सतर्कता पुगेन

१३ बैशाख २०७८, सोमबार मा प्रकाशित

कोरोनाको नयाँ भेरियन्टको पहिचान भएसँगै संक्रमितहरुको संख्या दिनहुँ बढ्दै गएको छ । पछिल्लो समय दैनिक २ देखि ४ प्रतिशतका दरले संक्रमितहरु बढ्दै गएको सन्दर्भले आउने दिन हाम्रा लागि चुनौतिपूर्ण हुने निश्चित छ । अहिले नै राजधानी लगायतका प्रमुख शहरहरुमा कोरोना संक्रमणको ग्राफ यति उक्लिएको छ कि उनीहरुलाई उपचार गर्न आवश्यक स्रोत, साधन, उपकरणहरुको अभाव हुन थालेको छ । यही दरले संक्रमण विस्तार हुँदै जाने हो भने संक्रमितले अस्पतालमा शय्या नपाउने समस्या आउन सक्छ । अहिले विश्वमा नै अमेरिकापछिको दोस्रो ठूलो संक्रमण भएको देश भारतसँग खुल्ला सीमानाका कारण जोखिम झनै बढ्ने निश्चित जस्तै छ । भारत मै अस्पतालमा शय्या नपाएर, पाएकाहरुले अक्सिजन नपाएर छटपटिनुपर्ने मात्र होइन मृत्युवरण गर्नुपरेको समाचार आएको छ ।

कोरोनाबाट गम्भीर विमारी भइसकेकाहरु अस्पतालमा लामबद्ध छन्, अत्यावश्यक मानिएको जीवनवायुको पूर्णतः अभाव छ, औषधि सकिएको छ र चाहिने स्वास्थ्य सेवा दिन सकिएको छैन । गम्भीर अवस्थाका विरामीलाई हाइडिपेन्डेसी बेड (एचडियु), सघन उपचार कक्ष (आइसियु) आदि पनि अपुग भइरहेको छ । त्यसैगरी आवश्यक स्वास्थ्यकर्मीहरुको पनि अभाव छ । गत वर्ष उत्पन्न जटिलताबाट हाम्रो सरकारले केही सिक्न नसकेको परिस्थितिले देखाएको छ । स्वास्थ्यविद्हरुको चेतावनीका बावजुद सरकारी स्तरबाटै स्वास्थ्य रक्षाका मापदण्डहरु उल्लंघन गरिएका छन् । क्वारेन्टाइन, आइसोलेशन लगायत आवश्यक पूर्वाधार निर्माण र सञ्चालनमा सरकार गम्भीर भएको अनुभूति हुन पाएकै छैन ।

जनघनत्व बढी भएका हाम्रा शहर र शहरउन्मुख क्षेत्रहरुमा कोरोना संक्रमणको त्रास अचाक्ली बढेर गएको छ । यसो हुनुका पछि हाम्रो लापरवाही मुख्य कारण हो । व्यक्तिको लापरवाही सँगै सरकारका तर्फबाट पनि सभा, समारोह गर्न रोकिएको छैन । जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्यविद्हरुले अनुरोध गरिरहँदा शिक्षामन्त्री ‘कोरोना केही होइन’ भन्दै थिए । सरोकारी निकायका बीचको असमझदारीले बालबालिकामा संक्रमण विस्तार भयो, अन्ततः विद्यालयहरु बन्द गरिए, तर स्वास्थ्यविद्हरुको आग्रहलाई अझै कडाइका साथ पालना गरिएको छैन । सार्वजनिक सवारी लापरवाही ढंगले सञ्चालन भइरहेका छन् । चिकित्सकहरु कोरोनाको सम्भावित विस्तारप्रति चिन्तित मात्र होइन त्रसित हुन थालेका छन् । स्वास्थ्यकर्मीहरुले स्वयम् असुरक्षित महशुस गर्न थालेका छन् । यस्तो बेला पनि सरकारले पूर्वाधार निर्माण र संक्रमणको सिक्री विच्छेद गर्नेतर्फ ध्यान दिएको छैन । जनस्वास्थ्यको मापदण्डको पालना गराउन कठोर ढंगले उपस्थित भएको छैन । सीमानाकाबाट भइरहेका आवागमनलाई व्यवस्थित गर्न सकिरहेको छैन । यो अवस्थाबाट उत्पन्न हुनसक्ने जोखिमप्रति स्वयम् सचेत भएनौं भने सरकारलाई गाली गर्ने मौका पनि पाइने छैन । किनकि यसले कसैलाई छोड्नेवाला छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here