बिर्तामोड ।

राजयोगद्वारा मनको शान्ति विषयक तीन दिवसीय प्रशिक्षण आइतवारबाट भर्चुअल रुपमा शुरु भएको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडको आयोजनामा शुरु भएको प्रशिक्षणमा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्मकुमार विजयराज सिग्देलले प्रशिक्षण दिइरहेका छन् । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक एकराज गिरीको प्रमुख आतिथ्यमा शुरु भएको प्रशिक्षणमा पहिलो दिन तीन सय जनाभन्दा बढीले सहभागिता जनाएका छन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी पूर्वाञ्चल प्रमुख ब्रह्माकुमारी पूर्णिमा दिदीले स्वागतसहित सजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि गिरी र विशिष्ठ अतिथि सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौलाले शुभकामना मन्तव्य राखेका थिए । प्रशिक्षक सिग्देलले राजयोग पद्धतिको माध्यमबाट सहभागितामूलक ढंगले प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षक सिग्देलले मानिसका सबै समस्या र रोगको एउटै उपचार राजयोग मेडिटेसन भएको बताए । उनले मेडिटेसन अहिले नारामा मात्र सीमित र फेसन भइरहेको भन्दै वास्तविक मेडिटेसन गरेर जीवनमा शान्ति र खुसी प्राप्त गर्न सबैलाई आग्रह गरे ।
कोरोना महामारीको समयमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले मानिसमा तनावबाट मुक्ति, ऊर्जा र हौसला प्रदान, सकारात्मक सोचको विकास, शान्ति र खुशी प्राप्तिका लागि भर्चुअल रुपमा विभिन्न प्रशिक्षण सञ्चालन गरिरहेको छ । वरिष्ठ राजयोग प्रशिक्षक राजु घले, सिग्देल लगायतले त्यस्ता प्रशिक्षणमा प्रशिक्षण दिइरहेका छन् ।































