३५ करोडको लगानीमा राइस मिल संचालन गर्दै

0
890

विनोद सापकोटा

झापा,

झापामा राइस मिल धरमराउँदै चलिरहेका बेला शिवसताक्षीका एक जना व्यवसायीले ३५ करोडको लगानीमा राइस मिल संचालन गर्ने भएका छन् । उनले निकट भविष्यमै संचालन गर्ने उद्योगको नाम देवेन्द्र एग्रो प्रालि दिएका छन् ।
नगरको वडा नम्बर ८ झिलझिलेका देवेन्द्र कार्कीले ७ नम्बर वडाको दुधे— शिवगञ्ज सडकले छोएको २१ कठ्ठा जग्गामा धान मिल संचालन गर्न लागेका हुन् । यो उद्योगको बैसाख १६ गते बुवा बलबहादुर र आमा टंकमायाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।


झापामा ०४६ सालको जनआन्दोलन अघिसम्म २६ वटा ठूला राइस मिल संचालनमा थिए । सयौंको संख्यामा साना राइस मिल पनि सञ्चालनमा थिए । सुरक्षाको कारण देखाउदै कतिपय मिलहरु बन्द हुँदै गए भने कतिपय लगानी कर्ताले व्यवसायनै परिवर्तन गरे । अहिले उक्त संख्या घटेर पाँच वटामा सीमित भएको छ ।
हाल भद्रपुरमा २ वटा गणेश एग्रो र भद्रपुर एग्रो संचालनमा छन् । यस्तै दुहागढीमा मित्तल एग्रो, मेचीनगरमा सूर्य एग्रो र गौरादहमा नुतन एग्रो सञ्चालनमा छन् । कार्कीले भने, ‘मुलुकमा आएको राजनीतिक परिवर्तनले नयाँ उद्योग संचालन गर्नु अबको आवस्यक्ता हो ।’ सरकारले उद्योगीको लगानी र उद्योगको सुरक्षा गरे अझ धेरै उद्योगहरु स्थापना हुने उनले बताएका छन् ।

उनले स्थापना गर्ने राइस मिल ०७९ को बैसाख देखी संचालन आउने छ । एक घन्टामा ४ टन स्टिम चामल उनको उद्योगबाट उत्पादन हुनेछ । चामल, व्राण्ड, खुदी, र भुष उनको उद्योगबाट उत्पादन हुने छ । जस्का कारण गाँउमा पशु पंक्षीपालन पनि फस्टाउँछ । उनले भने, ‘शिवसताक्षीको आधा भागमा दुई फसल सम्म धान उत्पादन हुन्छ । किसानले उत्पादन गरेको धान बजार मुल्यमा खरिद गरेर चामल उत्पादन हुने छ ।’ कनकाई नहको सिंचीत क्षेत्रका धान खरिद गर्ने उनले लक्ष्य लिएका छन् ।

उनले उद्योगमा ‘ड्रायर’ मेसिन पनि राख्ने छन् । उक्त मेसिनले १ घन्टामा ८ टन चिसो धानलाई सुकाउँछ । साविकका शिवगञ्ज, पाँचगाछी, गौरिगञ्ज, तोपगाछी लगायतका ठाँउबाट किसानले लगाएको बर्खेधान बोट बोटै किनेर मिलमा ल्याएर प्रशोधन गरिने उनले जानकारी दिए । उनका अनुसार एक दिनमा ड्रायर मेसिनले १२८ टन चिसो धान सुकाएर चामल बनाउन योग्य बनाउछ । शिवसताक्षी नगरमा ड्रायर मेसिन राखिएपछि किसान पनि खुसी हुने भएका छन् । यस अघि पानीले भिजेका कारण कयौ किसानको धान खेत खेतमै कुहिने गरेको थियो ।
उद्योगबाट उत्पादन हुने चामल स्थानीय स्तरमा खपत हुन नसके मुलुकका ठुला ठुला सहरमा लगेर बिक्री गर्ने उनले बताए । ‘स्थानीय उत्पादनले उद्योगको माग नथेगे मुलुक भित्रकै अन्य ठाँउबाट धान खरिद गरेर ल्याइने छ,’ उनले भने ।
धानको उचित मुल्य नपाएका कतिपय किसानले यस अघि खेतियोग्य जमिनमा अरु नै व्यवसाय गर्न थालेका थिए । गाँउमै ड्रायर मेसिन सहितको ठुलो धान मिल संचालन हुने भएपछि पुरानै पेशामा फर्कने किसानले बताएका छन् । शिवसताक्षी नगरमा श्रम र लगानी अनुसारको धानको मुल्य नपाउँदा केही किसानले खेति योग्य जमिनलाई मत्स्य पोखरी बनाएर व्यवसाय सुरु गरेका छन् । धानखेती छोडेर केरा, उखु लगायतका बाली शिवसताक्षीमा किसानले लगाउन थालेका थिए । स्थानीय धनप्रसाद न्यौपाने भन्छन, ‘ हिउँदे र बर्खे धानले उचित मुल्य पायो भने धानखेती छाडेका किसानले पुन त्यसैलाई प्राथमिकतामा राखेर धान खेती गर्न सुरु गर्ने छन् ।’
शिवसताक्षीमा यो उद्योग संचालनमा आएपछि यहाँका सयौ युवा युवतीले रोगगार पाउने छन् ।

स्वदेशी चामल उद्योगको संरक्षणका लागि भारतबाट आयातित धान र चामलमा करको दर बढाउनु पर्ने कार्कीले सरकारलाई सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here