कोरोनाः संक्रमण रोकथाममा कांग्रेसको ध्यानाकर्षण

0
919

झापा।

कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा भद्रपुर नगरपालिकाले बेवास्ता गरेको भन्दै नेपाली कांग्रेस भद्रपुर नगरसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिवार विज्ञप्ति जारी गर्दै नगर सभापति मोहन महर्जन र कांग्रेस नेता गणेश पोखरेलले संघीय र प्रदेश सरकारलाई नै पच्छ्याउँदै भद्रपुर नगरपालिका र यसको नेतृत्वले देखाएको चरम बेवास्ता र अव्यवस्थापनप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ– संक्रमणको दोस्रो लहर अझ बढी संक्रामक र कडा लक्षणयुक्त रहेको भनी जनस्वास्थ्यविद्हरुले बताइरहेको अवस्थामा समेत यस सीमावर्ती नगरको सार्वजनिक स्थानहरुमा स्वास्थ्य मापदण्डको परिपालना गराइएको छैन । जताततै संक्रमितको संख्यामा तीव्र रुपमा वृद्धि भइरहेको अवस्थामा यसको साङ्लो चुडाउने सम्वन्धमा कुनै निर्णय र पहलकदमी लिइएको छैन ।

सीमा पार भारतमा हुने आवतजावतलाई व्यवस्थित गर्न नसकी समयमै उपयुक्त होल्डिङ्ग सेन्टर तथा क्वारेन्टाइनहरुको व्यवस्था गर्नबाट नगरपालिका र यसको नेतृत्व समेत चुकेको अवस्था छ । यस्तो बेवास्ताले प्रकारान्तरमा घातक परिणाम निम्त्याउने निश्चित छ ।

त्यस्तै कोरोना संक्रमित व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङका लागि उच्च सक्रियता देखाउनुपर्ने यस घडीमा संघीय र प्रदेश सरकार जस्तै भद्रपुर नगरपालिका यसप्रति पुरै उदासिन रहेको विज्ञप्तिमा भनिएको छ ।

निकट भविष्यमा ठूलो संख्याका व्यक्तिहरु संक्रमणको चपेटामा पर्ने उच्च जोखिम रहेको अवस्थामा संक्रमितहरुले न्यूनतम् चिकित्सकीय सेवासम्म प्राप्त गर्न नसकी मृत्यु वरण गर्नु नपरोस् भनी बेलैमा अत्यावश्यक स्वास्थ्य सामग्रीको जोहो गरी स्रोत साधनले भ्याउनेसम्मको न्यूनतम् स्वास्थ्य पूर्वाधारहरु निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा त्यसो नगरी सरकारको स्थिति बाटो बिराएको यात्रीको जस्तो भएको उल्लेख छ ।

संघीय सरकार, प्रदेश सरकार र भद्रपुर नगरपालिका (यस नगरपालिकाका सम्बन्धमा) लाई कोरोना संक्रमणको दोस्रो लहरको यस समयमा परीक्षणको दायरालाई तीब्र रुपमा विस्तार गर्न, न्यूनतम् स्वास्थ्य सामग्री तथा पूर्वाधारको अविलम्ब व्यवस्था गर्न, कोरोना संक्रमित भई जटिल स्वास्थ्य समस्या देखिने बिरामीहरुलाई पर्याप्त चिकित्सकीय सेवा सुनिश्चित गर्न, संक्रमणको फैलावटलाई रोक्ने प्रयोजनका लागि सीमा नाका व्यवस्थित गर्न तथा सीमा क्षेत्रमा उच्च निगरानी गर्न, स्वास्थ्य मापदण्डको आफूले पालना गरी आम नागरिकहरुलाई अवलम्बन गर्न लगाउन लगायत कोरोना संक्रमणको रोकथाम, उपचार तथा नियन्त्रणमा आफ्नो शक्ति यथोचित रुपमा प्रयोग गरी आम नागरिकको जीवनको अधिकारप्रति उच्च संवेदनशिल रहन विज्ञप्तिमार्फत खवरदारी गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा अस्पताल भर्ना हुनुपर्ने अवस्थाका नन कोभिड बिरामीहरुप्रतिको आफ्नो दायित्व नबिर्सन समेत तिनै तहका सरकारलाई सचेत गराइएको छ । नागरिकको स्वास्थ्य तथा जीवनरक्षा सम्बन्धी कार्यमा अन्य क्षेत्रमा झैं यस नगरमा समेत हाम्रो पार्टीको तर्फबाट सरकारलाई पूर्ण सहयोग रहने नै छ– विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा संक्रमणको स्थितिलाई मध्यनजर गर्दै धेरै मानिसको जमघट हुने स्थानमा भरसक नजानका लागि आदरणीय नगरवासीहरुलाई पार्टीको तर्फबाट अनुरोध गर्दछौं । सावुनपानीले हात धुने, सेनिटाइज गर्ने, बजार क्षेत्र, सार्वजनिक यातायात जस्ता भींडभाडयुक्त ठाउँमा अनिवार्य रुपमा मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने लगायतको स्वास्थ्य मापदण्डको परिपालना गर्न समेत नगरवासी लगायत सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं– विज्ञप्तिमा भनिएको छ ।

भारतबाट आएका भद्रपुर नगरपालिकाका स्थानीय एक युवा साथीको कारोना संक्रमणका कारण भएको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरिएको छ ।नामा बढिरहेको छ ।

नेपालमा अहिले दुई लाख ९४ हजार ६०१ जना सङ्क्रमित, दुई लाख ७६ हजार ७५५ जना निको भएर घर फर्किएका र तीन हजार १२३ जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ । यस्तै मुलुकभरि १३ हजार ५७८ होम आइसोलेशन र एक हजार १४६ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

सङ्क्रमितमध्ये १.१ प्रतिशतमा मृत्युदर र प्रति १० लाखमा १०७.८ जना मृत्यु हुने गरेको पाइएको छ । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here