पाल्पा ।

अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ ।
डुम्रे खोलामा पानीको बहाव बढेको र माथिबाट खसेको पहिरोले राजमार्गको जगैबाट बगाएको छ । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको खसेको थियो ।
मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्ग मंगलबार बेलुकीदेखि नै अवरुद्ध छ । वर्षा नरोकिएकाले सडक डिभिजन कार्यालयले हेभी इक्विपमेन्ट लगाएर काम गर्न सकेको छैन ।
मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालबाहक सवारी साधन र तीनका चालक अलपत्र छन् । अलपत्र यात्रु हरिबहादुर चौधरी दाङ जाने भएपनि हिजोदेखि राजमार्गमै बसेका छन् । साना ठूला सवारी साधन तराई र तराईबाट पहाड आउन सकेका छैनन् । पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकको हुमीन र चापगैरामा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।
यसैबीच तिनाउ खोलामा बाढीले सतह पार गरेको छ । विगतका वर्षमा बग्ने तिनाउ नदीको सतह यसवर्ष २०३८ साल पछिकै ठूलो बाढी आएको तिनाउ–३, झुम्साका कृष्णप्रसाद पाण्डेयले जानकारी दिए । तिनाउ नदीमा आएको बाढीले दायाँबायाँ भागमा कटान गर्दा खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ ।
पाल्पाकै बाँसटारी, माडी, डुम्रेमा पनि अविरल वर्षासँगै आएको बाढीले खेत कटान र पुरिएको छ । डुम्रे खोलाको छेउका तीन घर कटानबाट उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।
डुम्रे बजार नजिकै खेतमा बाढी पसेको छ भने केही घरहरु जोखिममा रहेको हो । उता, अविरल वर्षाले माडी फाँट पनि डुबानमा परेको छ । ५ सय रोपनी क्षेत्रफलमा बाढीले डुबानमा परेको स्थानीयले जानकारी दिए ।






























