विमल दहाल, माई ईलाम ।
नेपाल सरकार र स्वीस सरकार विकास सहयोगको साझेदारीमा सन्चालित साना सिंचाई कार्यक्रम अन्तरगत माई नगरपालिका मार्फत कार्यान्वयन हुने सिँचाई योजनाको बुधबार द्विपक्षीय संझौता भएको छ ।
माईका मेयर दिपक कुमार थेवेको उपस्थितिमा प्रमुख प्रशासकिय अधिकृत विष्णु कुमार थेगुवा र कार्यक्रम व्यवस्थापन तथा कार्यन्वयन सहयोग परामर्शदाता साना सिंचाई कार्यक्रम फिक्कल कलष्टरका संयोजक केशब लामा बिच संझौता पत्रमा हस्ताक्षर भएको हो । संझौता-पत्र अन्तरगत ३ वटा सिँचाई योजना निर्माणका लागि १ करोड ९० लाख ८ हजार रुपैयाँ बराबरको कार्यक्रम कार्यान्वयनका लागि खर्च गरिने छ ।
संझौता अन्तरगत माई-२ र ३ बिचको ३५ हेक्टर क्षेत्रफलमा सिंचाई हुने गरि लोदिया माई सिचांई योजनाका लागि ९२ लाख ७५ हजार, माई-५ को १४ हेक्टर सिंचाई हुने गरि टाङटिङ्ग मुहान कुम्बीटार साठ्ठीमुरे योजनाका लागि ३७ लाख १० हजार र माई -७ को २३ हेक्टर क्षेत्रफलमा सिंचाई हुने गरि माईखोला तमाखे सिंचाई योजनाका लागि ६० लाख ९५ हजार रुपैयाँ विन्योजन गरिएको माईका मेयर दिपक कुमार थेबेले जानकारी दिनुभयो ।
कार्यक्रम कार्यान्वयनका लागि स्वीस सरकार र नेपाल सरकार बिच भएको द्विपक्षीय संझौता, कार्यक्रम ब्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाता र १ नम्बर प्रदेश सरकार संग भएको समझदारी पत्र अनुसार जल उपभोक्ता संस्थाको १० प्रतिशत, स्थानीय, प्रदेश र संघिय सरकारको २०-२० प्रतिशत र स्वीस सरकारको ३० प्रतिशत लागत साझेदारी रहने छ ।






























