झापाका तीन जना राजदूतमा सिफारिस

0
1033

झापा, परराष्ट्र मन्त्रालयले ११ मित्रराष्ट्रमा खटाउन राजदूत नियुक्ति सिफारिस गरेको छ ।
अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, म्यानमार, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले झापाका तीनसहित ११ जनालाई राजदूत नियुक्ति सिफारिस गरेको हो ।

प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद् सचिवालयमा पठाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । त्यसमध्ये झापाका तीनजना परेका छन् । झापा आन्दोलनमा संलग्न नेता चारपाने निवासी प्रा.डा. नारायणप्रसाद संग्रौलालाई म्यानमार, दमककी महिला नेतृ सुमित्रा भण्डारीलाई डेनमार्क र साविक महारानीझोडाका स्थायी बासिन्दा एवम् पूर्व मन्त्री युवराज कार्की बहराइनका लागि राजदूतमा सिफारिस भएका हुन् । सरकारले अष्ट्रेलियासहित ११ वटा देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको हो । दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीयामा सरकारले एकैसाथ राजदूत सिफारिस गरेको हो ।
राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिका– २०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेपनि योपटक परराष्ट्र सेवाबाट जम्मा दुई जनामात्रै सिफारिसमा परेका छन् । राजदूत नियुक्त गरेर सहसचिव निर्मलराज काफ्लेलाई अष्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्ट पठाउन सिफारिस गरिएको हो ।
श्रीलंकाका लागि साविक विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीति शास्त्रका पूर्व प्राध्यापक रमेशचन्द्र पौडेललाई राजदूत सिफारिस गरिएको छ । त्रिभुवन विश्वविद्यालय, राजनीति शास्त्र विभाग पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया र वामनेता पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरलाई अष्ट्रेलियामा प्रस्ताव गरिएको छ । तुलाधर सिविन नेपालकी कार्यकारी संयोजक हुन् ।
काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत एवम् रूसी भाषा अनुवादक जंगबहादुर (जंगब) चौहानलाई रूसका लागि राजदूत सिफारिस गरिएको छ । पाल्पाका पूर्वसांसद कुलप्रसाद नेपाललाई ब्राजिलका लागि नेपाली राजदूत सिफारिस गरिएको छ । यस्तै, एमालेनिकट मुस्लिम संगठनका पूर्वअध्यक्ष मेराज मुसलमानलाई साउदी अरेबियाको राजदूत बनाउन परराष्ट्रले सिफारिस गरेको छ । परराष्ट्रले गरेको सिफारिस संसदीय समितिमा सुनुवाइ र पारित हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here