसाईं, कृष्णकुमारी दुलाल, कोपिला बस्नेत, प्रमिला प्रसाईं र दीपक थापा रहेका छन् ।































