झापा,

चार वर्षअघि भारतमा लगेर बेचिएकी एक नेपाली किशोरीको उद्धार गरिएको छ। भारत पश्चिम बङ्गालको कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा बिस्तार मञ्चको संयुक्त पहल १६ वर्षीया किशोरीको उद्धार गरिएको हो।
किशाेरीलाई आइतबार काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ। ती किशोरीलाई कोलकत्ताको एक वेश्यालयबाट उद्धार गरी ल्याइएको विश्व सेवा विस्तार मञ्चका इन्द्र बस्नेतले जानकारी दिए।
उद्धार गरी ल्याइएकी किशोरीलाई केही दिन सेवा विस्तार मञ्चको सेल्टरमा राखिने र पछि परिवारको सदस्यसँग भेटघाट गराई जिम्मा लगाइने योजना बनाइएको उनले पत्रकार सम्मेलनमा बताए। किशोरीको स्थायी घर नुवाकोट हो।
उनी गाउँबाट चार वर्ष अघि हराएकी थिइन्। १२ वर्षको उमेर हुँदा उनलाई कसैले घरायसी कामकाजका लागि भन्दै भारतको कोलकत्तामा लगेको खुलेको छ।
एक वर्षअघि कोलकातास्थित महावाणिज्य दूतावासमा वेश्यालयमा एक नेपाली किशोरी बेचिएको खबर पुगेपछि उनको उद्धार थालिएको सचिव सतिश थापाले बताए। किशोरीलाई सुरुमा घरायसी कामका लागि लगिएको र पछि उमेर बढ्दै गएपछि वेश्यालयमा लगेर बेचिएको खुलेको छ।































