युवा माझ लोकप्रिय मदन

0
582

युवा माझ लोकप्रिय नाम हो– मदन बुढाथोकी । हरेक क्षेत्रमा समस्या पर्दा होस् या कुनै खुशीयाली मनाउँदा होस् उनी पुग्ने गरेका छन् । झापाको बिर्तामोड–३ बिर्ताबजारमा २०४० साल भदौ २८ गते आमा शान्ता र बुबा छत्रबहादुर बुढाथोकीको सुपुत्रको रुपमा जन्मिएका मदन सानैदेखि सामाजिक काममा अग्रसर थिए । अहिले नेपाल राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति झापाको अध्यक्ष रहेका उनी जिल्लाका १८–४० वर्ष उमेर समूहका युवाहरुलाई स्वदेशमै उद्यमी बनाउने उद्देश्यका साथ लागेका छन् ।

आमा–बुबा पनि राजनीतिमा चासो दिने भएकाले सानैदेखि उनले पनि राजनीतिलाई चासो दिए । स्नातक तहसम्म अध्ययन गरेका उनले विद्यालय तहबाटै राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । विद्यार्थी राजनीतिलाई अघि बढाउने क्रममा उनले बिर्तामोडस्थित कनकाई कलेजमा अखिलको अध्यक्षको जम्मेवारी समेत निर्वाह गरेका थिए । विद्यार्थीका हकहितका विषयमा सधैँ आवाज बुलन्द गर्ने मदनलाई सर्वसम्मत रुपमा अध्यक्ष हुन आग्रह गरिएपछि उनले विद्यार्थी नेताको रुपमा नेतृत्व लिएका थिए ।

देशलाई अघि बढाउन राजनीतिको महत्वपूर्ण भूमिका हुने भन्दै उनले अब युवाहरुले नेतृृत्व लिन अग्रसर हुनुपर्ने विचार राख्दै आएका छन् । राजनीतिसँगै सामाजिक काममा समेत अग्रमोर्चामा रहेका मदनले नेचर कलर भन्ने संस्थाको समेत नेतृत्व लिएका थिए । नेचरको कलरहरु जोगाऔं भन्ने नाराका साथ उनले प्रत्येक शनिबार बिर्तामोड सरसफाई अघि बढाएका थिए । आफ्नो नागर आफैं सफा राख्नुपर्छ भन्ने उद्देश्यका साथ हातमा झाडु बोकेर सडकमा निस्कँदा उनलाई धेरै युवाहरुले साथ दिएका थिए भने ट्राफिक प्रहरीले पनि उनको अभियानमा हातेमालो गरेको थियो ।

मध्यम वर्गीय परिवारमा जन्मिएका मदन स्नातक तहको अध्ययन पूरा गरेपछि विदेशिन बाध्य भए । अध्ययन तथा रोजगारीको शिलशिलामा जापानमा पुगेका मदनले सोही ठाउँबाट समेत सामाजिक काम गर्नेलाई आर्थिक सहयोग गर्दै सामाजिक कामलाई अघि बढाई रहे । विदेशबाट नेपाल फर्किए लगत्तै एनु कार्कीसँग वैवाहिक जीवनमा बाँधिएका मदनका दुई छोरा र छोरी रहेका छन् । विदेशमा हँुदा नेपाल प्रतिको माया र सद्भावले उनलाई राजनीतिक क्षेत्रमा सुधार गर्दै नेपाललाई पनि आर्थिकरुपमा सवल बनाउन लाग्नतर्फ प्रेरित ग¥यो ।

नेपाल फर्किएपछि उनले युवा संघको वडाध्यक्ष, बिर्तामोड नगर कमिटी युवासंघको अध्यक्षको जिम्मेवारी सम्हाले । उनलाई युवा संघका अन्य साथीहरुले साथ दिएका थिए । नगर अध्यक्ष भएपछि उनले बिर्तामोडका हरेक समस्यामा युवा संघलाई अघि बढाए । रगत अभाव हुँदा रक्तदान, विपद्मा युवाको साथ लगायतका क्षेत्रमा अघि बढाउँदै सामाजिक काममा अघि बढी रहे । उनले नेकपा एमाले पार्टीमा समेत रहेर काम गर्दै आएका छन् ।

हाल नेपाल राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति झापाको अध्यक्ष रहेका मदनले नेतृत्व सम्हाले लगत्तै कोरोना संक्रमणको दोस्रो लहरमा खट्नुप¥यो । उनले जिल्लाका विभिन्न स्थानमा सहयोग समेत गरेका छन् । निःशुल्क स्वास्थ्य उपचार, पोषिलो खानेकुरा वितरण, सचेतनामूलक कार्यक्रम, सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण लगायतका काम गरिरहेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका सचिव समेत रहेका उनले संघको तर्फबाट एकका लागि एक अभियानलाई २० वटा अक्सिजन सिलिण्डर, नेकपा एमाले नगर कमिटीको तर्फबाट बिर्तामोड नगर अस्पताललाई ५० वटा सिलिण्डर वितरण गरे ।

हरेक अभियान तथा सामाजिक काममा अग्रसर रहेका मदनलाई सबै पार्टीका नेता तथा युवाहरुले एक असल व्यक्तिको रुपमा चित्रण गर्ने गरेका छन् । उनले यो या त्यो पार्टी, आफ्नो र पराई नछुट्याई सबैलाई समान व्यवहार गर्ने गरेका छन् । युवाहरुलाई अध्ययनसँगै व्यवसायी हुँदा सामाजिक काममा अग्रसर गराउँदै राजनीतिमा प्रवेश गराएर नेतृत्व लिन उत्प्रेरित गरिरहने मदन कुलतबाट युवाहरुलाई जोगाउने अभियानमा लागेका छन् ।

युवा परिषद्को नेतृत्व लिएसँगै उनले हाल झापाका सबै स्थानीय तहले युवाका लागि के–के काम भइरहेको छ भन्ने विषयमा चासो दिएका छन् । उनले स्थानीय तहसँगको सहकार्यमा युवा लक्षित कार्यक्रमलाई अघि बढाउँदै युवाहरुलाई उद्यमी बन्न प्रेरित गरिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here