चिया निर्यातमा वृद्धि

१४ बैशाख २०७८, मंगलवार मा प्रकाशित
  • 890
  •  
  •  
  •  
  •  
  •  
    890
    Shares

काठमाडौँ,

कोरोना भाइरस सङ्क्रमणको महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा रु दुई अर्ब ७८ करोड बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकोमा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमै रु तीन अर्ब छ करोड बराबरको नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ले देखाएको छ ।

त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आव २०७५/०७६ मा २५ हजार २०५ मेट्रिक टन चिया उत्पादन हुँदा आव २०७६/०७७ मा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । गत वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर परे पनि अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षेति व्यहोर्नु परेन ।

लकडाउनका बीच पनि स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी बोर्डको अग्रसरतामा चिया बगान र उद्योग सञ्चालनमा रहेका थिए । यस समयमा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

बोर्डले भोलि वैशाख १५ गते ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ राष्ट्रिय चिया दिवसको २५ औँ संस्करण मनाउँदैछ । नेपालले धेरै उपभोग्य वस्तु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी आत्मनिर्भर भएको पनि धेरै भइसकेको छ ।

स्वदेशमा चिया उपभोग गरी बढी भएको उत्पादन भारतलगायतका तेश्रो मुलुकमा निर्यात भइरहेको छ । नेपाली चियाको खपत वार्षिक २०० ग्राम प्रतिव्यक्ति भन्दा कम रहेको अनुमान गरिन्छ । छिमेकी मुलुक भारतमा भने वार्षिक ३३० ग्राम प्रतिव्यक्ति खपत रहेको छ ।

आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवाला लाग्नुपर्ने उहाँको भनाइ छ । चियामा पाइने थिफलाबिन तत्वले कोरोना भाइरसको असरलाई समेत रोक्न सहयोग पुग्ने चिया अनुसन्धान सङ्घले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here