तरकारी खेतीबाट लाखौं आम्दानी

२१ बैशाख २०७८, मंगलवार मा प्रकाशित
  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

युद्धबहादुर बोहोरा
पाँचथर, जिल्लाको फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका अगुवा युवाकृषक टीका नेम्वाङले तरकारी खेतीबाट बर्षेनि लाखौं रुपैया आम्दानी गरिरहेका छन् ।
नेपालमा बेरोजगार भएर हजारौं युवाहरू दिनहुँ विदेश पलायन भइरहेको अवस्थामा नेम्वाङले भने स्वदेशमै परिश्रम गरेर लाखौं रुपैयाँ कमाइ गर्दै गाउँका एक उदाहरणीय कृषकका रूपमा चिनिएका छन् । केही वर्ष पहिले खाडी मुलुक पुुुुगेका ३५ वर्षीय नेम्बाङ राम्रो कमाई नभएपछि चार वर्षपछि घर फर्किएर आफ्नै जमिनमा तरकारी खेती शुरू गर्न थालेका हुन् ।
बालुवाको मरुभूमि साउदी अरबमा समेत राम्रो सब्जी फलेको देखिपछि उनले आफ्नो देशमा त्योभन्दा उत्तम सब्जी फलाउन सकिन्छ भन्ने सोचाइ गरेर नेपाल फर्किएपछि पाँच रोपनी जमिनमा व्यवसायिक तरकारी खेतीमा प्रवेश गरेका थिए ।
शुरुमा आठ हजार रुपैयाँ लगानी गरेर सानो खेती लगाए । त्यसपछि दुई लाख रुपैयाँबाट १० वटा टनेल बनाएर टमाटर, करेला र अकबरे खुर्सानी रोपे । अकबरे खुर्सानी र त्यसको बेर्ना समेत उत्पादन गरी बिक्री गर्दै उनले खेती बढाए ।
काँक्रो, टमाटर, खोर्सानी, करेला जस्ता वेमौसमी सब्जी खेती गर्न ग्रीन हाउस र टनेल निमार्ण गर्दै उत्पादन वृद्धि गरेसँगै केही जमीनमा अलैंची खेती समेत लगाएर विदेशको भन्दा राम्रो नेपालमै आयस्रोत जुटाउन थाले । गत असोजमा बेर्ना राखेर उनले कात्तिकमा रोपेको टमाटरबाट अहिले धमाधम उत्पादन शुरु भएको छ । हाल ५० रुपैयाँप्रति किलोग्रामका दरले बजारमा बिक्री गर्दै गरेको उनले बताए । पाकेको समयमा टमाटर टिप्दा प्रतिबोटमा राम्रो फललाग्दा ३० किलोग्रामसम्म उत्पादन हुने र रोपेको एक वर्षभन्दा बढी समयसम्म टमाटर फल्ने गरेको छ ।
हाल उनले याङ्फुङ्ग कृषि तथा एग्रो फर्म दर्ता गरी करिब ४० रोपनी जमिनमा सब्जी खेती गर्दै आएका छन् । अहिले १२ लाख रुपैयाँ बराबरको लगानीमा सञ्चालित उनको फर्मलाई कृषि ज्ञान केन्द्र पाँचथरबाट युवा लक्षित स्वरोजगार कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ र फाल्गुनन्द गाउँपालिकाबाट साना सिञ्चाइ योजनाको कार्यक्रमबाट एक लाख अनुदान उपलब्ध भएको छ । शुद्ध अग्र्यानिक सब्जी उत्पादन गरेको दावी गर्ने नेम्बाङको घरपरिवारले फर्ममा काम गर्ने र केही मौसमी कामदारलाई रोजगार पनि दिइरहेका छन् ।
उनको फर्मबाट उत्पादन गरिएको टमाटर, खुर्सानी, करेला तथा काँक्रा स्थानीय बजार राँके, पुरानो पञ्चमी, देउराली, घुर्बिसे पञ्चमी, सप्तमी लगायतका बजारमा मोटरसाइकमा ढुवानी गरेर बिक्री गरिरहेका छन् । वर्षात्को समयमा कच्ची बाटोमा मोटरसाइकल गुड्न नसक्दा डोकोमा बोकेर पनि उपभोक्ता तथा व्यापारीको घर–घरमा पु¥याउने गरेको छन् । गाउँघरमा बिबाह, भोज तथा विभिन्न दुःख–सुखका कार्जेमा पनि स्थानीयले तरकारी माग गर्दा होम डेलिभरी समेत गर्ने गरेको बताउँछन् ।
यसअघि पाँचथरका धेरै किसानले उत्पादन गरेको टमाटर बिक्री नहुँदा बोटैमा कुहिएको थियो । बिक्री नभएपछि सडकमा फ्याँकेका पनि थिए । त्यसबेला भारत र तराईका क्षेत्रबाट बिषादियुक्त सस्तो टमाटर भित्रिएकोले किसानले मार खेप्नुपरेको थियो भने यतिबेला यस्तो समस्या नभएको साथै आजभोलि स्थानीय उत्पादनलाई उपभोक्ताले प्राथमिकता दिन थालेको उनको भनाइ छ । अहिले अग्र्यानिक तरकारीको माग बढेको र धेरै उपभोक्ता सन्तुष्ट भएको सुन्दा खेती गर्न जाँगर चलेको नेम्वाङले बताए ।
उनी भन्छन्– ‘मैले विदेशमा बसेर समय खेर फालेछु, अहिले पछुतो लागेको छ ।’ परिवारको साथमा बसेर बालबालिकाको पढाईमा सहायता मिलेको छ । दैनिक परिश्रम गर्दा आफू स्वस्थ भएको महशुस गरेको छु । आफैं उत्पादन गरेको सागसब्जी खान पाउँदा हर्षित भएको बताउँदै बजारीकरणको राम्रो व्यवस्था हुने हो भने अझै खेती बढाउने उनको सोचाइ छ । विदेशको नोकरीमा भन्दा आफ्नै बारीमा सब्जी खेती गरेर सन्तुष्ट बनेका नेम्वाङका एक छोरा, तीन छोरी र श्रीमती सहित छ जनाको परिवारको घरखर्च टरेको छ । खेतीबाट आम्दानी गर्दै छोरा र छोरीलाई विद्यालयमा पढ्ने रकम जुुुटाएका छन् । खर्च गरेर बचेको पैसाले आठ लाख बराबराबरको लगभग १२ रोपनी जमीन र एक मोटरसाइकल समेत खरिद गरेको बताए । केही समय पहिले यस फर्मलाई जिल्ला कृषि सहकारी पाँचथरले सञ्चालन गरेको कृषिमेला अन्तर्गत कृषि प्रदर्शनीमा उत्कृष्ट बेर्ना उत्पादन गरेको भन्दै सम्मान गरेको थियो ।
कृषिजन्य उत्पादनमा अब्बल मानिएको जिल्लाकै उत्कृष्ट फाल्गुनन्द–४को चिलिङ्देनमा प्रायः हरेक किसानले अकबरे खुर्सानी, अदुवा, कुचो, लसुन, टमाटर, दूध, सुन्तला, कागती तथा धान र मकै उत्पादन गरेर कृषि पेशाको माध्यमबाट जीविकोपार्जन गरेका छन् । सिञ्चाइको समस्या, किरा लाग्ने, मलखादको व्यवस्थापनमा कठिन हुने, बजारीकरणको उचित प्रबन्ध, कोल्ड स्टोरेजको अभाव जस्ता कठिनाइ भोग्नु परेको किसानहरु बताउँछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here