प्रतिकारात्मक बाटो रोजौं

१४ बैशाख २०७८, मंगलवार मा प्रकाशित

शनिबार परीक्षण गरिएका आठ हजार छ सय ६८ जनामध्ये दुई हजार छ सय १९ जनामा कोरोना संक्रमण देखियो । स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसारको यो तथ्यांकले सक्रमणको भयावहतालाई संकेत गरेको छ । आइतबार बेलुकासम्ममा संक्रमितहरुको संख्या बढेर तीन हजार एक सय २२ जना र देशभर सक्रिय संक्रमितको संख्या १९ हजार तीन सय ९२ पुग्यो । यही अवधिको चौबीस घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यसरी संक्रमित हुने र मृत्यु हुनेको संख्या तीव्र दरमा वृद्धि भइरहँदा पनि आम मानिसमा सचेतता, सतर्कता र सजगता देखिएको छैन । स्वास्थ्यविद्हरुले यही अवस्थालाई मध्यनजर गर्दै आउँदो महिनासम्ममा एक दिनमै दश हजार जनाभन्दा बढी संक्रमित हुनसक्ने चेतावनी दिएका छन् ।

स्वास्थ्यविद् र चिकित्सकहरुले कोरोना नियन्त्रण गर्ने सबैभन्दा ठूलो अस्त्र ‘एकान्तबास’ भनेका छन् । त्यसबाहेक मास्क, सेनिटाइजर, व्यक्तिगत दूरी जस्ता सहायक उपायहरुको उपयोगले पनि संक्रमणबाट जोगिन सकिन्छ । तर, पदमा बसेकाहरु नै यसविरुद्धका गतिविधि सञ्चालन गरिरहेका छन् । संक्रमण फैलिन नदिन प्रतिकारात्मक उपायको अवलम्बनमा सत्तासीन दल, तिनका नेता र उच्च पदस्थ व्यक्तिहरु नै चुकेका छन् । न्यूनतम् मापदण्डको समेत पालना नगरी सभा, गोष्ठी, उद्घाटन र भेला सञ्चालन गरिरहनुले संक्रमणको दर बढ्नुका साथै गम्भीर प्रकृतिका विरामीहरुको संख्यामा पनि वृद्धि भइरहेको छ । आफैंले मापदण्डको पालना नगर्दा आममानिसलाई संक्रमणको सम्भावित चित्र देखाउन सकिँदैन ।

अहिले एकातिर संक्रमण तीव्र दरमा फैलिँदैछ भने अर्कातिर गम्भीर प्रकृतिका विरामी पनि त्यही अनुपातमा थपिँदैछन् । यसले स्वास्थ्य सेवामा अत्यावश्यक हुने अक्सिजन, एचडीयु र आइसीयु, भेन्टिलेटर र औषधि मात्र होइन शय्याको पनि अभाव देखिन थालेको छ । भारतको तस्वीरले आम मानिसलाई सचेत बनाउनुपर्नेमा सरकार नै उदासीन देखिएकाले आउने दिन अकल्पनीय हुन सक्छ । त्यसैले हामी प्रत्येकले प्रतिरक्षाको उपाय अवलम्वन गर्न ढिलो गर्नुहुँदैन । स्वास्थ्य मन्त्रालयको चेतावनी र मापदण्डप्रति सचेत रहँदै सकेसम्म बन्दाबन्दीमै गएर उच्च जोखिमलाई न्यूनीकरण गर्नु बुद्धिमानी हुन्छ । आज पनि शहर–बजार, गल्ली, चोक तथा होटल, रेष्टुरेन्टहरुमा भीडभाड उत्तिकै छ । सरकारको क्षमता, इमान्दारिता देख्न बाँकी नरहेको अवस्थामा लापरवाही गरिरहनु उचित हुँदैन । रोग लागीसकेपछि उपचारमा भौंतारिनु, छटपटिनु र मृत्यु पर्खनु पर्ने अवस्थाप्रति सचेत रहौं । सत्ता र सत्तारुढ दलका पछि लागेर सुरक्षित हुइन्छ भन्ने भ्रममा नबसौं । संक्रमणको चेन तोड्न जनस्वास्थ्यका मापदण्ड मात्रै सक्षम हुन सक्छन् । त्यसैले त्यसकै माध्यमबाट सुरक्षित रहौं, स्वयम्को जीवनको रक्षा गरौं, सचेत र सजग भएर बसौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here