कोरोनाको दोस्रो लहरले निम्त्याउन सक्ने खतरा

१६ बैशाख २०७८, बिहीबार मा प्रकाशित
को रोना भाइरसको संक्रमण देशव्यापीरुपमा पुनः बढ्न थालेसँगै अस्पतालहरुमा बेड, अक्सिजनको अभावका कारण समयमा उपचार नपाई मृत्युवरण गर्न बाध्यात्मक स्थिति पैदा भएको हुँदा बल्ल सरकारले काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । साथै, भारतीय नाकाहरुबाट अनुमतिबिना प्रवेशमा बन्देज लगाएको छ ।

अनुमतिमा भित्रिएकाले पनि होम आइसोलेसन र क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कोरोनाको दोस्रो लहर शुरु भएपश्चात लगभग एक हप्तामै संक्रमितको संख्या चार गुणाले बढ्न थालेको र छिमेकी मुलुक भारतमा त झन् १५ दिनअघि ३०–४० हजार संक्रमित देखिँदै आएकोमा हाल दैनिक तीन लाख ५० हजार नाघ्न थालेको छ । यसपालीको भाइरसमा युके तथा भारतीय डबल म्युटेन्ट (बंगाल भेरियन्ट) समेत भएकोले यो अघिल्लो भाइरसभन्दा ज्यादै खतरनाक देखिएको छ । नयाँ भेरियन्टको भाइरसले बालबालिका समेत प्रभावित भइरहेको बेला हाम्रो देशमा औषधि, अक्सिजन, शय्याको अभावका कारण यसपटकको दोस्रो लहरले क्षति झन् विगतको भन्दा बढी हुने विज्ञहरुको भनाइ छ । खुला सिमाना भएकै कारण नाकामा कडाइ गरिए पनि अन्य चोर बाटो हुँदै नेपाल भित्रिने क्रम रोकिएको छैन ।


हवाई मार्गबाट समेत निर्वाधरुपमा विदेशबाट यात्रुहरु आएको हुँदा जोखिम झनै बढेको छ । बेलैमा हवाई र स्थल सीमा–नाकामा कडाइ गर्न नसकिएको र यसको रोकथामका लागि हाम्रो देशमा कुनै पनि पूर्व तयारी नदेखिएको हुँदा स्थिति यसपटक स्थिति अत्यन्तै भयावह हुने लगभग पक्का छ । भारतमा अक्सिजन लगायत रेम्डेसिभिर औषधि, भेन्टिलेटरको अभावले उपचार नपाएर अस्पताल बाहिरै छटपटाएर ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ । एउटै शय्यामा दुई–तीन जना संक्रमित राखेर उपचार गर्नुपर्ने स्थिति आइसकेकोले बेलैमा कोभिड अस्पताल तथा बेडहरुको संख्या बढाउनुपर्ने देखिन्छ ।

भारतमा हेर्ने हो भने संक्रमणबाट मृत्युवरण गरेका शवहरुको व्यवस्थापनमा समेत अत्यन्तै चुनौति थपिएको देखिन्छ । गत वर्ष इटलीको अवस्थाभन्दा यसपटक भारतमा विकराल अवस्था देखिएको छ ।
सरकारले सभा समारोह, विवाह, मलामी लगायतमा २५ जनाभन्दा बढी भेला नहुन भनेर उर्दी जारी गरे पनि स्वयम् विभिन्न उद्घाटन समारोहमा हजारौंको भीडका बीच सरकार प्रमुखकै उपस्थितिले प्रश्न जन्माएको छ । भारतमा अक्सिजन अभावका कारण नेपालका सीमावर्ती क्षेत्रबाट समेत अक्सिजनका सिलिन्डर चोरी निकासी भई नेपालमा समेत अभाव देखिन थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अक्सिजन अभाव हुनासाथ हवाई मार्ग तथा रेलमार्गबाट देशभरि अक्सिजनको आपूर्ति गर्नुका साथै एक साताभित्रै विदेशबाट अक्सिजनका नयाँ प्लान्टहरु भित्र्याउन पहल गरे पनि हाम्रो देशमा यस्तो कुनै योजना देखिएको पाइँदैन । साथै, रेम्डिसिभिर औषधि समेत नेपालबाट भारततर्फ गइरहेको हुँदा यहाँ औषधिको समेत चरम अभाव झेल्नुपर्ने देखिन्छ । युके भेरियन्ट नेपालसहित १२९ देशमा फैलिएको छ ।

पहिलो प्रजातिभन्दा नयाँ डबल म्युटेन्ट भेरियन्ट ४३ देखि ९० प्रतिशतले छिटो फैलने काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक अर्चना श्रेष्ठले बताउनुभएको छ ।

भारत झैं नेपालमा पनि एकदमै द्रूतगतिमा संक्रमण बढ्दै गइरहेको अवस्थामा नेपालमा यसको रोकथामका लागि पूर्व तयारी अपर्यात रहेको देखिन्छ । अस्पतालहरुमा भेन्टिलेटर र शय्या बढाउनतर्फ ध्यान दिनुको साटो सरकारको ध्यान भ्यू–टावर शिलान्यास तथा धरहरा उद्घाटनतर्फ बढी देखिन्छ । सरकारले एकै दिन सयौं अस्पतालको शिलान्यास गरेर वाहवाही लुटेको थियो । ती शिलान्यास गरिएका अस्पताल यथाशीघ्र उद्घाटन भएर सर्वसाधारणले उपचार पाउँदा यसले केही राहत पुग्ने थियो । अहिले पनि सरकारले निजी क्षेत्र, सामाजिक संघ– संस्थाहरुसँग मिलेर मेडिकल इमरजेन्सी घोषणा गरी नाकाहरुमा थप कडाइ गरी एकजुट भएर महामारीको सामना गर्न ढिला गरेमा नेपालमा समेत शवहरुको दाहसंस्कार र शव व्यवस्थापनका लागि चिहानको स्थान अभाव हुने लगभग निश्चित छ ।

हामी नै नरहे भ्यू–टावर कसका लागि ? लकडाउनले आजित भएको देशको अर्थतन्त्र केही सल्बलाउन थालेको बेला पुनः लकडाउन थेग्ने स्थितिमा देशबासी छैनन् । तर, बेलैमा रोकथामका उपायहरु नअपनाएमा देशभरि नै लकडाउन गर्नुको विकल्प देखिँदैन । सर्वसाधारणले पनि लकडाउन खुलेपश्चात अत्यन्तै लापरवाही साथ सभा सम्मेलनमा भीडभाड गर्ने, मास्क नलगाउने, सामाजिक दूरी कायम नराख्ने गरेका कारण अनाहकमै ज्यान गुमाउने अवस्था चाँडै नआउला भन्न सकिँदैन । चेतना भया ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here