श्रमिकलाई आत्मनिर्भर बनाउन वीरता लेडीद्वारा श्रम सामग्री प्रदान

१८ बैशाख २०७८, शनिबार मा प्रकाशित

कनकाई । मजदुरहरुलाई श्रम गरी आत्मनिर्भर बन्नका लागि वीरता लेडी जेसीजले गरेको कार्यको एक कार्यक्रमका सहभागीले प्रशंसा गरेका छन् ।
१३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी बिर्तामोडस्थित वीरता लेडी जेसीजले झापाको कनकाई–१ विरीङ खोलामा गिटी चालेर परिवारको जीवनयापन गर्दै आएका १५ परिवारलाई श्रमगर्दा आवश्यक पर्ने सामग्री प्रदान गरेकोमा सहभागीले प्रशंसा गरेका हुन् । शनिवार उक्त दिवसका दिन वीरता लेडी जेसीजले १५ परिवारलाई गिटी चाल्दा प्रयोग हुने तारजाली, वेल्चा, काँटी, श्रमगर्दा लगाउने पञ्जा, मास्क, वितरण गरेको थियो ।


संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता, पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको विशेष आतिथ्य र पूर्वअध्यक्ष राधा सुब्बाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमले आफ्नो जीविकोपार्जनमा प्रेरणा र सहयोग प्राप्त भएको स्थानीय रोमा मगरले बताइन् । उनीसहित सामग्री पाउने १५ परिवार दैनिक गिटी चालेर आएको आम्दानीबाट परिवारका लागि दुई छाक र बालबालिका लागि शिक्षा लगायतका कार्य धान्दै आएका छन् । छाक टार्नको लागि माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउनुले सम्बन्धित व्यक्ति र परिवारको जीवन धान्न सहज हुने कुरालाई आत्मसाथ गरी जेसीजले मजदुर परिवारलाई सहयोग गरेको अध्यक्ष आचार्यले बताइन् ।
प्रमुख अतिथि सुब्बाले कसैको लागि केही छाक टार्न खानेकुरा दिनुभन्दा खानकुरा जुटाउन र परिवार कसरी धान्न सकिन्छ भनेर जुक्तिसहित त्यस कार्य सफल पार्न आवश्यक सहयोग गर्नु राम्रो हुने र त्यही कार्यका लागि लेडी जेसीजले सहयोग गरेको बताइन् । महासचिव हिमा पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्थानीय अगुवा तथा पूर्वजनप्रतिनिधि मानबहादुर गिरी लगायतको आतिथ्य थियो । त्यसक्रममा संस्थाकी कानूनी सल्लाहकार संगीता चिमरिया, कार्यकारिणी उपाध्यक्ष युनिता दवाडी लगायतले सामग्री वितरणमा सहजीकरण गरेका थिए । सहभागीहरुले लेडी जेसीजको कार्य उदाहरणीय भएको भन्दै धन्यवाद समेत दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here