रवीन्द्रका अनुहारमा समृद्धि झल्कन्थ्यो’

२२ बैशाख २०७८, बुधबार मा प्रकाशित

झापा,
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी विकासका संवाहक साथै एक दूरदर्शी नेताका रुपमा रहेको विभिन्न क्षेत्रका वक्ताले चर्चा गरेका छन् । अधिकारीको ५२ औंँ जन्मजयन्तीका सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रष्ठिानद्वारा आयोजित ‘विकास, समृद्धि, राजनीति र रवीन्द्र अधिकारी’ विषयक भर्चुअल विचार गोष्ठीका वक्ताले अधिकारी विकासको स्पष्ट धारणा बोकेर गन्तव्यमा लम्केको नेताका रुपमा चित्रण गरे ।

अधिकारीका अनन्य मित्र बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले विकासका लागि राजनीतिक चेतना आवश्यक रहेको बताउनुभयो । प्रा डा भरतराज पहारीले विकासलाई आध्यात्मिक चेतनासँग जोड्नुपर्ने बताउनुभयो ।
पोखरा महानगरपालिका, शहरी विकास आयोजनाका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले अधिकारीमा विकासको हुटहुटी निकै रहेको जनाउँदै उहाँ दिगो विकासका बारेमा निरन्तर संवादमा रहने गरेको स्मरण गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले अधिकारीको अनुहारमा समृद्धि झल्कने गरेको बताउँदै आयोगमा उहाँको गतिशीलता र बौद्धिताको चर्चा हुने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा अधिकारीका सहकर्मी एवम् राजनीतिक विश्लेषक झलक सुवेदीले रवीन्द्र अधिकारी स्मृति ग्रन्थमा अधिकारीका जीवनका विभिन्न मोडमा संगत भएका सहकर्मी, सहपाठी, विद्यार्थी आन्दोलनदेखि सिंहदरबारसँग जोडिएका विषय समावेश भएको र नेपाली राजनीतिको ४० वर्षे कालखण्डको एउटा सशक्त दस्तावेज भएको बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य कृष्ण थापाले राजनीतिमा विकासप्रेमी नेता अधिकारीको अभाव खड्केको बताउनुभयो । प्रतिष्ठानका महासचिव धनराज आचार्यले विकासका पर्यायवाची अधिकारीको सिद्धान्तलाई अवलम्बन गरेर विकासका बाटामा अघि बढ्नुपर्ने धारणा राख्नुभयो । प्रतिष्ठानका अध्यक्ष एवं अधिकारीकी जीवनसंगिनी विद्या भटराईले अधिकारीले समृद्ध नेपालका लागि देखेको योजनालाई साकार पार्न आफूहरु प्रतिबद्ध भएको बताउनुभयो ।

गोष्ठीमा देशविदेशबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गरेका व्यक्तिको सहभागिता थियो । यसअघि प्रतिष्ठानका आयोजनामा पोखरा– १८ सराङ्कोटस्थित शहीद तथा राष्ट्रिय विभूति उद्यानमा रहेको अधिकारीका शालिकमा माल्यार्पण गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here