कार्यान्वयन गर्न सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ – मुख्यमन्त्री पौडेल

२२ बैशाख २०७८, बुधबार मा प्रकाशित

वाग्मती ,
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

मङ्गलबार प्रदेशका सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै पौडेलले अन्तर–मन्त्रालयगत समन्वय कायम गर्दै नीति कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले विगत तीन वर्षको अनुभवका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वस्तुगत यथार्थतामा आधारित भई तर्जुमा गर्न र वर्तमान कोभिडको महामारीले पारेका असरलाई सम्बोधन हुने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्यता हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने भएकाले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियाले दोहोरो नपर्ने र जनजीविकासँग जोडिने कार्यक्रमको तर्जुमा हुनुपर्ने बताउँदै सोहीअनुसार गर्न निर्देशन दिनुभयो । त्यस्तै प्रदेशका प्रमुख सचिव डा मुकुन्दप्रसाद पौड्यालले बजेट, कार्यक्रम र नीतिबीच अन्तरसम्बन्ध हुने भएकाले तीनवटै विषयलाई सबै विषयगत मन्त्रालयहरूले ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्दा कुनै नयाँ नियम, कानून वा निर्देशिका आवश्यक पर्ने भएमा सबै विषयगत मन्त्रालयहरुले सो पहिल्याई अग्रिमरूपमा मस्यौदा तयार पार्दा कार्यान्वयनमा सहज हुने उहाँको भनाइ थियो । कार्यक्रममा प्रदेशका सातवटै मन्त्रालयका सचिवले नीति कार्यक्रमका सम्बन्धमा आ–आफ्नो भनाइ प्रस्तुत गर्नुभएको थियो ।
–––

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here