शिक्षक र विद्यार्थीमा पुस्तान्तरणले पारेका प्रभावहरु

१३ बैशाख २०७८, सोमबार मा प्रकाशित

पुस्तान्तरणको सामान्य अर्थ किशोर–किशोरी पुस्ता र आमाबाबु पुस्ताको सांस्कृतिक भिन्नता हो । छुट्टै पुस्ताका व्यक्तिहरुको क्रियाकलाप, विश्वास, सौख, भनाइ, गराइ र चाखहरुमा फरकपन हुनुलाई सामान्यरुपमा पुस्तान्तर भनिन्छ । अहिले अत्यन्त छिटो–छिटो भइरहने सांस्कृतिक परिवर्तनका कारण पुस्तान्तरण बढी पेचिलो बन्दै गएको छ । पुस्तान्तरण चाहना, लवाइखुवाइ, कुरा गराइ आदि सांस्कृतिक पक्षमा मात्र होइन, राजनीति र शिक्षा क्षेत्रमा पनि त्यतिकै टड्कारो बन्दै गएको छ । विविध विषय र क्षेत्रलाई ग्रहण गर्ने, प्रतिक्रिया देखाउने र आत्मसात गर्ने कुरामा पनि पुस्तान्तरणले अकल्पनीय भिन्नता सृष्टि गरेको छ । दुई पुस्ताका मूल्यमान्यता फरक हुने र एक अर्काप्रतिका गलत समझदारी र बुझाइका कारण वैमनश्यता र नजानिँदो अन्तरकलह र मनमुटाव बढ्ने गर्दछ ।

हरेक व्यक्तिलाई आफ्नो अस्तित्व र स्वसम्मान सबभन्दा प्यारो हुन्छ । आत्मसम्मान र अस्तित्व रक्षा र प्रतिष्ठापनका लागि पृष्ठाधारका रुपमा मानिस असीमित र विस्तृत इच्छाशक्तिको बलमा अस्तित्वको लडाइँ लड्न तयार हुन्छ । फरक–फरक पुस्ताका मान्छेको अवधारणा वा सोच्ने र अनुभूति गर्ने तरिकाको भिन्नताका कारण द्वन्द्वको सृष्टि हुन्छ । जब एउटा पुस्ताले गरेको कुरा अर्को पुस्ताले चाख लिँदैन र बुझ्दैन भने त्यो पुस्तान्तर हो । दुई पुस्ताहरु बीच हुने विविध सम्वादहरुमा देखिने जटिलता द्वन्द्व वा सम्वादहीनतालाई पुस्तान्तरणको रुपमा चित्रण गरिने गरेको पाइन्छ । दुई पुस्ताका बीचमा पाइने फरक नै पुस्तान्तरण अर्थात् जेनेरेसन ग्याप हो ।
पुस्तान्तरण शब्दले अघिल्लो र पछिल्लो पुस्ताका बीचमा देखिने विचार र शैलीको भिन्नतालाई बुझाउँछ । पहिला फरक पुस्ताभित्र समस्याहरु थिए भने भने हाल एकै पुस्ताभित्र पनि अनुकूलनमा जटिलता देखिन थालेको छ ।

परम्परागत विश्वासमा आएको स्खलन र सामाजिक गतिशीलताले पुस्तान्तरलाई थप तीव्र बनाएको छ र एकप्रकारको उकुसमुकुस देखिएको छ । पुस्तान्तरण प्रभाव समाज व्यवस्थाका सबै पक्षमा पर्छ, राजनीति, खेलकुद, साहित्य, सार्वजनिक प्रशासन कुनै पनि क्षेत्र त्यसबाट अछुतो रहन सक्दैन । प्रत्येक पुस्ताले आफ्नो परिवेश, पृष्ठभूमि र पीडालाई बोकेका हुन्छन् र त्यसको प्रभाव उसका व्यवहारमा देखिन्छन् । नीति एवम् संस्थाप्रति विश्वास र निष्ठा, उच्च आदरभाव र ओहोदामुखी व्यवहार, औपचारिकता र आदर्श पुराना पुस्ताका मूल्यमान्यतामा पर्छन् भने गुणस्तरमा मोह, पदीय अहम्, वैयक्तिकता, अवसर र अधिकारप्रति सचेत रहनु मध्यम पुस्ताका विशेषता देखिए ।
शिक्षा क्षेत्र पनि पुस्तान्तरणले सृजना गरेका उबडखाबडभन्दा फरक छैन । विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरु पनि समाजभन्दा फरक र अलग्गै क्षेत्र होइनन् । अहिलेको तीतो यथार्थ भनेको पाठ्यक्रमले औपचारिक रुपमा तोकेको जे भए पनि पुरानो पुस्ता र नयाँ पुस्ताका लक्ष्य, उद्देश्य र आशाहरु फरक छन्, यो हुनु आजको मूल समस्या हो । पाठ्यक्रम पुस्तान्तरणका कारण सृजना हुने वा हुनसक्ने द्वन्द्व न्यूनीकरणका लागि सहायक हुनुपर्छ । तर, पुरानो पुस्ता विद्यार्थीलाई केबल भौतिक पुस्तक अध्ययन र औपचारिक कक्षाकोठामा सीमित गर्न चाहन्छ, नयाँ पुस्ता विज्ञान र प्रविधिले ल्याएका परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्न चाहन्छ ।

पुस्तान्तरण प्रक्रिया गतिवान् बनाउन असाधारणरूपमा विस्फोट भइरहेका ज्ञान र प्रविधि, संस्थागत पुनर्संरचना, बढ्दो अन्तरआबद्धता र विश्वव्यापीकरण, जनसंख्या र सांस्कृतिक विविधता र परम्परागत विश्वास स्खलनले सकारात्मक वा नकारात्मक ऊर्जा दिइरहेको छ र यो पछिल्ला दिनमा बढ्दै गएको छ । समय र उमेरको अन्तर बढ्दै जाँदा व्यक्तिको स्वभाव, चाहना र जीवनशैलीमा नवीनता देखिँदै जान्छ । यसले गर्दा फरक–फरक समयका व्यक्ति तथा पुस्ताका सोचाइ पनि भिन्दाभिन्दै हुन पुग्छन् । यही भिन्न सोचाइका कारण अघिल्लो र पछिल्लो पुस्ताका बीचमा अन्तर देखा पर्छ । युवाहरु र प्रौढहरुबीचको संवादहीनताले एक अर्काप्रतिको संस्कार र परम्परालाई बुझ्ने र जान्ने अवसरबाट वञ्चित गराउने गरेको पाइन्छ । यस्तो समस्या आजको बदलिँदो सामाजिक परिवेशमा देखिएको छ । जसले गर्दा असमान दूरीमा रहेका सबै पुस्तालाई आफ्नो आफ्नैपन र संस्कारमा बाँच्न र हुर्किंन सिकाउने गर्दछ ।
यस्तै कारणले एक पुस्ताले अर्को पुस्ताको मर्म र भावना नबुझ्ने हुन्छ । यो कुरा विद्यालयमा शिक्षक र शिक्षार्थीका बीचमा पनि देखिन्छ । आधुनिक प्रविधिहरुको बिकाससँगै सुगम बनेको सञ्चार र सामाजिक सञ्जालहरुको विस्तारले भेटघाट, प्रत्यक्ष कुराकानीभन्दा सामाजिक सञ्जालहरुमार्फत भावना, सूचना आदानप्रदान गर्ने गरेकोले नयाँ संस्कृति र आचारहरुको विकास भइरहेको छ । एक पुस्ताले अर्को पुस्तालाई जन्म दिने र हुर्काउने सिलसिलामा प्राकृतिक रुपमा नै कतिपय अवस्थाहरुमा पुस्तान्तर सिर्जना हुनेहुन्छ ।

आमाबाबु र अभिभावकहरुसँग आफ्ना बालबालिकाहरुलाई दिने समय नहुनुले आमा बाबु र अभिभावकको भावना छोराछोरीहरुसँग मेल खाँदैन र पुस्तान्तर बढ्छ । अभिभावक र शिक्षकहरुले पनि आफ्नै कुरा विद्यार्थी वा बच्चामा लाद्न खोज्दा सम्वादहीनताको अवस्था सिर्जना हुन पनि सक्छ । बालबालिका आफ्नो भावनाको कदर नहुने ठान्छन् भने अभिभावकहरु पनि आफूले भने जस्तो नभएर छोराछारीसँग बेखुसी हुन्छन् । नेपालको शिक्षा क्षेत्रको कुरा गर्ने हो भने युवाहरू पश्चिमी संस्कृति र मापदण्ड अनुसार सभ्य र धनी बन्न चाहन्छन् र सोही प्रकारको अंग्रेजी माध्यमको शिक्षा चाहन्छन् । विद्यार्थी इन्टरनेट र अन्य उच्च प्रविधिको उपयोग गर्न रुचाउँछ, तर अभिभावक र शिक्षक पुरानो मानसिकतामा छन् । आफूले भने जस्तो नभएपछि नयाँ पुस्ता अघिल्लो पुस्ताका कुरा बुझ्न र सुन्न चाहँदैनन् । मानवीय मूल्यको खोजीमा फरक आउने र एकआपसी बुझाइमै गल्ती हुन पुग्दछ । शिक्षामा आज देखा परेको तनाव समयको अन्तरालमा विचार, दृष्टिकोण, मूल्य, विश्वास, प्राथमिकता र व्यवहार परिवर्तन हुँदै हल हुँदै जाला, तर संक्रमणकालीन अवस्थामा क्षति डरलाग्दो हुन्छ । अहिलेको पुस्ता वैयक्तिक असुरक्षा, पारवारिक परिवेशबाट न्यून माया, आफ्नै कमाइले जीवन व्यवस्थापन गर्नुपर्ने बाध्यताले गर्दा विविधतामुखी, संघर्षशील, सन्तुलित र विश्वव्यापीकरणलाई आत्मसात गर्ने देखिन्छ ।

सानो र खण्डीकृत परिवार, परम्परागत संस्थाप्रति असहमति र सञ्जालीकरणमा रमाउने पछिल्लो पुस्ताको मान्यता देखिन्छ । यसैले हो आजको शिक्षामा पुस्तान्तरले अप्ठेरो अवस्था निम्ताइरहेको छ । नेपालको राजनीति, प्रशासन, खेलकुद, शिक्षा लगायतका सार्वजनिक क्षेत्रमा पनि पुस्तान्तरण प्रभाव बढ्दै गएको छ । अहिलेको पुस्ताले संसार देखेको छ । आजको पुस्तामा सूचना र सञ्चारको प्रभावले परम्परागत मान्यताप्रति दिलचस्पी र अनुराग छैन । उनीहरु हरेक क्षेत्रमा हिजोभन्दा राम्रो र छिटो हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनीहरु अघिल्ला पुस्ताका शैली, वृत्ति र प्रवृत्तिलाई परिवर्तन होस् भन्ने चाहना राख्छन् । आज शिक्षा क्षेत्रमा पुरानो र नयाँ दुवै पुस्तामा निराशा बढ्दै गएको छ । शिक्षा क्षेत्रमा पुस्तान्तरणले प्रतिक्रिया, कार्यसम्पादन र कार्यसंस्कृतिमा पनि छलाङ मारेको कुरालाई बुझ्न आवश्यक छ, तर पुस्तान्तरणले सृजना गर्न खोजेको गतिशीलतालाई आत्मसात गर्न हामीलाई निकै अप्ठेरो छ, किनभने हामीसँग परम्परागत दिमागी कुँडाकर्कट, अहम् र कुण्ठा छन्, आग्रह र पूर्वाग्रहहरु छन् । आजको विज्ञान र प्रविधिले ल्याएको अभूतपूर्व परिवर्तनलाई आत्मसात गर्दै समयको स्पन्दनसँगै अघि बढ्ने हो भने ‘पुस्तालाई सोच, वृत्ति र प्रवृत्तिले छुट्याउने हो, उमेर, प्राज्ञिकता र परिवेशले होइन’ भन्ने बुझ्न जरुरी छ ।

पुस्तान्तरण गति समात्न नसके र पुस्तान्तरणको गति पछ्याउन नसक्दा शिक्षक तथा प्राध्यापकहरु विद्यार्थीका प्रिय बन्दैनन् र विद्यार्थीहरु पनि आफ्नो दायित्वबोधबाट उम्कन खोज्छन् । शिक्षकका नजरमा विद्यार्थी अटेरी र अनुशासनहीन लाग्दछन् । दुवै पक्षमा सामाजिक संरचनाका कारण उत्पन्न डर र भविष्यप्रतिको वितृष्णाले नैतिक पीडा हुने गर्दछ । सामाजिक तनाव र मतभिन्नताले पुस्ताका बीचमा विचारविमर्श घढाउँछ र नैतिक बन्धनका बारेमा उनीहरू बीचमा खुल्ला ढङ्गले छलफल हुन पाउँदैन । शिक्षार्थीको नयाँ पुस्ता संसारका आधुनिक र अद्यतन परिस्थितिहरूसँग सम्पर्कमा छ, हाम्रा पुराना मूल्यमान्यताले त्यसलाई बाँध्न सक्ने स्थिति छैन । यो पुस्ता जिज्ञासु छ र वैज्ञानिक दृष्टिकोणको छ । नयाँ पुस्ता आफै, नबुझी, नदेखी कुनै कुरामा विश्वास गर्दैन । हर समस्याको चित्तबुझ्दो तर्कपूर्ण समाधान चाहन्छ । शिक्षा क्षेत्रमा संसारमा विकसित सूचना, प्रविधिमा आएका परिवर्तनलाई आत्मसात गर्दै पुस्ताहरुबीचमा छलफल, संवाद र सहकार्यबाट पुस्तान्तरबाट सृजने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न सम्भव हुन्छ ।

परिस्थिति र अवस्था परिवर्तन भएपछि सिकाइ सहजीकरण र शिक्षा ग्रहणका क्षेत्रमा पनि परिवर्तन अनुरुप नवीन ढंगबाट सोच्न आवश्यक हुन्छ । सबै स्रोत र समय लगानी गरेर विद्यालय सुधारका प्रयत्न हुँदा पनि अपेक्षित प्रतिफल प्राप्त हुन सकिरहेको छैन । यसका पछि धेरै कारणहरु भए पनि पुस्तान्तरणले सृजेका खाडल आजको शैक्षिक द्वन्द्वको मूल जड हो । पुस्तान्तरले सृजेका समस्यालाई पुर्न वा घटाउन अब गम्भीर भएर सोच्न आवश्यक छ । शिक्षा क्षेत्रको अर्को समस्या भनेको एकै विद्यालयमा पनि फरक पुस्ताका शिक्षकहरु कार्यरत रहन्छन् र ताजा, नवीन तकनिकी बुझेका मानव संसाधन नयाँ सोच, जाँगर र हुटहुटी लिएर भर्ती भइरहेको छ । नयाँ जनशक्तिलाई पुँजीकृत गर्न आवश्यक छ र उनीहरुको ऊर्जालाई विस्तार गर्न सकेमा मात्र पुस्तान्तरणले सृजना गरेका कठिनाइबाट मुक्ति पाउन सहज हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here