समाधिस्थलमा सामूहिक क्षमापूजा

0
608

झापा,
मेचीनगर नगरपालिकाले डोजर लगाएर भत्काएको काँकरभिट्टास्थित किराँत समाधिस्थलमा आज बिहान सामूहिक क्षमा पूजा गरिएको छ ।

विभिन्न जातजातिका समाधिस्थल भत्काइएपछि आ–आफ्ना धर्म गुरुमार्फत पितृहरुको आत्माको चिरशान्तिका लागि सामूहिक क्षमा पूजा गरिएको हो । सो स्थानमा लिम्बू, राई, तामाङ, क्षेत्रीलगायत विभिन्न जातजातिका समाधि रहेका थिए ।

नगरपालिकाले सशस्त्र प्रहरीको आउट बोर्डर पोष्ट ९बिओपी० स्थापनाका लागि पाँच दिनअघि आदिवासी जनजातिहरुको सहमति विनै २०० समाधि रहेको स्थानमा डोजर लगाएर भत्काएको थियो । समाधिस्थल भत्काएपछि किराँत समुदाय आक्रोशित बनेको छ ।

आदिवासी जनजाति समन्वय परिषद् मेचीनगरका अध्यक्ष ओमप्रसाद खापुङको संयोजकत्वमा उनीहरुले २१ सदस्यीय सङ्घर्ष समिति नै गठन गरेका छन् । समितिमा नगरभित्र रहेका विभिन्न जातीय समुदायको अध्यक्षहरु र पीडित परिवारका तर्फबाट छजनालाई सदस्यमा राखिएको संयोजक खापुङले बताउनुभयो । उहाँले सो स्थानमा किरात समुदायले आजै बाँसको घेराबार लगाइएको बताउनुभयो । “पीडित परिवारको माग समाधिस्थल पुनःस्थापना हुनुपर्छ भन्नेछ”, उहाँले भन्नुभयो, “नगरप्रमुख विमल आचार्यलाई हाम्रा माग राखेर ज्ञापनपत्र बुझाएका छौँ । उहाँले दुःख व्यक्त गरेर विज्ञप्ति त निकाल्नुभयो तर मागको सम्बोधन भएको छैन ।”

उहाँले नगरपालिकाले धार्मिक आस्थमाथि नै डोजर चलाएको आरोप लगाउँदै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here