लकडाउनमा पनि रोकिएन तस्करी

0
1254

झापा,नेपालमा प्रतिबन्धित पंगास माछाको भुरा तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम अझै रोकिएको छैन ।
झापा र इलामका विभिन्न स्थानीय तहका माछा पोखरीमा पंगास माछाको भुराको माग बढ्दो रहेकोले सीमा नाका सिल र निषेधाज्ञामा परी तस्कर समूहले अवैध रुपमा माछाको भुरा भित्र्याइरहेका छन् । यसैक्रममा सशस्त्र प्रहरीले बुधवार बिहान ४ बजे दुई क्वीन्टल पंगास माछाको भुरासहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएका सशस्त्रको टोलीले बिशेष सूचनाको आधारमा बुधवार बिहान ४ बजे मेची राजमार्गको चारआली–केचना सडक खण्ड अन्तरगत भद्रपुर–४स्थित झिलमिलिया पुल नजिकैबाट मे १ च ४१३४ नम्बरको रातो प्लेट भएको गाडीमा माछाको भुरा फेला पारेको हो ।

कचनकवल नाकाबाट अवैध रुपमा भित्र्याइएको माछाको भुरा लोड गरिएको गाडी बिर्तामोडतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको वीओपी भद्रपुरका इन्स्पेक्टर बिभुराज दाहालले जानकारी दिए । बरामद गरिएको माछाको भुराको नेपाली बजार मूल्य साढे चार लाखभन्दा बढी रहेको जनाइएको छ । सो माछाको भुरा बिर्तामोडका व्यापारी अलि खानले ल्याएको खुलेको छ ।

माछाको भुरालाई अस्थायी पशु क्वारेन्टाइन चेक पोस्ट भद्रपुर, नेपाल प्रहरी, स्थानीय र पत्रकारको रोहबरमा नष्ट गरिएको छ । नियन्त्रणमा लिएका गाडीलाई आवश्यक कारबाहीका लागि ७ लाख ९० हजार मूल्याङ्कन तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको इन्स्पेक्टर दाहालले बताए ।

यसअघि १५ दिनको अवधिमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण लकडाउनमा पनि रोकिएन तस्करी हेडक्वार्टर झापाबाट खटिएका सप्रसनि रमेश कुँवर नेतृत्वको टोलीले दुईपटक गरी साढे चार क्विन्टल पंगास माछाको भुरासहित दुई वटा गाडी नियन्त्रणमा लिइसकेको छ । सशस्त्रले बैशाख ३१ गते गौरीगञ्ज गाउँपालिका–५ बाट मे १ ज १९०८ नम्बरको छोटा हात्ती गाडीमा राखेर दमकतर्फ लैजाँदै गरेको अढाई क्वीन्टल पंगास माछाको भुरासहित गाडी नियन्त्रण लिएको थियो ।

त्यस्तै वैशाख १७ गते गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीबाट मे१ज ३०१६ नम्बरको पिकअप गाडीमा लोड गरिएको दुई क्वीन्टल पंगास माछाको भुरा नियन्त्रण लिएको थियो । नियन्त्रणमा लिएका माछाको भुरालाई नष्ट गर्दै दुवै गाडीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार बुझाइसकेको छ ।

गौरीगञ्जबाट माछाको भुरा भित्र्याउने त्यहाँकै कारोबारी सुनिल साह रहेको खुलेको छ । कारोबारी साहकै भुरा सशस्त्रले दुईपटक नियन्त्रण लिएको हो ।

पंगास माछाको भुराको माग बढ्दा तस्करी बढ्यो

विषादी परीक्षण र अनुमति बिना माछा र माछाको भुरा नेपाल भित्र्याउन नपाउने अस्थायी पशु क्वारेनटाइन चेक पोस्ट भद्रपुरका प्रमुख डा. मुकेशकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार नेपालमा पंगास र मागुर माछाको भुरामाथि सरकारले नै प्रतिबन्ध लगाएको छ । ‘यी दुवै माछाको भुरालाई कानूनी प्रक्रिया पूरा गरी पनि नेपाल भित्र्याउन पाइँदैन’– उनले भने– ‘त्यसैले कारोबारीले अवैध बाटो प्रयोग गरी भुरा भित्र्याउन खोज्छन् ।’ ‘छिटो उत्पादन हुने र एउटा मात्र ठूलो काँडा हुने पंगास माछाको झापा र इलामका माछा पोखरीमा माग बढ्दो छ, यो पश्चिम बङ्गालमा उत्पादन हुन्छ’– उनले भने । अहिले यी दुवै जिल्लाका माछा पोखरीहरूमा पंगास माछा नै बढी मात्रामा उत्पादन भइरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here