रामप्रसाद ढुंगेल,
युएई-

नेपालमा कोरोनाको फैलावटलाई नियन्त्रण गर्न आर्थिक सहयोग गर्ने उदेश्यले युएईमा श्रमरत नेपाली आदिवासीहरु जुटेका छन् । नेपाली आदिवासी जनजाति महासंघ युएई शाखा (नेफिन) मा आवद्ध १२ संस्थाहरुले करिब २ लाख पचास हजार रुपैयाँ संकलन गरेका हुन् ।
युएईमा संचालित मातृभूमिको लागि संयुक्त राहत सहयोग अभियान अन्तर्गत नेफिन युएईद्वारा सहयोग रकम हस्तान्तरण गरिएको हो । नेपाली राजदुतावास अबुधाबी युएईको संयोजकत्वमा युएईमा स्थापित सक्रिय संघ संस्था, नेपाली समाज युएई तथा नेपाली समाजमा आबद्ध संघ संस्था, वैचारिक संगठन, नेपाली बिजिनेस काउन्सिल, नेफिन युएई , पत्रकार महासंघ, व्यवसायी, सामाजिक व्यक्तित्वहरु लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु एकजुट भएर वर्तमान अवस्थामा विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट कोभिड – १९ को महामारीमा मातृभुमिको सहयोग लागि संयुक्त राहत अभियान चलाइएको हो ।
यो अभियानले नेपालमा कोरोना विरुद्ध भ्याक्सिन खरिद प्रक्रियामा नेपाल सरकारलाई सहयोग जुटाउने कोसिस गरेको बताइएको छ । मातृभुमिको लागि संयुक्त राहत सहयोग अभियानमा युएईमा रहेका आदिवासी जनजातिहरुले पनि उल्लेख रकम संकलन गरी संयुक्त राहत संकलन समितिले चलाएको अभियानमा सहकार्य गर्दै रकम सहयोग गरेका हुन् । आदिवासी जनजातिहरुबाट सहयोग रकम संकलनको लागि नेफिन युएईको संयोजकत्वमा नेफिन युएईका सदस्य संस्थाहरुबाट रकम संकलन गरी नेफिन युएईका अध्यक्ष महेश मोक्तान, उपाध्यक्ष डिबि समर्पण मगर र महासचिव कुमार बलामीले संयुक्तरूपमा नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान लाई ८,१०३/- (आठ हजार एक सय तीन) दिराम, नेपाली २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
संयुक्त राहत सहयोग अभियानमा नेफिन युएईको संयोजकत्वमा नेफिन युएईका सदस्य संस्थाहरुबाट निम्न वमोजिमको सहयोग रकम संकलन गरी हस्तान्तरण गरेको छ ।
नेफिन युएई अध्यक्ष – महेश मोक्तान अध्यक्ष रहेको नेफिन युएईको तर्फबाट १ हजार दिराम जम्मा भएको छ भने उषा गुरुङ अध्यक्ष रहेको तमु समाज युएईबाट १ हजार ३ सय ६५ जम्मा भएको छ ।
शिला राना मगर अध्यक्ष रहेको नेपाल मगर संघ शाखा युएईबाट ५ सय दिराम संकलन गरिएको हो भने सनिल घिसिङको नेतृत्वमा रहेको तामाङ समाज युएईले ३ सय दिराम जम्मा पारेको छ । चन्द्रा साम्पाङ राई अध्यक्ष रहेको किरात राई यायोख्खा शाखा युएईले पनि ३ सय दिराम संकलन गरी बुझाएको छ भने गजबहादुर वनेम अध्यक्ष रहेको किराँत याक्थुङ चुम्लुङ युएईले ३ सय ५० दिराम सहयोग हस्तान्तरण गरेको छ । लक्ष्मण श्रेष्ठको नेतृत्वमा रहेको नेवा:पुच:युएईले ३ सय १ दिराम संकलन गरेको छ भने निमा शेर्पा अध्यक्ष रहेको शेर्पा किदुङ युएईले ५ सय ५५ दिराम जुटाएको देखिन्छ ।
खोरबहादुर महतो अध्यक्ष रहेको थारु कल्याणकारिणी सभा युएईले यो अभियानमा दुई हजार दुई सय २१ दिराम संकलन गर्न सफल भएको छ । यसैगरी रन्जन भुजेल अध्यक्ष रहेको प्रवासी भुजेल सेवा समिति युएईले २ सय १ दिराम हस्तान्तरण गरेको छ । नरबहादुर सुनुवार अध्यक्ष रहेको सुनुवार सेवा समाज युएईले यो अभियानमा ५ सय ५ दिराम जम्मा गरिसकेको छ भने दिपक थापा मगर अध्यक्ष रहेको नेफिन युवा महासंघ युएईले पनि ५ सय ५ दिराम जम्मा गरिसकेको छ ।
संयुक्त राहत सहयोग संकलन समितीले चलाएको सहयोग अभियान अन्तिम चरणमा पुगेको जानकारी गराउदै सहयोग र सहभागिताको लागि युएईमा रहेका सम्पुर्ण नेपालीको एकता एक उदाहरण बनेको नेफिन युएईका महासचिव तथा नेवा:पुच: युएईका महासचिव कुमार बलामीले बताउनु भएको छ ।






























