‘गफ होइन, काम गर सरकार’–कांग्रेस

0
875

विर्तामोड ,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको जिऊधनको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउँदै अक्सिजन, भेन्टिलेटर, अस्पताल र उपचार अभावका कारण जनताको ज्यान जाने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सरकारसँग माग गर्नुभएको छ ।
नेपाली कांग्रेस कोभिड अनुगमन समितिको आयोजनामा प्रदेश नं–१ स्तरीय भर्चुअल बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति देउवाले सामाजिक दुरी, माक्स प्रयोग, स्वास्थ्य सावधानी अपनाउन सचेतना फैलाएर आफू पनि बाच्ने र अरुलाई पनि बचाउने भूमिका निर्वाह गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभएको हो ।
कोभिड खोप अत्यन्तै जरुरी रहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले महामारीको संवेदनशिल अवस्थामा समेत सरकार र प्रधानमन्त्रीकै मिलेमतोमा कमिशन र भ्रष्टाचार बढेकोप्रति आपत्ति जनाउनुभयो ।
नेपाली कांग्रेसका बरिष्ठ नेता तथा विशेष अतिथि रामचन्द्र पौडेलले वर्तमान सरकार गफमा मात्रै अल्झिएको आरोप लगाउँदै बैकल्पिक सरकारको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । कोरोना संक्रमण न्युनिकरणका लागि संसद र सर्वदलीय बैठकमार्फत छलफल गरेर स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । जनताको जिउधन रक्षाका लागि अत्यावश्यक मानिएको अक्सिजन, अस्पताल, उपचारको सुनिश्चितता गर्दै रोग लाग्न नदिन भ्याक्सिन र गाउगाउँमा अस्पताल स्थापनालाई प्राथमिकतामा राख्न सरकारलाई बाध्य पार्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजता कोइरालाले जनताको जिउधनभन्दा मुलुकको अर्थतन्त्र जोगाउन सरकारको दायित्व भनी सरकारकै मन्त्रीले दिएको अभिब्यक्तिले सरकार जनताको स्वास्थ्य सुरक्षामा उदासिन रहेको प्रष्ट हुने बताउँदै स्वास्थ्य सुरक्षाप्रति गैरजिम्मेवारी प्रदर्शन नगर्न सरकारलाई सचेत गराउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पाँचसय विरामीमध्ये ५ जनालाई भेन्टिलेटरमा लानुपर्ने र तीमध्ये थोरैमात्रै बाँच्ने प्राविधिक पक्षबारे जानकारी दिदै गाउँनगरमा आइसोलेशन, अक्सिजन ब्यवस्थापन जरुरी रहेको बताउनुभयो । एउटै बाथरुप प्रयोग गर्नुपर्ने बाध्यता रहेका घरपरिवारका संक्रमीतलाई आइसोलेशन सेन्टरमा राख्दा पनि संक्रमण धेरै मात्रामा घट्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्यहरु ग्यानेन्द्र कार्की, डा. डिला संग्रौला, सुजता परियार लगायत केन्द्रीय सदस्यहरुले मन्तब्य राख्दै वर्तमान सरकारलाई गफमा अल्झनुभन्दा उल्लेख्य काम गरेर देखाउन  चुनौति दिनुभयो ।
अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सहजीकरण गर्नुभएको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले एकडोज भ्याक्सिन लगाएका ब्यक्तिहरुको उपचार केही सहज देखिएको भन्दै खोपलाई नै प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
अर्का नेता रमेशजंग रायमाझीले वर्तमान सरकार छलफल र कोभिडको उपचारलाई प्राथमिकता दिनुभन्दा संसद छलेर भ्रष्टाचारमा अल्झिएको धारणा राख्नुभयो ।
यसैगरी पूर्वी तराई जिल्लाका सभापतिहरुले सत्ताको दाउपेच र कुर्सी बचाउने नाममा सरकार जनतासम्म पुग्नै नसकेको बताउँदै भेन्टिलेटर, अस्पताल, अक्सिजन अभावका कारण विरामीले  ऐया ऐया भन्दै विरामीले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले कोभिड संक्रमण नियन्त्रणका लागि स्थानीय तहले धेर–थोर काम गरेपनि प्रदेश र संघीय सरकारको भूमिका नदेखिएको बताउनुभयो । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्वकै कारण कोभिड नियन्त्रणमा १ नम्बर प्रदेश सरकारले कुनै काम नै नगरेको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले सत्ता र कुर्सी जोगाउने नाममा सरकार कमिशन र भ्रष्टाचारमा अल्झिएको टिप्पणी गर्दै जनताको स्वास्थ्यप्रति उदासिन बनेको आरोप लगाउनुभयो  । भ्याक्सिन, अस्पताल, अक्सिजन, बेड अभावका कारण कोरोना विरामीहरु घरैमा बस्न बाध्य भएको बताउँदै पार्टी कार्यालयलाई आइसोलेशन सेन्टर बनाइने जानकारी दिनुभयो ।नेपाली कांग्रेस मोरङका नेता नागेश्वर कोइरालाले भ्याक्सिन आयातमा सरकारलाई दबाब दिनुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै प्रदेश नं–१ का नेपाली कांग्रेसका सभापतिहरुले पहाडी जिल्लाका जटिल प्रकृतिका कोभिड विरामीहरुको अस्पताल पु¥याउन नपाउँदै मृत्यु हुने गरेको जनाएका छन् ।
प्रदेश नं–१ मा कोभिडको स्थिति के छ ? नेपाली कांग्रेसले के गरिरहेको छ ? र के आवश्यकता छ ? लगायतका विषयमा केन्द्रित रहेर पूर्वी पहाडी जिल्लाका कांग्रेस सभापतिहरुले सत्ताको दाउपेच र कुर्सी बचाउने काममै सरकार ब्यस्त रहँदा कोरोना संक्रमीतहरु उपचार नपाइ ज्यान गुमाउन बाध्य भएको बताएका हुन् ।
नेपाली कांग्रेस ताप्लेजुङ सभापति लिला बोखिम, पाँचथर सभापति लिला बोखिम, संखुवासभा सभापति दिपनकुमार श्रेष्ठ, धनकुटा सभापति अग्निप्रसाद पौडेल, भोजपुर सभापति नन्दमणि राई, तेह्रथुम सभापति गोविन्द ढुङ्गाना, सोलुखुम्बु सभापति, उदयपुरका कांग्रेस नेता सरोज बस्नेत लगायतले आइसियु, भेन्टिलेटरजस्ता सुविधायुक्त अस्पताल आ–आफ्ना जिल्लामा नभएको, पि.सि.आर परिक्षणकै लागि विराटनगर, सुनसरी, झापासम्म पु¥याउनुपर्ने बाध्यता रहेको, विरामीको रिपोर्ट आउन ७ दिनसम्म लाग्ने गरेको, हेलिकप्टर चार्टरका लागि सबैको आर्थिक क्षमता नपुग्ने र एम्बुलेन्सको समेत पर्याप्त सुविधा नहुँदा ‘ऐया ऐया’ भन्दै विरामीले घरमै बस्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।
नेपाली कांग्रेस ताप्लेजुङ सभापति लिला बोखिमले अहिलेसम्म कोरोनाका कारण जिल्लाका ६ जनाले ज्यान गुमाएको र ती मध्ये २ जनाको अस्पताल लैजादालैजादै मृत्यु भएको, एकजना विरामीलाई झापाको एक अस्पतालमा पु¥याएपनि एकरातमै ज्यान गुमाएपछि २ लाख रुपैया तिर्नुपरेको बताउँदै कोभिडको उपचारमा निजी अस्पतालहरुले कति समयको कति रकम असुल्न पाउने ? भन्ने मापदण्ड तोक्न सरकारसँग माग गर्नुभयो ।
विरामीलाई अस्पतालसम्म पु¥याउन पास मिलाउँदा मिलाउँदा मिलाउँदै विरामीको मृत्यु हुने गरेको बताउँदै कोभिडका नाममा बढेको महंगी र भ्रष्टाचार नियन्त्रण गर्नसमेत सरकारसँग माग गर्नुभयो ।
संखुवासभा सभापति दिपनकुमार श्रेष्ठले जिल्लामा ५० बेडको आइसोलेशन सेन्टर रहेको र ती सबै विरामीले भरिएको बताउँदै २ बेडको भेन्टिलेटर रहेपनि प्राविधिक समस्याका कारण चलाउन नसकिएको धारणा राख्नुभयो । कोभिड नियन्त्रणमा सरकार गैरजिम्मेवार बनेको बताउँदै उहाँका जिल्लाका थुप्रै संक्रमीतहरु पिसिआर टेष्ट नै नगरी बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
तेह्रथुम सभापति गोविन्द ढुङ्गानाले पिसिआर टेष्टको दायरा बढाउन सरकारलाई दबाब दिनुपर्नेमा जोड दिनुभयो भने ओखलढुङ्गाका सभापति प्रदीप सुनुवारले आइसियु र भेन्टिलेटर तथा जिल्लामा पिसिआर टेष्ट नहुँदा अधिकांश संक्रमीत चेकजाँच नै नगरी बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
कार्यक्रमका अधिकांश बक्ताहरुले कोरोना संक्रमणका कारण जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जली, परिवारलाई समवेदना र विरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
कार्यक्रममा विराटनगरका मेयर भिम पराजुली, जनप्रतिनिधि तथा कांग्रेस नेताहरु तथा सहभागीका तर्फबाट बाबुराम बस्नेत, सुनिलबहादुर थापा, विमला राई, खगेन्द्र राई, देवित्र आङदेम्बे, महेश थपलिया, होमनाथ थापा, नामग्याल जाङबु, कैलाश आले, पवन शारदा, खिलराज बस्नेत, कृष्ण हुमागाई, ओम सरावगी,  इन्दु पूर्वेली, नवोदिता चौधरी लगायतले आ–आफ्ना धारणा राख्दै स्वास्थ्य संकटकाल लगाउनुपर्ने, सबै जिल्लाका सय बेड माथिका अस्पताललाई कोभिड अस्पताल बनाइनुपर्ने, निजी क्षेत्रलाई भ्याक्सिन आयातको जिम्मेवारी दिइनुपर्ने, कोभिड प्रभावित भएर होम आइसोलेशनमा बसेका कार्यकर्तालाई  हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here