भूराजनिती प्रभावका कारण राष्ट्रिय स्वाधीनता गुम्ने खतरा : नेता डा. भट्टराई

0
747

युद्धबहादुर बोहोरा,
पाँचथर :

भूराजनिती प्रभावका कारण देशको स्वाधीनता गुम्ने खतरा बढेको जनता समाजवादी पार्टी,नेपालका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बताएका छन् ।

उत्तर,दक्षिण र पश्चिमी मुलुकहरुले नेपालका राजनीति दल टुटफुट भए देशमा अस्थिरता पैदा हुन्छ र आफ्नो प्रभुत्व जमाउन पाइन्छ भन्ने दाउपेजना लागिरहेको बेला वर्तमान नेपालको राजनीतिको गति त्यही दिशातिर उन्मुख भएका कारण देशको स्वाधीनता गुम्ने डर भएको दावी गरेका छन् ।

जसपा,लिम्बूवान राष्ट्रिय समितिले आयोजना गरेको “वर्तमान नेपाली राजनीतिमा भूराजनिती प्रभाव र बैकल्पिक शक्ति निर्माणको बाटो ” बिषयमा अन्तरक्रियात्मक छलफलका प्रमुख अतिथि भट्टराईले जुम प्रविधिमा जोडिएर शनिबार सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको मिलेमतोमा संविधानको खिल्ली उडाउँदै पटकपटक संसद विघटन लगायतका गतिविधिले विदेशी शक्तिलाई मलजल पुगेको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीको प्रतिगमन शैलीले नेपाल भूराजनिती प्रभावको चपेटामा फस्दै गएको र जसपाका केहि नेताहरु त्यसैको गोटी बनेको उनको भनाइ छ ।
राष्ट्रिय स्वाधीनता दीगो नभएसम्म समाजवाद सहितको विकास समृद्धिको सपना पूरा नहुने बताउँदै आगामी दिनमा प्रतिगामी शक्तिहरुको प्रतिवाद गर्न अग्रगामी शक्तिहरु एकजुट नभए अहिलेसम्म जनताले प्राप्त गरेको उपलब्धिमा तुषारपात निश्चित छ तसर्थ बेलैमा सोच्न सवैलाई आग्रह गरेका छन् ।

शक्तिशाली राष्ट्रहरुको शीतयुद्धका कारण अल्पविकसित राष्ट्रहरु मारमा पर्दै गएको परिस्थितिमा सबै मुलुकसंग सन्तुलित कूटनीति सम्बन्ध राख्न ओली सरकार असफल भएको उनको दावी छ ।
पुराना शक्तिहरुको घेराबन्दीले पहिलो संविधानसभाको अवसान भएको र दोस्रो पल्ट पनि उनीहरुले सृजना गरेको बाध्यत्मक परिस्थितिमा ठुलो रापतापले प्राप्त आधा गिलास भरिएको र आधा गिलास खाली भएको संविधान स्विकार्नु परेको उनले बताए ।

आगामी दिनमा बैकल्पिक शक्ति निर्माण गर्न सडक,सदन र सरकारका तीन वटै मोर्चाबाट संघर्ष गर्दै पहिचान पक्षधरहरुको प्याकेजको माग पुरा गराउने पार्टीको लक्ष्य रहेको बताए ।
बैकल्पिक शक्ति निर्माण गर्दै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने,संघीय पुनर्संरचनालाई पूर्णता दिने,संघीयता बलियो बनाउने,शाककिय स्वरुप सच्याउने लगायतका कदमहरु पार्टीको मुख्य मुद्दा रहेको जानकारी गराए ।

उक्त छलफलमा पार्टीका विभिन्न संगठनका नेता तथा कार्यकर्ता हङकङ,दक्षिण कोरिया,मलेसिया,जापान,अमेरिका लगायतबाट प्रविधिमा जोडिएको पार्टी केन्द्रिय सदस्य जेन्टल लावतीले जानकारी दिए ।
राष्ट्रिय समितिले सकेसम्म हप्ताको प्रत्येक शनिबार पार्टीका जिम्मेवार नेताहरुद्वारा जुम प्रविधि मार्फत प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम संचालन गर्ने कोशिश गरिरहेको केन्द्रिय सदस्य तथा लिम्बूवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here