घरघरमा संक्रमितलाई औषधि पुर्याउँदै वडा अध्यक्ष खुलाल

0
532

विनोद सापकोटा
शिवगञ्ज,
दोस्रो लहरको कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि झापाको शिवसताक्षी मा रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि संक्रमितका घरघरमा पुर्याउन थालिएको छ ।
केहीदिनअघि आयुर्वेद विभागले जारी गरेको प्रोटोकल अनुसार दुधे आयुर्वेद औषधालयले संक्रमितका घरघरमै जडिबुटी जन्य औषधि पुर्याउन थालेको हो । स्थानीय पालिका सँग समन्वय गरेर संक्रमितका घरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने जडीबुटी जन्य औषधी पुर्याउन थालिएको दुधे आयुर्वेद औषधालयका कविराज राजेन्द्र पोख्रेलले बताए । जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष मनोज खुलाल कार्कीलगायतका जनप्रतिनिधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी जन्य औषधि उपहार पुर्याएका हुन्। वडा कार्यपालिका सदस्य लक्ष्मी गुरागाईं, बद्रीनाथ खनाल र ईलाका प्रहरी कार्यालय शिवगञ्जको टोली संक्रमितका घरमा पुगेको हो । स्वास्थ्यकर्मी र जनप्रतिनिधि को टोली औषधी लिएर घरमा आउँदा आफूहरूलाई आधा रोग निको भएको महसुस सङ्क्रमितले गरेका छन्।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा रहेकी गोमादेवी कार्कीले वडाअध्यक्ष आफै आयुर्वेद का कविराज सहित औषधी लिएर घरमा आउँदा ज्वरो घटेको महसुस भएको बताइन् । छरछिमेक र आफन्तको सम्पर्कमा नरहेकी कार्कीले बुधवार वडा अध्यक्ष र कविराजसँग कोभीडका बारेमा धौं फुकाएर कुरा गर्न पाइन् । ‘घरैमा शक्तिवर्द्धक औषधी लिएर आउँदा मेरो आत्मबल उच्च भएको छ,’ उनले भनिन् ।
वडा अध्यक्ष कार्कीले १८ वर्षीय अर्की कोरोना संक्रमित भावना कार्कीलाई पनि घरैमा गएर भेटेका थिए । कार्कीको अवस्था सामान्य रहेको छ । उनलाई सुझाउँदै अध्यक्ष कार्कीले भने,‘पटक(पटक तातोपानी, झोलिलो वस्तु, हरियो सागपात सँगै हामीले ल्याएको औषधि सेवन गर्दा कोरोना लाई सहजै जित्न सकिन्छ ।’
गुडूची क्याप्सुल, आमलकी चूर्ण, कोर्डिजोन क्याप्सुल, च्यवनप्राश सहित माक्स र सेनिटाइजर वडा कार्यालयले संक्रमितलाई प्रदान गरेको हो । यस्तै अश्वगंधा चूर्ण, यष्ठीमधु चूर्ण लगायतका जडिबुटी जन्य औषधि पनि दुधे आयुर्वेद कार्यालयले सङ्क्रमितलाई घरघरमा पुर्याउने कार्यक्रम भइरहेको कविराज पोखरेलले बताए ।
वडा कार्यपालिकाले दिएका सबै औषधि ले रोगप्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा विभिन्न खाले भाइरसको असर लाई नियन्त्रण गर्ने कबिराज पोखरेलले जानकारी दिए ।
कविराज पोखरेलले संक्रमितलाई औषधि सेवन गर्ने तरिका सिकाउँदै शिवसताक्षी नगरमा धमाधम औषधि वितरण गर्ने काम भइरहेको बताए । ‘हामी घरघरमा रहेका संक्रमित र अस्पतालमा रहेका संक्रमितलाई पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी जन्य औषधि लैजाने तयारीमा छौं,’ कविराज पोखरेलले भने ‘जडिबुटी जन्य औषधिले शरीरमा कुनै साइड इफेक्ट गर्दैन ।’
यसअघि दुधे आयुर्वेद औषधालय ले शिवसताक्षी नगरपालिकाको समन्वयमा २५ संक्रमितका घरमा जडिबुटी जन्य हरु प्रतिरोधात्मक क्षमता बढाउने औषधि लगेको थियो ।
शिवसताक्षी नगरमा कोरोनाको दोस्रो लहर सुरु भएपछि ४५ जना संक्रमित छन् । त्यसमध्ये छ जना कोरोना मुक्त भएका छन् । गम्भीर प्रकृतिका तीनजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here