युट्युबर मिडियाको भाइ कि भाइरस !

२१ बैशाख २०७८, मंगलवार मा प्रकाशित

नवराज कौशिक
पछिल्लो समय नेपालमा मिडिया भन्नेबित्तिकै युट्युब भनेर बुझ्न थालिएको जस्तो देखिएको छ । यस्तो अवस्थामा के साँच्चै नै युट्युबर मिडियाकर्मी नै हुन् वा स्वघोषित रूपमा आफ्नो मिडियाकर्मीका परिचय दिने गरेका हुन् ? प्रचलित कानुनले युट्युबरलाई समेट्न सक्छ वा सक्दैन ? मूलधारका यति धेरै मिडिया हुँदाहुँदै पनि युट्युबर लोकप्रिय हँुदै गएका छन् किन ? यसबारे बहस हुनैपर्ने देखिएको छ ।


स्वघोषित उपाधि
कुनै युट्युबरले आफूलाई पत्रकार वा मिडियाकर्मी भनेर परिचय दिने गरेको देखिन्छ । तर, मिडियाकर्मी वा पत्रकार हुन कुनै पनि नियमनकारी निकाय वा संसद्ले बनाएको कानुनबमोजिम मान्यताप्राप्त भएको पाइँदैन ।
श्रमजीवी पत्रकारसम्बन्धी ऐनले श्रमजीवी पत्रकार भनेर सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन गर्ने, सम्पादन वा सम्प्रेषण गर्ने प्रधानसम्पादक, सम्पादक, संवाददाता, अनुवादक, फोटो पत्रकार, स्ट्रिन्जर, दृश्य वा भाषासम्पादकजस्ता पत्रकारिता पेसासँग सम्बन्धित व्यक्तिलाई बुझ्नुपर्ने अथ्र्याइएको छ ।
तर, अधिकांश युट्युबर एउटा क्यामेरा लिएर भिडियो खिचेको भरमा आफूलाई पत्रकार वा मिडियाकर्मी भनिरहेका छन् । हालैमात्रै सामाजिक सञ्जालतिर एउटा भिडियो भाइरल भयो । भिडियोमा एउटा प्रेस लेखेको ज्याकेट लगाएका एक युवा एक हातमा क्यामेरा लिएर भिडियो खिच्ने अनि अर्को हातले प्रहरीलाई ढुङ्गा प्रहार गरेको पनि देखियो । सार्वजनिक यातायातदेखि बजार र कार्यक्रममा पनि प्रेस लेखेको ज्याकेट भिरेका मानिस छ्यालब्याल देखिन्छन् ।
अलमलमा सरकारी नीति
नेपाल सरकारले अनलाइन टेलिभिजन र युट्युबलाई हालसम्म कुनै नियन्त्रण गरेको देखिँदैन । त्यसैले उनीहरू राष्ट्रिय प्रसारण ऐन र रेडियो सञ्चार ऐन बमोजिम अनुमतिपत्र र लाइसेन्स लिएका टेलिभिजनले झैँ काम गरिरहेका छन् ।
हाल प्रचलित कुनै पनि कानूनले युट्युबरलाई बाँध्न सक्ने अवस्था देखिँदैन । नेपालमा हाल राष्ट्रिय प्रशारण ऐन–२०४९ बमोजिम कार्यक्रम प्रसारणको अनुमतिपत्र लिएका टेलिभिजनको संख्या दुई सय १० भन्दा बढी छ । यसैगरी, एफएम रेडियोको संख्या पनि ११ सयभन्दा बढी छ । सरकारको नीतिअनुसार उनीहरूपूरै नियमनमा बस्नुपर्छ । कर तिर्ने, निश्चित अवधिमा नवीकरण गरिनुपर्ने, निश्चितप्रकारको ढाँचामा कर्मचारी भर्ना गरिनुपर्नेलगायतका अनेक कानुनी दायरा उनीहरूले पालना गर्नुपर्छ । तर, युट्युबरले यी कुनै पनि नियम पालना गरिरहेका छैनन् ।
आचारसंहिताको खडेरी
हाल नेपालमा आफूलाई युट्युबर वा सेलिब्रेटी भन्नेले आफ्नो च्यालनको भ्युज (हेराई) र सब्सक्राइब (खरिद) बढाउन जे पनि भिडियो पस्किने गरिरहेका छन् । यस्ता भिडियोको सेन्सरसमेत हुँदैन ।
कतिपयले त सामान्य नैतिकतासमेत ख्याल नराखी विचार पस्किने, प्रश्न सोध्ने गरेको देखिन्छ । कुनै पनि निकायमा दर्ता नभएपछि कुनै कानुन पनि आकर्षित नहुने नै भयो जसले गर्दा जे पनि गर्न पाउने छुट भएको युट्युबले ठानेको पाइन्छ ।
भिडियो भाइरल बनाउन ‘थम्बेल’मा अनेक पोस्टर राख्ने, सनसनीपूर्ण शीर्षक दिएर प्रचारमुखी बनाउने प्रवृत्ति देखिन्छ । अदालतमा विचाराधीन विषयमा समेत बहस गर्ने विषयलाई उत्तेजित ढङ्गले प्रस्तुत गर्ने गरेको देखिन्छ ।
बलात्कारपीडित युवतीको बयान लिनेदेखि लिएर कलाकारको व्यक्तिगत विषयको बढी चासो राख्ने गरेको देखिन्छ । कतिपयले आफूलाई पत्रकार भन्दै धम्की दिने गरेको अवस्थामा प्रेस काउन्सिल नेपालसमेत आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको विषय भन्दै पन्छिने गरेको अवस्था छ । यो निकै विडम्बनापूर्ण अवस्था हो ।
सकारात्मक पक्ष
नेपालमा प्रचलित कानून बमोजिम दर्ता नभए पनि, आचारसंहिता पालना नगरे पनि अहिले हात–हातमा स्मार्ट फोन र निःशुल्क वाइफाइ पाएको नयाँ पुस्ताले युट्युबरलाई साथ दिएको देखिन्छ ।
एकातिर नेपाली मिडिया पुग्न नसकेको वा राष्ट्रियस्तरको मिडियाले ‘कभरेज’ नगरेको अवस्थामा युट्युबरले यस्ता विषय बाहिर ल्याएका छन् । एकातिर नेपाली मिडिया पुरातन धारभन्दामाथि बाहिर निस्कन नसकिरहेको अवस्था, अर्कोतिर सरकारी मिडिया सरकारको मात्रै मुखपत्र भएको सरकारको मात्रै गुनगान गाएको अवस्थामा नेपालमा युट्युबरलाई सामाजिक जागरण र सचेतनाको क्रान्तिको वाहकका रूपमा नै लिनुपर्ने हुन्छ ।
धेरैलाई एउटा क्यामेरा र प्रश्न सोध्ने सीमित कलाका आधारमा रोजगारी पनि मिलेको छ । मानिस सचेत हुन थालेका छन् । केही गलत काम भएमा युट्युबर आइपुग्छन्, एकैछिनमा भाइरल हुन्छ भनेर । यसले उनीहरू आफ्नो कर्तव्यप्रति सचेत हुन थालेका छन् । यसैगरी, सार्वजनिक निकाय पनि आफ्नो कार्यालयले दिने सेवामा गड्बडी भए युट्युबरको तारो बनिन्छ कि भनेर सचेत हुने गरेको पाइएको छ । यस्ता विषयले मानिसलाई सतर्क बनाउने भएकाले यो युट्युबरले ल्याएको निकै ठूलो सकारात्मक परिवर्तन पनि मान्नुपर्ने हुन्छ ।
नियमनको खा“चो
प्रश्न छ, युट्युबर कानूनभन्दा बाहिरबाटै सञ्चालित भइरहने कि उनीहरूलाई पनि सरकारको नियमनकारी निकायको दायरा ल्याएर सञ्चालनको अनुमति दिने ? पक्कै पनि अहिले नेपालमा प्रशारण संस्थाहरू नै बढी भइरहेको अवस्था देखिन्छ, जसले गर्दा एकातिर मिडियाकर्मीसमेत अवैध धन्दामा लागेकोदेखि विज्ञापन बजार र व्यवसायमा समेत नकारात्मक असर पुगेको देखिन्छ । यसले गर्दा अब युट्युबरलाई कानुनको दायरामा ल्याउन नसके यसले विकराल अवस्था ल्याउन सक्ने देखिन्छ । युट्युबर मिडियाका लागि भाइभन्दा पनि भाइरस साबित हुने जोखिम देखिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here