बिर्तामोड, एकका लागि एक अभियानको आव्हान अक्सिजन बैंक स्थापनाका लागि गरिएको ‘एक व्यक्ति एक सिलिण्डर सहयोग आव्हान’ अन्तर्गत अक्सिजन बैंक स्थापनाका लागि सहयोग जुट्न शुरु गरेको छ ।
यसै क्रममा बिर्तामोड–१ निवासी दुर्गादेवी ढकालले छोरी स्मृति र नातिनी सानिध्य खड्काको नाममा एक सिलिण्डर बराबर १५ हजार रुपैयाँको चेक पूर्वाञ्चल दैनिकको कार्यालयमा आएर प्रदान गरिन् ।
उनले अक्सिजन अभावमा कसैले मृत्युवरण गर्नु नपरोस् भनेर सहयोग गरेको बताइन् । अभियानका सदस्य तथा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उनले रकम हस्तान्तरण गरेकी हुन् ।
शुक्रवार बाट शुरु भएको अभियानमा एकै दिन नौ वटा सिलिण्डरका लागि सहयोग रकम जुटेको छ । सहयोग आव्हानको औपचारिक घोषणा अघि नै उत्साहजनक रुपमा सहयोग जुट्न थालेको हो ।
विभिन्न व्यक्ति तथा संस्थाले प्रति सिलिण्डर १५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरेका हुन् । कोरोना भाइरसको महामारीमा जीवन रक्षाका लागि अभियानले चार सय वटा अक्सिजन सिलिण्डरसहित अक्सिजन बैंक स्थापना गर्न लागिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।
अहिले अक्सिजनको अभावमा धरै संक्रमितले अचानक ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गरेर मानवताको सेवाका लागि अक्सिजन बैंकको अवधारणा अघि ल्याइएको अभियानका सहसंयोजक बिनोद बस्नेतले जानकारी दिए ।






























