झापा, सर्वसाधारण जनताले स्वास्थ्य मापदण्डसँगै निषेधाज्ञाको पालना नगरी दिँदा झापा जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।
भारतको पश्चिम बङ्गाल र विहारसँग जोडिएको १४४ दशमलव २ किलोमिटर खुला सीमा रहेको झापामा दिनप्रतिदिन नयाँ भेरियन्टका सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि जोखिम बढ्दै गएको हो । जिल्लामा सोमबार मात्रै ५९ महिला र ९० पुरुष गरी १४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाँईले जानकारी दिए ।

आइतबार ३८, शनिवार ७२, शुक्रवार ५६, बिहीबार ५०, बुधवार ५०, मङ्गलवार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एक साताको तुलनामा जिल्लामा पहिलोपटक यति धेरै संक्रमित थपिएको उनले बताए । सोमवार जिल्लाको दमकमा २७, बिर्तामोड ३७, गौरादह १२, मेचीनगर १४, भद्रपुर २३, कनकाई १०, हल्दिवारी २, अर्जुनधारा ११, बुद्धशान्ति २, गौरीगञ्ज १, कमल ६, शिवसताक्षी २, बाह्रदशी २ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाँईले जानकारी दिए । उनका अनुसार जिल्लामा थप एक जना सङ्क्रमितको सोमवार मृत्यु भएको छ । दमक नगरपालिका–५का ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
यो सँगै जिल्लामा ५८० सक्रिय संक्रिमतको सङ्ख्या पुगेको छ । मृतकको सङ्ख्या १३५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले ५ सय सङ्क्रमितको सङ्ख्या नाघेसँगै स्थानीय प्रशासनलाई लकडाउन गर्न आदेश दिइसकेको छ । तर, जिल्लामा आइतबार मध्यराति १२ बजेदेखि निषेधाज्ञा लाग्दा सङ्क्रमितको सङ्ख्या ४४८ पुगेको थियो । ‘एक साताका लागि जिल्लामा निषेधाज्ञा लगाएका छौँ’– झापा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने– ‘जनताको लागि लगाइएको निषेधाज्ञा जनताले नै पालना नगरिदिँदा जोखिम बढेको छ ।’ निषेधाज्ञामा निजी तथा सार्वजनिक यातायातका सवारी साधनका लागि जोर बिजोर प्रणाली लागू गरेका छौँ, तर त्यसको पालना जनताले नगरेको बुझियो, अब सङ्क्रमितको सङ्ख्या यसरी नै बढ्दै जाने हो भने यस अघि गरिएको निर्णयलाई सच्याउँदै सवारीसाधन पूर्ण रुपमा बन्देज लगाउँछौँ– प्रजिअ तिमिल्सिनाले भने ।
होटेल तथा रेस्टुरेन्ट बेलुका ८ बजेसम्म खुल्ला राख्ने निर्णय पनि सर्वसाधारणले पनि नबुझेको बताउँदै उनले भने– ‘पूर्व पश्चिम राजमार्गमा चल्ने यातायातमा सवार यात्रुलाई मध्यनजर गरी त्यसलाई खुला गरेका हौँ ।’ ‘बिहान र बेलुका रक्सी पिउनलाई होटेल र रेस्टुरेन्ट खुला राखेका होइनौँ, जनताले यसलाई गलत बुझे’– उनले भने– ‘संक्रमणको बढ्दो अवस्था देख्नासाथ त्यस निर्णयलाई पनि सच्याउने छौँ ।’
जनताले सरकार र स्थानीय प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग पु¥याउन उनले झापावासीसँग अनुरोध पनि गरेका छन् । निषेधाज्ञामा उल्लंघन गर्ने ५३६ सवारीसाधन नियन्त्रणमा जिल्लामा पहिलो दिन नै निषेधाज्ञाको उल्लङ्घन गर्ने ५३६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक निषेश चापागाँईले बताए ।
उनका अनुसार दुई पाङ्ग्रे ४७४ र चारपाङ्ग्रे ६२ वटा सवारीसाधन नियन्त्रण लिएको हो । बिर्तामोड, भद्रपुर, चन्द्रगढी, मेचीनगर, धुलाबारी, बुधबारे, शनिश्चरे, सुरुङ्गा, दमक, चारआली, गौरीगञ्ज, गौरादहबाट सो सवारीसाधन नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चापागाईँले बताए । जोर बिजोर प्रणाली अनुसार आज जोर नम्बरका सवारीसाधन चलाउनुपर्नेमा त्यसको उल्लङ्घन गर्ने बिजोर नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएको उनको भनाइ छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई सम्बन्धित धनीलाई चेतावनी दिँदै बुझाउने कार्य भइरहेको उनले बताए । बजार पसल बन्द, सरकारी कार्यालय सुनसान जिल्लामा सञ्चालित औषधि, होटेल, रेष्टुरेन्टबाहेक अन्य पसल बिहान ६ बजेबाट ११ बजेसम्म मात्र खुलेका थिए ।
११ बजेपछि झापा प्रहरी बजार तथा पसल बन्द गराउँदै हिँडेका थिए । जिल्लामा निषेधाज्ञा जारी भएपछि सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही न्यून देखिएका थिए । जसले गर्दा झापाको सदरमुकाम भद्रपुर सुनसान जस्तै थियो । सरकारी कार्यालयमा अत्यावश्यक कामबाहेकका अन्य सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए । कार्यालयले सेवा बन्द गरेपछि सदरमुकाममा सेवाग्राहीको चहलपहल घटेको हो– उनले भने ।





























