
आवधिक निर्वाचनलाई लोकतन्त्रको आत्मा मानिन्छ । नेपालको संविधान २०७२को चुरो भनेको उदार लोकतन्त्र हो । नेपाली कांग्रेस र नेपालका कम्युनिष्ट पार्टीहरु यही उदार व्यवस्थालाई मानेर आएका छन् । नेपालमा लोकतन्त्रका विरुद्धमा पटकपटक षडयन्त्रहरु भएका छन् ।
बहुदलीय व्यवस्थालाई सैनिकको बलमा दमन गरी २०१७ सालमा दलविहीन निरंकुश तानाशाहीको राज शुरु भएको तीतो इतिहास छ । उग्रवामपंथीहरुबाट प्रत्यक्ष र परोक्ष रुपमा पटक पटक अधिनायकवादको अभ्यास गर्ने असफल प्रयत्न भएको हो, तर त्यस्तो प्रवृत्तिलाई जनताले पटकपटक अस्वीकृत गरेका छन् ।
देश लोकतन्त्रवादको वैचारिक मार्गमा फर्किएको छ । पछिल्लो दशकको विश्वव्यापी प्रवृत्ति हेर्दा लोकतान्त्रिक पद्धतिमाथि नयाँ शैलीका संकटहरू देखा परेका छन । लोकतन्त्र माथिको अनेकन संकट आवधिक निर्वाचनमार्फत व्यवस्थित हुँदै जान्छन् । विभिन्न बहानामा निर्वाचनलाई अस्वीकार गर्ने र अस्तव्यस्ततालाई निरन्तरता दिने हो भने लोकतन्त्र र जनजीविकाका प्रश्नहरु ओझेलमा पर्ने मात्र होइन, उदार लोकतन्त्रको हत्या हुनसक्छ । नेपाली कांग्रेस बहुदलीयता, विधिको शासन, आवधिक निर्वाचन, वाक तथा प्रेस स्वतन्त्रतालाई शिरोपर गरेर आफ्ना राजनीतिक गतिविधिहरु गर्ने मुलुकको एक प्रभावशाली दल हो । नेपाली कांग्रेस जन्मँदा बहुदलीय संसदीय व्यवस्था र संवैधानिक राजतन्त्रको दुई खम्बे नीतिमा अडिएको थियो ।

२००७ सालको राणाशासन अन्त्य र प्रजातान्त्रिक शासनव्यवस्था स्थापनाका लागि सबैभन्दा बढी बलिदान गरेको र अग्रणी भूमिका खेलेको नेपाली कांग्रेस यतिबेला नेपालमा ठूला दुई पार्टीमध्ये एक रहेको छ । तर समकालीन राजनीतिमा नेपाली कांग्रेसको भूमिका स्पष्ट छैन । नेपाली कांग्रेसको वैकल्पिक धारको रुपमा परिचित नेपालका कम्युनिष्टहरु २०४६ सालको जनआन्दोलनपछि सबैभन्दा बढी अस्तव्यस्त र टुट्फुटको श्रृंखलाबाट गुज्रिरहेको आजको अवस्था छ । कम्युनिष्टहरुको अन्तरविरोध शत्रुतापूर्ण अवस्थातर्फ अघि बढिरहेको छ । कम्युनिष्टहरुभित्र झैझगडा, अन्तरकलह र अन्तरद्वन्द्वको आगो सल्केको छ र त्यो विग्रह शत्रुतापूर्ण बन्दै गएको छ । कम्युनिष्टहरु आफ्ना प्रतिष्पर्धीलाई खरानी बनाएर आफ्नो अहम् र महत्वाकांक्षाको नगरा बजाइरहेका छन् । आफ्नै आँगन खनेर जनसेवाको बाटो पुर्ने र आफ्नै घरमा आगो झोसेर आगो ताप्ने प्रवृत्ति झाँगिदो छ । विभाजन र टुटफुटका श्रृंखलाबाट पटकपटक गुज्रिन अभिषप्त नेपालका कम्युनिष्टहरुले फेरि एकपटक एकापसमा कोपारकापर र कोराकोरका दृश्यहरु प्रदर्शन गरिरहेका छन् ।
यो बेलामा पनि नेपाली कांग्रेस वैचारिक रुपमा अलमलाहट र द्विविधामा हुनु मुलुक, लोकतन्त्र र स्वयम् नेपाली कांग्रेसका लागि अफापसिद्ध हुने स्पष्ट छ । जोडघटाउको समीकरण मिलाउन र सांसदको टाउको गनेर संख्या पु¥याउने जस्ता खेलमा अल्झेमा कांग्रेसको फितलो नेतृत्वको निरन्तरता हुनेछ र यसको समग्र प्रभाव राष्ट्रिय राजनीतिमा पनि पर्नेछ । कठिन परिस्थितिमा पनि प्रजातन्त्रका लागि सतिसालझैं उभेको नेकाको हैसियत र प्रस्तुति प्रकारान्तरमा संकुचित, निरर्थक र निष्क्रिय प्रायः किन बन्दैछ भनेर कांग्रेसीजनले विहंगम समीक्षा गर्नुपर्ने अवस्था आएको छ । चुनावको पक्षमा नेपाली कांग्रेस खुलेर आउन नसक्नुका पछाडि के कारणहरु छन् ? स्वयम् पार्टीभित्रको आपसी खिचातानीमा अल्झिरहनु नै प्रमुख कारण हो । भावी पार्टी सभापति को हो र भावी प्रधानमन्त्री को हो भन्ने दुई मुख्य प्रश्नहरुको गोलचक्करमा नेपाली कांग्रेस उल्झेको देखिन्छ ।
ती दुवै विषय पद्धतिगत रुपमा नेपाली कांग्रेसले महाधिवेशन र निर्वाचनपछिको संसदीय दलबाट हल गर्न सक्दछ । चुनावमा कसको नेतृत्वमा कस्ता नीति र कार्यक्रमसहित जाने भन्ने कुरामा घोत्लिनुपर्ने नेपाली कांग्रेस पटकपटक अस्थिरता र विघटनको चक्रव्यूहमा फँसिसकेको संसदलाई व्युँझाएर जोडघटाउ, भागा र गुनामा लाग्नु दुःखद् कुरा हो । कम्युनिष्टहरुभित्र अनेकता र बेमेल बढेर जाओस् भनेर नेकपा माओवादी र नेकपा एमालेको माधव–खनाल समूहसँग सहकार्य गर्नु, मोर्चा निर्माण गर्नु र सडक संघर्षमा जानुको सट्टा नेपाली कांग्रेस अहिले आफ्ना संगठनहरु चुस्तदुरुस्त बनाई निर्वाचनको तयारीमा लाग्नु राम्रो हो ।
आजको अस्तव्यस्तता, अस्थिरता र अलमललाई निर्वाचनमार्फत हल गर्न सकिने सच्चाइलाई नेपाली कांग्रेसले नबुझेमा मुलुकले अझै दुःख पाउँछ र संघीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाप्रतिको नेपाली जनताको आस्था र विश्वासमा ह्रास आउँछ । अरुको एजेण्डा र मार्गचित्रमा नेपाली कांग्रेस हिँडेमा सबभन्दा धेरै घाटा स्वयम् नेपाली कांग्रेसलाई हुनेछ । जनताको तल्लो तहसम्म संगठन भएको, विगतमा पटकपटक सत्ताको बागडोर सम्हालेको र आवधिक निर्वाचनलाई सहजै स्वीकार्ने नेपाली कांग्रेस अहिले चुनावमा जान अरुची प्रकट किन गरिहेको छ ? कांग्रेसले बुझ्नुपर्ने कुरा के हो भने कम्युनिष्टहरुले जनमुखी बाटो हिँडेनन् भने र सत्तापक्षले वा सरकारले संविधान, कानुन र ऐनले निर्दिष्ट गरेका मान्यतालाई त्यागेर आफ्नो कर्तव्य छोडेर बाटो बिराएमा चुनावमार्फत वैकल्पिक सरकार दिन नेपाली कांग्रेस अघि सर्नुपर्नेमा उल्टो कम भइरहेको छ ।
कांग्रेस वक्तव्यबाजी र दौडादौडमा समय व्यतीत गरिरहेको छ । नेपाली कांग्रेसले समयको पदचापलाई सुन्न सकिरहेको छैन । अरुको बैशाखी किन खोजिरहेको छ कांग्रेस ? आफ्नो तागत र ऊर्जालाई सही समयमा सही ठाउँमा सदुपयोग गर्न कांग्रेस चुकिरहेको कुरा घाम जत्तिकै स्पष्ट छ । नेपालका सबै दलहरुमा गुटउपगुट हुनु र ती समूहवीचमा पद÷प्रतिष्ठा प्राप्तिका लागि स्वस्थ र अस्वस्थ होडबाजी हुनुलाई स्वाभाविक मानिन्छ, तर समग्र राष्टिूय राजनीतिमा आफ्ना लागि अनुकूल अवस्था आउँदा पनि सम्हालिएर अघि बढ्नुको सट्टा आन्तरिक किचलोमा अल्झिनु कांग्रेसीजनका लागि उत्साहजनक अवस्था निश्चय नै होइन । नेपाली कांग्रेस प्रतिपक्षी भूमिका पनि अब्बल प्रमाणित हुन सकेन । लामो समय सत्तासीन भएर बसेको आदतका कारण यसो भएको हुनसक्छ । दशवर्षे जनयुद्धको समापन र शान्ति सम्झौताको अवधिदेखि कांग्रेसले बाटो बिराएको र अरुको एजेन्डाको पछि दगुरेको प्रतिफल नै आजको अवस्था हो भन्ने धेरै कांग्रेसीको बुझाइ पनि रहेको छ । प्रतिपक्षले सरकारलाई कानूनसम्वत कामका लागि अभिप्रेरित गर्ने हो, नत्र खबरदारी गर्ने हो । तर प्रतिपक्षको भूमिका लामो समयसम्म ओझेलमा पर्दै जानुले लोकतान्त्रिक मूल्य र मान्यताको नै उपहास हुँदै गएको छ ।
अहिलेकै अवस्था कायम रहे र नेपाली कांग्रेस उल्झनमा फँसिरहने हो भने कम्युनिष्टहरु विभाजित भए पनि र कम्युनिष्टहरुको सम्बन्ध अझै शत्रुतापूर्ण रुपमा झाँगिदै जाने हो भने पनि नेपाली कांग्रेसले निकट भविष्यमा हुनगइरहेको चुनावमा बहुमत हासिल गर्दैन । वास्तवमा सार्थक भूमिकाका लागि कांग्रेससँग प्रष्ट योजना र स्पष्ट खाका नहुनु दुःखद् पक्ष हो । लोकप्रिय मतमा नेकपा एमालेको हाराहारीमा रहेको नेकाले न जनतालाई वास्तविक गतिविधिमार्फत सहयोग नै गर्न सकेको छ, न जनपरिचालनमार्फत आफ्ना नीति तथा कार्यक्रम तल्लो तहसम्म नै पु¥याउन सकेको छ । गैरजिम्मेवार र दायित्वविहीन नभएर आफ्ना सुस्पष्ट कार्यक्रम र कार्ययोजनासहित नेपाली कांग्रेस चुनावको तयारीमा लाग्न जरुरी छ ।
कम्युनिष्टहरु गल्ती वा कमजोरी गर्छन् र अनि केही गरौंला भन्ने हो भने कम्युनिष्टहरुले त आफ्ना गतिविधि देखाइसकेका छन् । असल पार्टीले अरुका नराम्रा कुराबाट आफ्नो जनमत निर्माण गर्ने होइन, आफ्ना असल कार्यक्रम र व्यावहारिक कार्यदिशा सुस्पष्टताका साथ जनसमक्ष राखेर जनताको मत र मन दुवै जित्नुपर्छ । चुनावमार्फत सरकारमा जान कांग्रेस गृहकार्यमा लाग्न आवश्यक छ र आफूले लिनुपर्ने बाटो, पार्टीभित्रको मतान्तरलाई छलफल र बहसबाट टुंगो लगाएर सुस्पष्ट कार्यदिशासहितको चुनावी तयारी हुनसकेमा कांग्रेसको छबि पनि भ्रमित हुने थिएन र मुलुकले सुस्पष्ट दिशा पनि पाउने थियो । अहिले नै र आज नै कुर्सी प्राप्त गर्ने अभिलाषा त्याग्न जरुरी छ । अहिले नै सत्ता समीकरण र जोडघटाउमा समय बिताउनु कांग्रेसलाई फाइदा हुने विषय होइन । आफू सम्हालिएर आगामी चुनावमा बहुमतसहित सरकार बनाउने उद्देश्य छोडेर ३ वा सोभन्दा बढी पार्टीलाई एउटै धोक्रोमा हालेर सरकार बनाउने अभ्यासमा लाग्नु काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै हो । प्रजातान्त्रिक आन्दोलनमा अत्युच्च भूमिका निभाएका बीपी कोइरालाको विरासतको रुपमा रहेको नेपाली कांग्रेसमा समस्या आएको घामजत्तिकै प्रष्ट छ ।
विगतमा जहिले पनि सरकारको पर्याय बनेको नेपाली कांग्रेसमामा नीति, सिद्धान्त, विचारमा आइरहेको विचलन र गलत बुझाइले ह्रासोन्मुख हुँदै गएको स्पष्ट छ । कांग्रेसलाई आफू अंकगणितमा पछि परेको लघुताभाषले सताउँदो हो, तर सूचना–प्रविधिको उच्च विकास भएको आजको युगमा परिमाणात्मक मात्र होइन, गुणात्मक भूमिकाको पनि मूल्यांकन जनताबाट हुन्छ भन्ने सच्चाइलाई कांग्रेसले बुझ्न सक्नुपर्छ । लोकप्रिय मतमा नेपाली कांग्रेस पछाडि छैन । अरुको घर जलेको ताप्नेहरुको कुनै कमी छैन, आफ्नै घर जलाउनेहरुको संख्या ठूलो छ नेपालमा । तर नेपाली कांग्रेसले आफ्नो घर सुरक्षित राख्ने हो, आफूभित्र बहस, छलफल र स्वस्थ वैचारिक संघर्ष चलाएर पार्टीलाई सुदृढ, एकताबद्ध र भविष्यमुखी बनाउने हो, अरुको घर जलेको आगो ताप्दै हिँड्ने होइन ।
कम्युनिष्ट विभाजनको आत्मरतिमा रमाउँदारमाउँदै जनताको नजरमा कांग्रेसको छबि उजेलो हुँदैन । प्रजातन्त्रको चिहानमा निर्दलीयताको बीउ रोपेर पञ्चायती व्यवस्था हुर्काउने तत्कालीन राजा महेन्द्रको सामु नझुकीकन, बहुदलीय लोकतान्त्रिक व्यवस्थाको स्थापनाका लागि राजासँग एक इञ्च पनि नलत्रिकन एक दशक बढी जेलमा बिताउने बीपी कोइरालाको आदर्शलाई सम्झने हो भने नेपाली कांग्रेस भ्रमित भएर कुबाटो लागेको भए पनि आत्मसमीक्षा गदै सही मार्गमा आउँदो हो, तर यतिबेला ती सबै आदर्शहरु धुमिल भएका छन्, ती बहादुरी, निष्ठा र समर्पणका इतिहासहरु विस्मृतिको गर्तमा कतै हराइरहेका छन् । नेपाली कांग्रेस पार्टीले कच्चा राजनीति गर्नुहुँदैन र सत्ताधारी दलमा आएको फाटोले नेपाली कांग्रेसको भूमिका थप निर्णायक बन्नुपर्छ भन्ने कांग्रेसजनको मनोभावना रहेको देखिन्छ ।
केवल राजनीतिको च्याँखे थापेर कहिले मौका आउँछ भनेर पर्खिरहने भन्दा बढ्ता अहिले कांग्रेसको नेतृत्वले दूरदृष्टिसहित आफ्नो हैसियत, सोचाइ र क्षमता फराकिलो बनाउँदै जनभावनाको कदर गर्नसक्नुपर्छ । यतिबेला कांग्रेसजनमा अनुकूल अवस्थामा पनि कांग्रेसले अवसरको उपयोग गर्न सक्दैन कि भन्ने विश्वासको संकटको स्थिति सिर्जना भएको छ । यो अवस्था बढो जटिल र गम्भीर छ । सत्तालोलुपतामा होइन, नेपाली समाजको बदलिँदो सामाजिक–आर्थिक परिवेशमा संविधानले निर्दिष्ट गरेको राज्य सञ्चालन र संरचनाको वैधता स्थापित गर्न आवश्यकताको जिम्मेवारी नेपाली कांग्रेसले लिन आवश्यक छ । नेकपा एमालेलाई हराउन त्यति सहज छैन । चुनाव सन्निकट छ ।
कोभिडको कारणले मसिरमा नभए चैत्र वा बैशाखमा चुनाव हुन्छ । अरुको बैशाखी र आडभरोसाभन्दा आफ्नै पहलकदमीमा आफूभित्रका अनेकता र अस्वस्थ प्रतिष्पर्धालाई थाँती राखेर कांग्रेसले आफ्नै मार्गचित्र बनाउन आवश्यक छ । कांग्रेसको कार्यनीति आगामी चुनावको तयारी हुनुपर्छ र अबको दिशा बहुमतसहितको एकल सरकार बनाउने हुनुपर्छ । तर, आशंका छ–यस्तो होला, नहोला ।





























