डेरामा बस्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र संक्रमितलाई मानवोचित व्यवहार गर्न अपिल

0
795

बिर्तामोड, 
बिर्तामोड लगायतका क्षेत्रमा डेरा लिएर कोरोना महामारी नियन्त्रणमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, हस्पिटलका कर्मचारी तथा सुरक्षाकर्मीलाई केही घरधनीहरुले अपहेलना र अमानवीय व्यवहार गरेको गुनासो बढेको छ । त्यस्तै डेरामा बसेकाहरु संक्रमित भएको अवस्थामा घरधनीबाट अझ बढी प्रताडना खप्नु परेको गुनासो छ ।


विषम् परिस्थितिमा आफ्नो जिम्वेवारीसंगै मानवीय सेवाका लागि बिर्तामोड लगायतका क्षेत्रमा डेरा लिएर अहोरात्र खटिने स्वास्थ्यकर्मी, हस्पिटलका कर्मचारी तथा सुरक्षाकर्मीलाई केही घरधनीहरुले गेटको चावी नखोलिदिने, महामारीको अवधिभरि घरमा नआउनु, बाहिरै बस्नु यदि आउने हो भने डेरा छोडेर जानु भन्ने जस्ता अमानवीय व्यवहार भएको भन्ने गुनासो आएको पीडितलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष आचार्यले बताए ।
उक्त विषयमा सोमबार उपभोक्ता अधिकारवादी, उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको सहभागितामा संवाद समूहले गरेको भर्चुअल छलफलमा ध्यानाकर्षण गराइएको थियो ।
यसैवीच डेरावालले भोग्नु परेको समस्यासहित केही विषयहरु र समस्यालाई बिर्तामोड उद्योग वाणिज्य संघले गम्भीररुपमा लिदैं सम्वन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ । संघको तर्फबाट अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र महासचिव अर्जुनकुमार मैनालीले सोमबार संयुक्त विज्ञप्ति जारी गरी सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।
महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएका सबैलाई हौसला प्रदान गरी मनोबल बढाउनुपर्नेमा त्यसो नभई अपहेलना र अमानवीय व्यवहार कोही कसैबाट हुनु निन्दनीय मात्र छैन, मानवअधिकारका दृष्टिले त्यस्ता कार्य दण्डनीय हुने कुरा संघले सम्झाएको छ ।
सबै घरधनीहरुलाई आफ्ना घरमा डेरा बसेर महामारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका स्वास्थ्यकर्मी, हस्पिटलका कर्मचारी तथा सुरक्षाकर्मी लगायत सबैलाई सहयोग गर्न , मानवोचित व्यवहार गर्न, माया र सद्भाव बाँड्न संघले अपिल गरेको छ । यदि कहीं कतै कसैले अमानवीय व्यवहार भोग्नु परेमा तत्काल नजिकको प्रहरी कार्यालय, स्थानीय सरकार तथा जनप्रतिनिधि र बिर्तामोड उद्योग वाणिज्य संघमा जानकारी गराउनु पनि संघले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
साथै घरमा कोही एक जना संक्रमित भएको अवस्थामा सिंगो परिवारलाई नै अपहेलनाका दृष्टिकोणले हेर्ने र बाहिर अत्यावश्यक काममा हिंड्न समेत परिवारका सदस्यलाई प्रतिबन्ध लगाउने जस्ता कार्य भइरहेको भन्ने समेत सुनिएका उल्लेख गर्दै त्यस्तो कार्य नगर्न पनि संघले सबैमा अनुरोध गरेको छ ।
कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर अहोरात्र खटिएका स्वास्थ्यकर्मी तथा हस्पिटलका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबै क्षेत्रबाट निर्वाह भइरहेको भूमिकाको बिर्तामोड उद्योग वाणिज्स संघले प्रशंसा गरेको छ ।

त्यस्तै उद्योगी व्यवसायीहरुलाई कर बुझाउने समय सीमा परिस्थिति अनुकूल नभएसम्म थप गरिदिन, जरिवाना छुट गरिदिन र अहिलेको परिस्थितिमा ताकेता नगर्न आन्तरिक राजश्व कार्यालय लगायत सरोकारवाला निकायलाई बिर्तामोड उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।

‘ महामारीको यो अवस्था र निषेधाज्ञाका कारणले हामी उद्योगी–व्यवसायीहरु समस्यामा छौं’–विज्ञप्तिमा भनिएको छ –‘यो परिस्थितिमा आर्थिक र मानसिक रुपले सबैभन्दा बढी प्रताडित उद्योगी, व्यवसायीहरु बनेका छन् । यस्तो विषम् परिस्थितिमा आन्तरिक राजश्व कार्यालय लगायतका निकायबाट उद्योगी–व्यवसायीहरुलाई आवधिक कर तथा अग्रिम कर भुक्तानीका लागि ताकेता भइरहेको भन्ने गुनासो आएकाले उक्त विषयमा बिर्तामोड उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
संघले उपभोक्ता अधिकारका क्षेत्रमा समेत आवाज उठाएको छ । महामारीको विषम् परिस्थितिमा उपभोग्य तथा अन्य वस्तु, मेडिकल सामग्री र एम्बुलेन्स लगायतका सेवाको मूल्य बृद्धि भएको तथा मिति गुज्रिएको बस्तु विक्री वितरण गरिरहेको र कृत्रिम अभाव सृजना गरिएको भन्ने विषयमा विभिन्न क्षेत्र र सञ्चारमाध्यमबाट आइरहेका कुराप्रति संघको ध्यानाकर्षण भएको जनाइएको छ । ‘हामी सबै उद्योगी व्यवसायी तथा सेवा प्रदायकहरुमा अनुरोध गर्दछौं कि– बस्तुको कृत्रिम अभाव सृजना गर्ने, अकारण मूल्यबृद्धि गर्ने, मिति गुज्रिएको वस्तुलाई रिलेबलिङ तथा विक्री वितरण गर्ने, एम्बुलेन्सको भाडा, मेडिकल सामग्रीको अभाव सृजना र मूल्यबृद्धि गर्ने जस्ता कार्य नगर्नु÷नगराइदिनुहोला’–विज्ञप्तिमा भनिएको छ –‘यदि त्यस्तो भएको पाइएमा नियमनकारी निकायबाट हुने अनुगमन र कार्वाही भोग्नुपर्ने समेत सम्बन्धित सबैलाई सचेत गराउँदछौं ।’
विश्वव्यापी महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गर्न भन्दै संघले महामारी नियन्त्रणमा सहयोग गर्न बिर्तामोड उद्योग वाणिज्य संघ सबै उद्योगी व्यवसायी तथा आम नागरिकमा अपिल गरेको छ ।
‘कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीले समग्र क्षेत्र प्रभावित भएको छ । संकटको यो घडीमा जीवन बाँच्ने र बचाउने विषय मुख्य चुनौति र जिम्मेवारी सबैका सामु खडा छ’– अध्यक्ष शिवाकोटीले भने–‘यस्तो बेला सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्दै परिस्थितिको सामना गर्नुको विकल्प छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here