जुम्ल्याहा बालिकासहित आमालाई युएईबाट उद्वार

0
791

रामप्रसाद ढुंगेल,
युएई:

युएईमा अलपत्र परेकी एक नेपाली महिला र उनका जुम्ल्याहा छोरीहरुलाई एनआरएनए युएईले उद्वार गरेको छ । सिन्धुपाल्चोक हेलम्बुकी लामा थरकी एक महिला गत फेब्रुअरीमामा नेपालबाट आएपछि युएईमा लकडाउन भएको र कागजपत्र नपुगेको कारण युएईमा अवैधानिक भएर बस्नुपरेको थियो ।

अलपत्र अवस्थामा रहेकी ती महिलालाई विगत आठ महिनादेखि एनआरएनए युएईले खान र बस्ने सुविधा उपलब्ध गराएको थियो । डिलक्स एचआर सोलुसन प्रालिबाट युएईको सारजहाँस्थित नेस्टो हाइपर मार्केटमा काम गर्न गएकी नेपाली महिला श्रमिक लामा र उनका जुम्ल्याहा बच्चा गत वर्ष अगस्टबाट अलपत्र थिए ।

लामाको भिसाको म्याद सन् २०२० अगस्ट २७ मा सकिएको थियो। भिसाको म्याद सकिएको २८ दिनभित्र युएई छाड्नुपर्ने भए पनि कागजी प्रक्रियाका कारण रोकिनुपर्दा उनको जरिवाना शुल्कसमेत दिनहुँ बढिरहेको एनआरएनएले जनाएको छ ।

एनआरएनएका अनुसार गत वर्ष फेब्रुअरी ८ मा सारजा पुगेकी लामाले अगस्ट २९ मा दुबई अस्पतालमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । सामान्य श्रम गर्ने उनलाई अस्पतालको खर्च बेहोर्न असम्भव थियो । आवश्यक कागजपत्र नहुँदा उनका जुम्ल्याहा बच्चालाई पनि अस्पतालले डिस्चार्ज गर्न नमान्दा तीन महिनासम्म बच्चा अस्पताल र सुत्केरी आफन्तको डेरामा बस्नुपरेको थियो ।

यसबारे एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले जानकारी पाउनासाथ २०२० नोभेम्बरबाट ती सुत्केरी र जुम्ल्याहा बच्चाको खाना तथा बास र अन्य आवश्यक प्रबन्ध एनआरएनए युएईले मिलाएको थियो ।

त्यसपछि एनआरएनए युएई एवं राहत तथा उद्धार कार्यक्रम टिमको समन्वयमा अस्पतालमा सुत्केरी हुँदाको खर्च ५० हजार दिराम युएई सरकार र दुबईको स्वास्थ्य निकायको सहयोगमा मिनाहा गरिएको थियो ।

एनआरएनएका अनुसार बच्चाका बाबुको पासपोर्ट, नागरिकता र विवाह दर्ता प्रमाणपत्रसमेत नभएकाले बच्चाहरूको जन्मदर्ता र पासपोर्ट बनाउन समस्या भएको थियो । एनआरएन एनसिसी युएईको पहलमा नेपालबाट आबस्यक कागज प्रकृया पुरा गरी मगाईएको थियो ।

कागजी प्रक्रिया पूरा गरेर असार १४ गते सोमबार निज आमा र जुम्ल्याहा बालिकहरु नेपाल एयरलाइन्समार्फत नेपाल फर्किएका छन् । एनआरएनको राहत तथा उद्धार कार्यक्रमका टिम कोअर्डिनेटर प्रविण पोखरेल र केन्द्रीय उपाध्यक्ष डा. केसीको पहलमा आमा र बच्चालाई नेपाल फर्काउने आठ महिनादेखिको प्रयासले सफलता पाएकोमा सहयोग गर्ने सबैलाई एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निराजन सिलवालले आभार प्रकट गरेका छन् ।

गैरआवासीय नेपाली संघ राहत तथा उद्दार कार्यक्रम नेपालका प्रोग्राम म्यानेजर राजेन्द्रकुमार राउतले यो सम्पुर्ण ब्यबस्थापनमा सहजीकरण गरेका हुन् । एनआरएनएले अहिले पनि युएईमा अलपत्र धेरैलाई खान, बस्न र नेपाल फर्काउन नि:शुल्क हवाई टिकट दिने कामहरु निरन्तर गरिरहेको छ । युएईको कुनै पनि राज्यमा समस्यामा परेको अवस्थामा आफ्नो सम्पर्कमा आउन सबैलाई अनुरोध गरेको छ ।

यसअघि युएईमा विविध समस्याले ग्रस्त ३५ जना नेपालीहरुलाई एनआरएनए युएईले नि:शुल्क हवाई टिकट, नि:शुल्क पिसिआर परिक्षण गरी गत २३ जूनमा नेपाल फर्किसकेका छन् । यसरी उद्वार गरेका सबैलाई काठमाडौंबाट आआफ्नो जिल्लामा जाने बसभाडा समेत उपलब्ध गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here