विनोद सापकोटा,
झापा ।
वि.सं. २०२८को अन्त्यतिर भारतको पश्चिम बङ्गालको नक्सलवाडीमा कानु सल्यान र चारू मजुमदारको नेतृत्वमा कम्युनिष्ट पार्टीले सशस्त्र विद्रोह गरिरहेको थियो । त्यसबाट प्रभावित भएर नेपाली कम्युनिष्टहरूद्वारा झापा जिल्लामा पनि ‘वर्गशत्रु समाप्त पार्ने अभियान’ चलाइयो ।
यो काण्डमा कम्युनिष्टहरूले सामन्त आरोप लगाएर केही सर्वसाधारण नागरिकको हत्या गरे । सर्वसाधारण नागरिकको हत्या गरेको आरोपमा सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, रत्नकुमार वान्तवा लगायत केही नेताहरू मारेको थियो । यस काण्डलाई नेपालको इतिहासमा ‘झापा काण्ड’ नाम दिइएको छ ।
यही झापा काण्डका एक योद्धा ७६ वर्षीय मनकुमार तामाङ जिउँदै छन् । उनी निहत्था जनताको हत्या गरेको आरोपमा १७ वर्ष ७ महिना ७ दिन जेल परे । उनीसँगै सोही आरोपमा जेल बसेका पाँच जना सुखानीमा शहीद भए । बाँचेकामध्ये केपी शर्मा ओली मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीसहित पार्टीका अध्यक्ष छन् । तामाङका अनुसार ओलीसँग उनको तँ–तँ र मँ–मँ चल्थ्यो । ११ महिनासम्म काठमाडौको नख्खुजेलमा केपी ओलीसँगै जेल जीवन बिताएका तामाङले भने– राजनीति त गर्दा हुँदो रहेछ । मैले उहाँहरुले जे–जे भन्नुभयो त्यही मानेँ । २०४६ सालको आन्दोलनबाट संबैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था आएपछि उहाँहरु अघिबढ्नु भयो म जस्ता पछि प¥यौ ।’
झापा आन्दोलनका योद्धा तामाङ्ग बस्ने अर्जुनधारा–१को घर घाम पानी नछेल्ने अवस्थामा छ । ०४६ सालमा प्रजातन्त्र आएपछि राजा वीरेन्द्रले जेलमुक्त गरेर फर्किएपछि उनले घर बनाएका हुन् । मक्काइसकेको काठको घरको छाना जस्तापाताको भए पनि खिया लागेको छ । बाँसको बेरा मक्काएर भुइँमा झर्न थालिसकेको छ । उनले भने– ‘अब त पक्की घरमा बस्ने आश पनि मरिसक्यो ।’
उनले प्रधानमन्त्री ओलीलाई भटेरै मर्ने इच्छा राखेका छन् । ‘उहाँको सुरक्षाकोलागि मैले हतियार उठाएँ । बुवा–आमा, दाजु–भाइ लगायतका आफन्तले दिएको कुनै सल्लाह मानिनँ । हामीबिरुद्ध तत्कालीन शासकलाई सुराक गर्ने र किसानलाई दुःख दिने जमिनदार सिध्याउनुपर्ने उहाँले दिएको आदेश पालना गरेँ । उहाँ कस्तो हुनुभयो, एकपटक हेरेर हात मिलाएर मर्ने इच्छा छ’– उनले भने । ओलीलाई लुकाउन र उनको सुरक्षाका लागि हतियारसहित अंगरक्षक समेत रहेका तामाङको जीवन यतिवेला कष्टकर बनेको छ । झापा बिद्रोहको मुख्य योजनाकार मानिएका सीपी मैनाली, राधाकृष्ण मैनाली, नरेश खरेल, मनकुमार गौतम लगायत थुप्रै नेताहरुसँग उनले जेल जीवन विताएका छन् । तर, आनन्दले रात बिताउने घर नहुँदा उनी जीवनको उत्तरार्धमा पिरोलिन थालेका छन् ।
बिहान बेलुकाको हात मुख जोड्न उनले छिमेकीको शरण पर्नुपर्छ । बाँस मागेर कातेको चोयाबाट उनले डोको बनाएर विक्री नगर्दा उनको मुखमा माड लाग्दैन । ‘बूढो शरीर जनमन गर्न सक्दिनँ– उनले भने– ‘धन्नका छिमेकी पाएको छु ।’ ०४६ सालमा उनले घर बनाउँदा गाँउमा उनको मात्र घर काठको थियो । अरु सबै फुसका थिए । अहिले उनको घर ठिङ्रिङ्ग काठको त्यो पनि लड्न आँटेको । मनमनै उनले आफैंलाई धिक्कार्दै भने– ‘थुइक्क के दिनमा राजनीतिमा लागेछु ।’
आइतबार उनको घरमा पुग्दा श्रीमती सिँढीमा टुक्रुक्क बसिरहेकी थिइन् । साताअघि आएको हुरीले उनको घर हल्लाएर थाङ्गथिलो बनाएको रहेछ । बलँेसी नजिकै चुलोमा तरकारी पाकिरहेको थियो । तामाङ भने छिमेकीको घरमा बाँस माग्न गएका रहेछन् । उनले मागेर ल्याएको बाँसबाट निकालेको चोयाले जोड्नी खुस्किएका घरका बिम र बलो बाँध्ने उनले बताए । ‘काँटी कब्जा किन्ने पैसा छैन । अर्कोपटक पनि हुरी आयो भने बासस्थान नै उडाइदिन्छ’– उनले भने ।
परिवर्तनका लागि केपी ओलीसँग झापा आन्दोलनमा सँगसँगै हिँडेका तामाङ यो बेला वृद्ध अवस्थामा पुगेका छन् । उनको घरमा तामाङ दम्पत्ति मात्र बस्छन् । श्रीमती फूलमाया पनि मुटु रोगले थलिएकी छन् । उपचार गर्ने खर्च नभएर उनले रोग पालिरहेकी छन् । कान्छो छोरा ललित ७ वर्षअघि नागाल्याण्ड भाँसिएको अत्तोपत्तो छैन । आँखाभरि आँशु पार्दै फूलमायाले भनिन्– ‘हामी जस्ताको सुखको दिन कहिले आउला ?’
कम्युनिष्ट जुन जगमा उभिएर मुलुकमा शासन गर्दैछ, त्यो जग झापा बिद्रोह नै भएको स्थानीय पत्रकार कुमार भट्टराईले बताए । उनले भने– ‘झापा आन्दोलनमा भूमिका खेल्ने योद्धा यतिवेला गाँस, बास र कपास नपाएर प्रताडित छन् । झापा आन्दोलनकै नाइके आज पनि सरकारमा छन् । हिजो किसानका लागि भनेर आवाज उठाउनेहरु फुटपाथमा रहनु बिडम्बना हो ।’
एमाले सरकारले ज्येष्ठ नागरिकलाई सहयोग गर्ने भनेकै छ । राजनीतिक दलको हिसाबले नहेर्ने हो भने पनि तामाङलाई सरकारले बस्ने घर बनाइदिनु पर्छ– भट्टराईले भने । हुन त तामाङ दम्पत्तिलाई बस्न योग्य घर निर्माणका लागि स्थानीय पत्रकार पनि लागीपरेका छन् ।
अर्जुनधारा प्रेस क्लवका अध्यक्ष समेत रहेका पत्रकार कुमार भट्टराईले भने– दातासँग अनुनय विनय गरेरै भए पनि झापा आन्दोलनका योद्धाको घर निर्माण गर्ने योजना बनाएका छांै । स्थानीय पत्रकारलाई नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि दिपीन राई समेतले सहयोग गर्ने बताएका छन् ।
अर्जुनधारा नगरपालिकाले बासको व्यवस्था नभएका राजनीतिक पीडितलाई प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको आधारमा सहयोग गर्न गत वर्षदेखि कार्यक्रम नै ल्याएको छ । गत आर्थिक वर्षमा पालिकाले ५ लाख विनियोजन गरेको थियो । तर, खर्च नभएपछि त्यो रकम फ्रिज भएको नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए । उनले भने– पत्रकार आफैंले झापा आन्दोलनका पीडितको घर निर्माण गर्ने योजना ल्याएपछि नगरपालिका पछि हट्ने कुरै आउँदैन ।’ नगरपालिकाले तामाङको घर निर्माणका लागि तीन लाख रुपैयाँ सहयोग गर्ने नगर प्रमुख रानाले बताए ।