मेचीनगर ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नगरमा भएको नदिजन्य पदार्थका तस्करहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
पहुँच र पावरको दुरुपयोग गर्दै नदिजन्य पदार्थ उत्खनन गरी करोडौं राजस्व छली गरेको , फर्जी बिल बनाएको र जिम्मेवार ब्यक्तिहरू नै यसमा संलग्न रहेको कुरा बाहिरिँदा समेत सम्बन्धित नगरपालिका चुपचाप बसेको भन्दै यस घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी जनताको माझमा रहेर जनताको भावना अनुरूप काम गर्दै अगाडि बढिरहेको कुरा झापाली जनतामा जगजाहेर रहेको बताउँदै कानुन विपरीत काम गर्ने जो कोहिलाई कारबाही गर्दै आएको कुरा आम जनतामाझ छर्लङ्ग भएको नगर इन्चार्ज जितुले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन्,।
उक्त कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही नगरे नगरका जनताका माझ पार्टीले कारबाही गर्न बाध्य हुने र यसको जिम्मेवार सम्बन्धित निकाय हुने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि सत्यतथ्य छानबिन गर्न भन्दै पाँच राजनीतिक दलले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए।































