मृतक संख्या घटे पनि जाेखिम कायमै

0
825

काठमाडौं।

नेपालमा कोरोनाभाइरस कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या शनिबार २० भन्दा तल झरेको छ । ६२ दिनपछि शनिबार १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार यो करिब दुई महिनापछिको तथ्याङ्क हो ।

यसभन्दा अगाडि मे २ मा यो रेकर्ड गरिएको थियो । उहाँले मे २ मा कोभिडका कारण १४ जनाको मृत्यु भएको थियो । जेठ महिनाको शुरुवातमा कोरोना सङक्रमणबाट दैनिक मृत्यु हुनेको सङ्ख्या दुई सयभन्दा बढी थियो भने असार पहिलो सातामा ५० भन्दा कम र दोस्रो सातासम्म आइपुग्दा २० भन्दा कम देखिएको छ । कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा खुकुलो भएपछि कोभिड–१९ सङ्क्रमण दर र मृत्यु दरमा कमी देखिएको छ ।

पछिल्लो साता दैनिक ३० देखि ४० जनासम्मको मृत्यु हुने गरेको थियो । निषेधाज्ञा खुकुलो भएपछि दैनिक कोभिड पोजेटिभ प्रतिशत २१ देखि २६ सम्म देखिएको छ । यसअघि यो प्रतिशत न्यूनतम १८।६ देखि अधिकतम २४।९५ सम्म देखिएको थियो । स्वास्थ्य मन्त्रालयको शनिबारको तथ्याङ्क हेर्ने हो भने १० हजार १३३ जनामा कोरोना परीक्षण गर्दा दुई हजार ३२८ जना सङ्क्रमित भएका थिए । त्यस्तै तीन हजार ६६ जना निको भएका थिए भने १९ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै शुक्रबार कोरोना सङ्क्रमणबाट ३४ जनाले, बिहीबार ३३ जनाले, बुधबार ४१ जनाले, मंगलबार २० जनाले, सोमबार ४२ जानाले र आइतबार ३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा लागू गरिएको थियो । त्यसको करिब दुई महिनामा सङ्क्रमण र मृत्युदरमा कमी आउन थालिएको छ भने सङ्क्रमण मुक्त हुनेको सङ्ख्या बढेको छ ।-गोरखापत्र अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here