१८ वर्षदेखि माथि ६० वर्षमूनिका मानिस बढी संक्रमित

0
974

लक्ष्मी उप्रेती

झापा,  झापा जिल्लामा कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको भाइरस संक्रमितको मृत्युदर पहिलो लहरको संक्रमणभन्दा निक्कै उच्च देखिएको छ । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण्कुमार तिम्सिनाले पहिलो लहरको तुलनामा दोस्रो नयाँ भेरियन्टको भाइरस संक्रमितको मृत्युदर उच्च रहेकाले यो निक्कै खतरा खालको भाइरस भएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी तिम्सिनाका अनुसार कोभिड १९ (कोरोना) को नयाँ भेरियन्ट शुरुभएयता जिल्लामा मृत्युदर दैनिक झै बढिरहेको छ ।

अघिल्लो लहरको भन्दा अहिलेको कोभिड १९ को भाइरसबाट मृत्युहुनेको दर तेब्बर देखिएको छ । अघिल्लो पटक जिल्लामा कोभिड सक्रमितको तुलनामा कोभिडका कारण मृत्युहुनेको संख्या शुन्य दशमलव ५ प्रतिशतभन्दा कम थियो । अहिलेको मृत्युदर १ दशमलव ७२ प्रतिशतमाथि पुगेको छ । ‘अहिलेको भाइरस कति खतरानाक छ भन्ने यहि तथ्याङ्कले पनि पुष्टि गर्दछ’ प्रजिअ तिम्सिनाले भन्नुभयो —‘अब आफैले आफैलाई बचाउने बेला आएको छ । ’ कोभिड १९ रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको लकडाउनलाई जेठ १ गतेबाट थप प्रभावकारी बनाउन कठोररुपमा अघि बढ्ने उहाँको भनाई छ ।

अहिले झापामा कोभिड १९ को संक्रमितको संख्या बुधबार साँझसम्म २ हजार ९६ पुगेको छ । यसमध्ये जिल्लाका सरकारी तथा निजी अस्पतालमा २ सय ४६ जना संक्रमितले उपचार गराईरहेका छन् । बाकी विभिन्न आइसोलेसन केन्द्रमा स्वास्थ्य लाभ गरिरहेको उहाँको भनाई छ । जुन संख्या ११ दशमलव ७४ प्रतिशत हो । झापामा महिलाको तुलनामा पुरुष संक्रमितको संख्या बढी छ । १ हजार १ सय ७३ पुरुष संक्रमित हुँदा महिला संक्रमितको संख्या ९ सय २३ छ । लक्षण् देखिएका र शंकाष्पद महिला तथा पुरुषको पीसीआर परीक्षणका लागि थ्रोड स्वावको नमूना संकलन गरी १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान धरानको माईक्रो बायोलोजिकल विभाग र मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रयोगशाला तथा कोटीहोम प्रयोगशाला पठाइने गरिएको छ । परिणाम अनुसार महिलाको तुलनामा पुरुष संक्रमित बढी छन् ।

पुरुषहरु प्राय घरमा नबस्ने हिडडुल गर्न रुचाउने अनि अन्य मानिसहरुसँग पनि भेटघाट गर्ने भएकाले बढी संक्रमित भएको हुनसक्ने अनुमान स्वास्थ्यकर्मीहरुको छ । अधिकाँश महिलाहरु घरभित्र काममा व्यस्त हुने तथा पुरुषहरु कामका लागि बढी बाहिरै रहनुपर्ने बढी हिडडुल गर्नुपर्ने भएकाले पनि यो अवस्था आएको हुन सक्ने स्वास्थ्यर्मीहरु बताउँछन् । तुलानात्मकरुपमा हेर्दा महिला भन्दा पुरुषहरुकै बढी पीसीआर परीक्षण गरिएको छ । यसले पनि पुरुष संक्रमितको संख्या बढी देखिएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

डिसीसीएमसी (‘डिष्ट्रीक कोभिड १९ क्राइसेस म्यानेजमेन्ट कमिटी’) का अध्यक्ष समेत रहनु भएका प्रजिअ तिम्सिनाका अनुसार उमेर समूहमा १८ वर्षदेखि माथि ६० वर्षमूनिका मानिसहरु बढी संक्रमित छन् । यो उमेर समूहको संक्रमित संख्या १ हजार ७ सय ४३ वा ८३ दशमलव १६ प्रतिशत रहेको छ । यसैगरी, १८ वर्षमूनिका संक्रमित बालबालिकाहरुको संख्या १ सय ६२ वा ७ दशमलव ७३ प्रतिशत रहेको प्रजिअ तिम्सिनाले जानकारी दिनुभयो । जिल्लामा ६० वर्षमाथिका संक्रमित ज्येष्ठ नागरिकको संख्या १ सय ९१ वा ९ दशमलव ११ प्रतिशत रहेको छ ।

सीमाक्षेत्रबाट अवैधरुपमा आवतजावत नहोस भनेर नेपाल भारतको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘व्याकअप’का रुपमा नेपाली सेना समेत परिचालन गरिएको उहाँको भनाई छ । अहिले सीमाक्षेत्र व्यवस्थापनका लागि ९ सय सशस्त्र, ३ सय ८० नेपाल प्रहरी र भारतसँग सीमा जोडिएका जिल्लाका ५ वटा पालिकामा नेपाली सेनाको ६ वटा प्लाटुन सक्रिय पारिएको बताईको छ ।

मेचीनगर नगरपालिकाक्षेत्रमा २ र भद्रपुर, कन्काई, गौरीगञ्ज नगरपालिका र झापा गाउँपालिकामा १÷१ वटा नेपाली सेनाको प्लाटुन सक्रिय रहेको प्रजिअ तिम्सिनाले जानकारी दिनुभयो । अहिले जिल्लाभर १ सय ५३ वटा अक्सिजन सिलिण्डर मौज्दात गरिएको र जिल्लाका विभिन्न पालिकामा ३ सय ५७ वेडको आइसोलेसन केन्द्र तयार गरिएको र प्रायः सवैमा धेर थोर अक्सिजनको व्यवस्था गरिएको छ । ती आइसोलेनमा १७ जना चिकित्सक, ४६ जना नर्स र ७० जना अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here