कोरोना संक्रमणका कारण झापामा एकै दिन नौ जनाले ज्यान गुमाए

0
576

झापा, झापामा पछिल्लो २४ घण्टामा चार महिला सहित नौं जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चम्लगाईका अनुसार बिर्तामोड, भद्रपुर र दमक नगरपालिकामा दुई ÷ दुई जना र मेचीनगरपालिका , बुद्धशान्ति गाउँपालिका र कनकाई नगरपालिकामा एक ÷एक जना गरी नौ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुने मध्ये भद्रपुर नगरपालिकामा छोराको मृत्यु भएको एक सातापछि बुवाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । साविक महेशपुर –१ मन्त्रीबारी हाल भद्रपुर वडा नं –४ निवासी ७६ वर्षीय सुरेनचन्द्र राजवंशीको कोरोनाका कारण मंगलवार बिहान मृत्यु भएको हो ।

एक साता अघि कारोना संक्रमणकै कारण ४८ वर्षीय छोरा अनुप राजवंशीको मृत्यु भएको थियो । छोराको मृत्यु पछि गत शुक्रबार सुरेनचन्द्र राजवंशीको पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमणपछि राजवंशीलाई होम आइसोलेसनमा राखिएको थियो । राजवंशीको होम आइसोलेसनमा नै निधन भएको बताइएको छ ।

भद्रपुर नगरपालिकामा नै पछिल्लो २४ घण्टामा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको हो । होम आइसोलेसनमा रहेका भद्रपुर ६ निवासी ७१ वर्षीय बृद्धको मंगलवार दिउँसो घरमै मृत्यु भएको भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका मनोज भट्टराईले जानकारी दिनुभयो । योसँगै भद्रपुरमा नयाँ भेरियन्टको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या सात जना पुगेको छ ।

दमकमा कोरोना संक्रमणका कारण दुई जना महिलाले ज्यान गुमाएका छन् । दमक ५ स्थित हरिओम कोलनी निवासी ३५ वर्षीया महिलाको लाइफलाइन अस्पतालमा उपचारका क्रममा आज मंगलवार बिहान मृत्यु भएको हो ।

गत बैशाख ३० गतेदेखि अस्पतालमा उपचाररत उनको मंगलवार विहान निधन भएको बताइएको छ । बैशाख २४ गते धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिनुभयो ।

यता बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा आज मंगलवार बिहान दमकका कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ८ निवासी तामाङ थरकी ६२ वर्षीया महिला रहेकी छन् । दमकमा दोस्रो चरणको नयाँ भेरियन्टसहितको कोराना संक्रमणका कारण ६ महिला र ४ पुरुषसहित १० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमक नगरपालिकामा ५ सय भन्दाबढी सक्रिय संक्रमित रहेका छन् ।

यता बिर्तामोडमा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा आज बिहान मृत्यु हुनेमा बिर्तामोड ४ की कुसवाह थरकी ४० वर्षीया महिला रहेकी छन् । अहिले बिर्तासिटी हस्पिटलको आकस्मिक कक्ष र कोभिड वाडमा गरी ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका ६ निवासी गिरी थरकी ७९ वर्षीया बृद्धको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो । बिर्तामोड नगरपालिकाले संचालन गरेको नगर अस्पताल लगिएकोमा त्यहाँ उपचार नभएपछि घरतर्फ ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताइएको छ ।

त्यस्तै मेचीनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मेचीनगर ७ इटाभट्टाका निरौला थरका ३२ वर्षीय पुरुषको बिर्तामोडको बीएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सामाजिक विकास शाखाका नवीन बरालले बताउनुभयो । निरौला मेचीनगर नगरपालिकाका कर्मचारी थिए । मेचीनगरमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सख्या नौं पुगेको छ ।

यता बुद्धशान्ति गाउँपालिकामा नयाँ भेरियन्टको कोरोना स.क्रमणका कारण प्रधान थरका एक व्यक्तिको मृत्यु भएको छ । बुद्धशान्ति ७ का प्रधान प्रधानको आज बिहान बिर्तामोडको बीएण्डसी हस्पिटलमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका भोला अधिकारीले बताउनुभयो ।

यता कनकाई नगरपालिका ३ निवासी उपे्रती थरकी ८६ वर्षीया बृद्धाको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको उपचारका क्रममा मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । मेची प्रादेशिक अस्पतालमा नै इलामका निरौला थरका ५५ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाटै मृत्यु भएको बताइएको छ ।

त्यस्तै बाह्रदशी गाउँपालिका ५ मा कोरोनाको लक्षण भएका एक पुरुषको आज बिहान मृत्यु भएको छ । श्वासप्रश्वास , ज्वरो लगायतका समस्या भएका राजवंशी समुदायका ५२ वर्षीय पुरुषको घरमै मृत्यु भएको हो ।

गौरादह ७ निवासी नेपाली कांग्रेसका पूर्व नगर सभापति कृष्णहरि थपलियाको पनि कोरोना संक्रमणवाट मृत्यु भएको छ । थपलियाको काठमाडौंमा उपचारका क्रममा सोमबार बेलुकी ७ बजे मृत्यु भएको हो । मेरुदण्डको समस्या लिएर थपलिया दुई साताअघि उपचारका लागि काठमाडौंको हरिसिद्धी अस्पताल गएको र त्यहाँ उपचारका क्रममा संक्रमण समेत पुष्टि भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here