अमित खम्बू,
विन्दुली ।

व्यवसायिक कृषिको माध्यमबाट सधैं बाढीको उच्च जोखिममा रहेको झापाको बुद्धशान्ति गाँउपालिका–२स्थित विन्दुली क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउने उद्धेश्यले स्थानीय युवाहरु जुटेका छन् ।
विभिन्न पेशा र व्यवसायमा आवद्ध रहेका छ जना युवा जीवन आचार्य, पंकज भट्टराई, भूपाल लम्जेल, शिशिर श्रेष्ठ, सन्दिप श्रेष्ठ र सुजन भण्डारी “सुजन भान्जा”ले बुद्धशान्ति एग्रीकल्चर एण्ड रिसर्च सेन्टर दर्ता गरि उक्त क्षेत्रमा कृषिको कार्यक्रम सुरु गरेका हुन् ।

सेन्टरको तीन विगाहा र एक विगाहा लिज गरी जम्मा चार विगाहामा कृषि कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य लिएको उनीहरुले शनिबार एक कार्यक्रमको आयोजना गरि पाँच सय ५० वटा आँप र लिचीको बिरुवा रोपेको सल्लाहकार रविन्द्र श्रेष्ठले जानकारी दिए । उनको अनुसार जम्मा रोपिएको बिरुवामध्ये तीन सय २० वटा आम्रपाली, बम्बे र माल्दा प्रजातीको आँपको र दुई सय ३० वटा सिरलेस प्रजातीको लिचीको रहेको छ ।

सञ्चालक सन्दिप श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गाँउपालिकाका अध्यक्ष रमेशकुमार भूजेल र विशेष अतिथि उपाध्यक्ष मीरा भूर्तेलले संयुक्तरुपमा आँपको विरुवा रोपेर गरेका थिए । प्रारम्भिक लगानी १८ लाख रुपैयाँ रहेको त्यस कार्यक्रममार्फत् हाल २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको सञ्चालक भण्डारीले जानकारी दिए ।
सेन्टरले आगामी दिनमा फलफूलमा ड्रागन फ्रुटसँगै बंगुर, बाख्रा, माछा, लोकल कुखुरा र कालिजको पनि व्यवसायिक पालन सुरु गर्ने योजना रहेको सञ्चालकमध्येका शिशिर श्रेष्ठले बताए ।
स्थानीय युवाहरु मिलेर सामूहिकरुपमा सञ्चालन सुरु गरेको उक्त कार्यक्रमको प्रशंसा गर्दै त्यसको निरन्तरताको लागि आफूहरुले पनि सकेको प्रयास गर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् । त्यसैगरी बुद्धशान्ति–२का वडाध्यक्ष दिलीप श्रेष्ठले उक्त कार्यक्रमको लागि वडा समितिकोतर्फबाट ५० हजार देखि एक लाख रुपैयाँ सम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बुद्धशान्ति–३का वडाध्यक्ष कमल उप्रेती, सशस्त्र प्रहरी बलका डीएसपी बालकृष्ण श्रेष्ठ, काजी श्रेष्ठ, देवीध्वज योञ्जनलगायतको आतिथ्यता रहेको थियो । सञ्चालक भण्डारीले स्वागत र देवेन्द्र भण्डारीले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सञ्चालक भट्टराईले गरेका थिए ।




























