साम्दिन–घुर्बिसे पञ्चमी सडक अन्तर्गतको नवमिडाँडासम्म कालोपत्रे

१३ बैशाख २०७८, सोमबार मा प्रकाशित

युद्धबहादुर बोहोरा,
पाँचथर ।

फिदिमको साम्दिन घुम्तिस्थित मायालु मोडदेखि नवमीडाँडासम्मको १४ हजार आठ सय मिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

साम्दिन(चोकमागु–नवमीडाँडा(फाक्तेप हुँदै घुर्बिसे पञ्चमी जोड्ने सडक अन्तर्गतको उक्त साम्दिन–नवमीडाँडा खण्डको काम करिब ९० प्रतिशत भन्दा बढि सम्पन्न गरि सकेको ठेकेदार कम्पनीका प्रतिनिधि दिलबहादुर तामाङले जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय विकाश तथा कृषि सडक विभाग अन्तर्गत ग्रामिण सडक सञ्जाल सुधार आयोजना मार्फत नेपाल सरकारको २० प्रतिशत र एशियाली बैंकको ऋण ८० प्रतिशत सहयोगमा शुरु गरिएको हो ।

पाँच मिटर फराकिलो ०.७५ सेन्टिमिटर सोल्डर सहित नाली रहेको सडक निर्माण गर्न २०७४ चैतमा स्वछन्द कन्कई जेभीले करिब ४० करोडको लागतमा दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेको भएता पनि डिपिआर सच्याउन एक वर्ष म्याद थप साथै कोभिड–१९ का कारण केही समय काममा ढिलाई भएको ठेक्केदार कम्पनीले बताएको छ ।

उक्त सडक फिदिम नगरपालिका वडा नम्बर २,५ र ६ हुँदै ‍फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर १ सम्मको काम मध्ये हाल नाली सुधार,ट्राफिक संकेत, डेलीनेटर पोष्ट लगायतको कार्य मात्रै बाँकी रहेको जनाइएको छ । नौ वटा कजवे,एक मिनी पुल (स्ल्याब कल्बर्ड) बनाएको यो सडक आसफाल्ट ग्रेडको कालोपत्र गरिएको आयोजनामा कार्यरत कन्सलटेन्टका इन्जिनियरले बताए ।

यसैगरी,दोस्रो खण्ड अन्तर्गत नवमीडाँडा-फाक्तेप हुँदै घुर्बिसे पञ्चमी बजार जोडिने बाँकी लागभग १८ किलोमिटर सडकको हाल सम्म डिपिआरको काम नभएको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्वङले जानकारी दिए ।

उनका अनुसार घुर्बिसे पञ्चमी सम्म जोड्न बाँकी रहेको ग्रामिण सडकलाई डिपिआर गरि कालोपत्रको लागि आवश्यक प्रक्रिया अगाडि बढाइ दिन सम्बन्धित पक्ष संग अनुरोध गरिएको बताए । यस सडकमा पर्ने फाल्गुनन्द वडा नम्बर ५ फाक्तेप र वडा नम्बर १ को सतेरुपा बीचमा रहेको निवु खोलामा २० मिटर लामो पक्की पुल निर्माण भइसकेको छ ।

करीब ३३ किलोमिटर लामो घुर्बिसे पञ्चमीबाट फिदिम जोडिने सडक कालोपत्रको कामले पूर्णता पाउँदा यस क्षेत्रका बासिन्दाको जिवन स्तरमा सुधार आउने साथै लागभग १० किलोमिटर दुरी छोटो हुँदा आवत–जावतमा समेत सहज हुने स्थानीय बासिन्दाहरु बताउँछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here