डा.भगवान कोइराला
भाइरस सर्दै जाँदा स्वरुप फेर्दै जान्छ र म्युटेशन पनि हुँदै जाने सर्वव्यापी मान्यता छ । अहिलेको लहरमा आएको भाइरस म्युटेसन र भेरियान्ससहित आएको भनिएको छ ।
यसको प्रकृति फरक छ, सर्ने क्षमता पनि बढेको छ र संक्रमण कडा बनाउने चरित्र पनि रहेको बताइएको छ । यो लहर आउनुमा सरकार वा नागरिकको दोष होइन, किनभने यो भाइरसको चरित्र हो। तर, यसलाई फैलाउनुमा हामी दोषी छौं ।
विगतको लहरमा हाम्रो देश अलि तातेको हो । चाँडै लकडाउन ग¥यो । त्यसका पीडा पनि नागरिकले भोगे । तर, अघिल्लो वर्ष ठीकै नियन्त्रण गरेको मान्नुपर्छ । सवै समस्याका बाबजुद प
नि तीन हजार कमको क्षतिमा उम्कियौं । त्यो पनि दुखद् हो तर तुलनात्मक रुपमा कम क्षति बेहोरियो भन्न सकिन्छ ।
हाम्रोजस्ता स्रोतसाधनको कमी भएका, उपचार क्षमता कम भएको, क्वारेन्टिनको सुविधा प्रशस्त नभएको ठाउँमा र शिक्षाको स्तर राम्रो नभएको देशका लागि त्यो तथ्यांक सन्तोषजनक नै हो ।
१. स्रोतको सदुपयोग भएन
यसपटकको लहर पहिलेका भन्दा खराब छ ।
अघिल्लो वर्षको अनुभवबाट जुन तयारी देशले गरेको थियो, त्यहाँ चाहिँ चुक्यौं । होस् गरिएन । खुल्नेबित्तिकै आफ्नै तरिकाले हिँड्यौं । आफ्नै तरिकारले खान पाइयो, बस्न पाइयो भनेर त्यतैतिर लाग्यौं । कहीँ न कहीँ देशको नेतृत्व पनि समस्यामा अल्झियो । संघको मात्रै होइन, प्रदेश र स्थानीय सरकारले पनि जुन कुराका लागि स्रोत प्राप्त गरेका थिए, त्यसको पूर्ण सदुपयोग गर्नेमा दत्तचित्त भएर लागेको देखिएन । हामीले गम्भीर भएर ती स्रोतसाधनको सदुपयोग गर्नुपथ्र्यो । त्यसो गरेको भए पोहोर शुरु गरेका संरचना यसपल्टको लहरका लागि काम लाग्थे। त्यसो भएन । हामी ढिला भयौं । उदाहरणका लागि संक्रामक रोग अस्पताल सवै प्रदेशमा बनाउने भनिएकै थियो । क्वारिन्टन बनाउन बजेट छुट्याएकै थियो । आइसीयु बनाउने कुरा पनि प्राथमिकतामा परेकै हो । एचडियु बनाउने कुरा पनि भएकै हो । त्यसका लागि बजेट पनि दिएकै हो । केही मात्रा थपियो पनि तर जति मात्रामा थप्ने कुरा थियो, त्यति थपिएन। हामीले योजना बनाए अनुरुप काम भएको भए यो लहरमा धेरै चिन्तित हुनुपर्दैनथ्यो । आइसियु, एचडियु, अस्पताल केही महिनामै तयार नहोलान्। तर, त्यतातिर लागिहाल्नुपर्छ । पोहोर बनाएको भए यसपल्ट काम लाग्थे। यसपल्ट बनाउँ, अर्कोपल्ट काम लाग्छन् । आज कोरोना छ, भोलिपर्सी फेरि अर्को केही आउला। हामीले गल्ती दोहो¥याउनुहुन्न । संरचना बनाइराखेमा स्वास्थ्य सेवा सुदृढ गर्न भएपनि काम लाग्छन् ।
२. समस्यालाई व्यक्तिगत रुपमा लियौं
हामी नागरिकले स्वास्थ्यका सर्वमान्य मापदण्डहरु पालना गरेनौं । मेरै जिन्दगी त हो भनेर रोगलाई व्यक्तिगत भन्ठान्यौं । तर, महामारीका बेलामा यस्ता रोगहरु व्यक्तिगत नरहने रहेछन् ।
यी त सामाजिक समस्या हुन् । मैले मास्क लगाउँदा मलाई होइन, अरुलाई क्षति हुन्छ । अरुले नलगाउँदा मलाई क्षति हुन्छ । अन्तरआश्रित रोग हो यो । यो महशुस गर्न समुदाय चुक्यो । अझै पनि हामी होसमा आयौं, संयमित भयौं, अनुशासित भइयो र एक डेढमहिना सहन सकियो भने क्षति कम हुन सक्छ । कोरोनाको यो दोस्रो लहर खतरनाक छ, यो सत्य हो। तपाईं हाम्रै परिवारको कसैलाई आक्रान्त पार्न सक्छ, कसैको ज्यान जान सक्छ । कोरोना आफैंले नखोजीकन उडेर घरभित्र आएर आक्रान्त पार्दैन । त्यसैले सचेत हुनपर्छ,। पछि पछुताउनुको कुनै अर्थ छैन । आज सजिलै बच्न सकिने रोगबाट तपाईं हाम्रै परिवारको कोही मर्न भनेको हाम्रै भुल मात्र नभनौं ।
३. भ्याक्सिनमा थप पहल हुनसक्थ्यो
भ्याक्सिनको कुरा जुन छ, त्यो हाम्रो देशको हातमा छैन । सरकारले पहल गरिरहेकै छ । त्यसका लागि रोइकराइ गर्ने हो हामीले, गरिएकै छ । इच्छुक सवै स्वास्थ्यकर्मीले दुई डोज पाइसकेका छन् । यस हिसाबले राम्रै गरेको मान्नुपर्छ । त्यसमा फेरि पनि विवाद गर्न सकिन्छ । राम्रो पहल गरेको भए यो भन्दा धेरै ल्याउन सकिन्थ्यो होला ।
४. राजनीतिक वखेडामा अल्झियौं
राजनीतिज्ञमाथि कुरा नकाटौं भन्ने लागेको थियो । यस्तो महामारीका बेलामा वखेडा जहाँबाट शुरु भए पनि त्यसलाई त्यही तहमा रहेर डिल गर्न सकिन्थ्यो । राजनीतिक बखेडाबाजीलाई यसरी उछालेर अरु तपसिलमा राख्नुपर्ने समय थिएन । सवैका आ–आफ्ना रिसिइबी होलान्, असमझदारी होलान् । ती केही समय थाँती राखेर सवै एक ठाउँमा आउनुपर्छ । सत्तापक्ष, प्रतिपक्ष, समाज, जनता, ब्युरोक्रेसी एक ठाउँमा बसेर कोभिड विरुद्ध लाग्नुपर्नेमा विखण्डित भएकै हो ।
यसमा दुःख लागेको छ । यसले हामीले दुःख दिएको छ । मेरो आग्रह छ, राजनीतिज्ञज्यूहरु आफ्ना कुरा अलिअलि मिलाउनुहोस् तर ध्यान यतै केन्द्रीत गर्नुहोस् । हाम्रो ब्युरोक्रेसी, प्रदेश सरकार र स्थानीय सरकार पनि यतैतिर लाग्यो भने क्षति हामीले नै व्यहोर्ने हो । कोरोनका कारण ज्यान गुमाउने आंकडामा हाम्रै कोही पर्ने हो। राजनीतिक घटना रोक्न सकिने घटना हुन् । ती रोक्न सकिएन भने व्यर्थ हुनेछन् ।
५. ननकोभिडका लागि उचित बन्दोबस्त भएन
ननकोभिड बिरामीको पनि उत्तिकै चाप छ । उत्तिकै सिकिस्त हुन्छन् । हामीले अघिल्लो समय राम्रोसँग सन्देश प्रवाह गर्न जानेनौं । क्राइसिस म्यानेजमेन्टको अर्को पाटो क्राइसिस कम्युनिकेशन पनि हो । सन्देश ठिकसँग प्रेसित गर्न सकिएन । घरमै बस्नुहोस् भन्दा हटअट्याकका बिरामी पनि घरमै बसे । कतिको ज्यान गयो ।
त्यो यहाँ मात्रै होइन, विश्वका अन्य देशमा पनि यस्तै भयो । हामीले विस्तारमा बुझाएर भन्न जान्नुपर्छ । सिकिस्त बिरामी अस्पताल आउनैप¥यो । आकस्मिक सेवा चल्नैप¥यो, समयमा उपचार हुनैप¥यो । खोप कार्यक्रम चल्नैप¥यो । एक दुईमहिना सार्न मिल्नेलाई थाँती राखेर जरुरीलाई निर्वाध चल्ने व्यवस्था गर्नुपर्छ । पोहर ननकोभिडका बिरामीले दुःख पाए।
यसपालि त्यस्तो गर्ने होइन । आज तत्काल गर्नुपर्ने व्यवस्थापन पनि यही हो । मन्त्रालयको पहलमा अस्पताहरुको सक्रियतामा हामीले धेरै बेडलाई अत्यावश्यक सेवा बाहेक कोभिडको प्रयोजनका लागि बनाउनुपर्छ । नत्र हाम्रो स्वास्थ्य प्रणालीले धान्दैन । अहिले नै कोरोनाका लागि छुट्याइएका बेड भरिसके । थप बढ्दै जाँदा समस्या बढ्ने कुरा स्वभाविक हुन्छ । (स्वास्थ्यखबर)