छेत्री र दाहाललाई प्रादेशिक पत्रकारिता पुरस्कार

0
1053

विराटनगर, राष्ट्रिय पत्रकारिता दिवसको पूर्वसन्ध्यामा प्रदेश नं. १को आन्तरिक मामिला तथा कानून मन्त्रालयले झापाका दुई सय प्रदेशका चार अग्रज पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।


झापाका अग्रज पत्रकारहरु गोविन्दचन्द क्षेत्री (भद्रपुर), गञ्जबहादुर दाहाल (दमक) सहित चार जनालाई एक÷एक लाख रुपैयाँ राशिसहितको उक्त पुरस्कार प्रदान गरिने भएको हो । क्षेत्री र दाहालसँगै उदयपुर त्रियुवाका कौशल चेम्जोङ र मोरङ उर्लाबारीकी ललिता भट्टराईलाई पनि उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको मन्त्रालयका शाखा अधिकृत तथा सूचना अधिकारी बिजयकुमार मगरले विहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदेश सरकारले हरेक बर्ष दुई जना अग्रज पत्रकारलाई आर्थिक बर्ष ०७४÷०७५देखि उक्त पुरस्कार प्रदान गर्न शुरु गरेको हो । यसपटक गत बर्ष र चालू बर्षको गरी चार जनालाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाइएको छ । अहिले कोरोना महामारीका कारण निषेधाज्ञा रहेकोले उपयुक्त अवसर पारी निकट भविष्यमा पुरस्कार प्रदान गरिने जनाइएको छ ।

पुरस्कारका लागि लामो समय पत्रकारिता गरी प्रदेशको विकासमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्व छनौट गरी सिफारिस गर्नका लागि प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माको संयोजकत्वमा नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका अध्यक्ष लीलावल्लव घिमिरे र निवर्तमान अध्यक्ष विक्रम लुइँटेल सदस्य रहेको छनौट समिति गठन गरिएको थियो ।
समितिको सिफारिसमा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट अग्रज पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here