सुमन पुरी,
झापा।

नेपाली कांग्रेस केन्द्रीय समितिमा क्रियाशील सदस्यता वितरणको विवाद सुल्झन सकेको छैन ।
कसलाई क्रियाशील दिने कसलाई नदिने भन्ने विवादले केन्द्रीय समिति र नेताहरू विभक्त छन् । यसको असर प्रदेश, जिल्ला र स्थानीय तहसम्म नै छ । तर, विवाद भए पनि प्रदेशमा कांग्रेस महाधिवेशनको सरगर्मी बढ्न थालेको छ । आगामी नेतृत्वमा पुग्ने आकांक्षासहित जिल्ला र स्थानीय तहमा काङ्ग्रेस नेताहरूले उम्मेदवारी घोषणा गरिसकेका छन् । नेतृत्वमा पुग्ने तीव्र आकांक्षासहित कांग्रेस नेताहरूको विभिन्न पदमा उम्मेदवारी घोषणासँगै स्थानीय तहसम्मै गुटहरू बनेका छन् ।
नेता तथा कार्यकर्ताको पुरानो गुटसँगै नयाँ गुटको समेत निर्माण हुँदा कांग्रेस महाधिवेशनको चटारो वडा तहसम्मै पुगेको छ । मध्यबर्खामा किसानहरू खेतीमा लागेका छन्, तर कांग्रेस नेता तथा कार्यकर्तालाई आ–आफ्ना गुटतर्फ आकर्षित गर्न कार्यकर्ताको खेत खलियानमै पुग्न थालेका छन् ।
यसले लामो समयदेखि चलायमान हुन नसकेको नेपाली कांग्रेस अहिले भने चलायमान देखिन्छ । केन्द्रमा देखिएको गुटगत राजनीतिको प्रभाव वडा तहसम्म देखिँदा आन्तरिक भेटघाट र छलफलमा कांग्रेसीहरू जुटेका छन् ।
प्रदेशमा दुई कोइराला
कांग्रेस प्रदेश–१को सभापति पदमा वाशु कोइराला र राजिव कोइरालाले तयारी थालेका छन् । दुई कोइरालासँगै कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, उद्धव थापा समेत प्रदेश सभापतिका आकांक्षी देखिएका छन् ।
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजिव कोइरालाले महाधिवेशन लागेको बताए । उनले प्रदेश सभापतिमा आफू पनि आकांक्षी रहेको बताए । लामो समय सुनसरी सभापतिका रूपमा काम गरेका कोइराला सबै पक्षलाई मिलाएर लैजान सक्ने नेताका रूपमा चिनिन्छन् । उनी देउवा इतरको खेमामा छन् । उनले भने– ‘हामी सबै मिलाएर जाने पक्षमा छौं । कांग्रेसलाई प्रदेशभरि हाँक्न सक्ने नेताको आवश्यकता छ । म यो जिम्मेवारी लिन तयार छु ।’
यसै गरी नेपाल बिद्यार्थी संघमा लामो समयसम्म काम गरेका युवा नेता वाशु कोइरालाले प्रदेश सभापतिमा उम्मेदवारी दिने भएका छन् । कोइराला नेविसंघको केन्द्रीय उपसभापति, त्रिभुवन विश्वविद्यालय महेन्द्र मोरङ क्याम्पसको स्ववियु सचिव कांग्रेस महासमिति सदस्य भएर काम गरिसकेका नेता हुन् ।
कोइरालाले अघिल्लो कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । यसै गरी नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू पनि प्रदेश सभापतिको आकांक्षीका रूपमा देखिएका छन् । तर, उनले जिल्ला सभापति दोहो¥याउन सक्ने कांग्रेस नेताहरू बताउँछन् । उनले अहिले क्रियाशील विवाद मिलाउने काममा लागेको र यो टुंगिएसँगै उम्मेदवारीका विषयमा कुरा गर्ने बताए । लिम्बूले आवश्यकता हेरेर साथीभाइसँगको सल्लाहमा आफ्नो उम्मेदवारी घोषणा हुने बताए । झापाका कांग्रेसका वर्तमान सभापति उद्धव थापा पनि प्रदेश सभापतिको आकांक्षीका रूपमा देखा परेका छन् ।
मोरङमा आकांक्षी नै आकांक्षी
नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिक आउँदै गर्दा मोरङ जिल्लामा सभापतिको आकांक्षी धेरै देखिएका छन् । प्रदेशको राजधानी मात्रै नभएर कोइराला परिवारको राजनीतिक पृष्ठभूमिका कारण पनि मोरङमा कांग्रेसको सभापति हुनुमा ठूलो अर्थ राख्छ ।
यसैले आसन्न अधिवेशनमा मोरङ कांग्रेसको नेतृत्वमा पुग्न नेताहरूले दौडधुप गरिरहेका छन् । उनीहरू आफू निकटका नेता तथा कार्यकर्ताहरूलाई मिलाउन मात्रै लागेका छैनन् केन्द्रीय नेतासँग लाइन मिलाउन समेत जुटेका देखिन्छन् ।
मोरङ कांग्रेसको सभापति बन्न धेरैले आकांक्षा राखे पनि वर्तमान सभापति डिकबहादुर लिम्बू, सचिव नागेश कोइराला, कांग्रेस प्रदेशसभाका सचेतक केदार कार्की र यदु विष्टको चर्चा र तयारी बढी देखिन्छ । यो बाहेक कांग्रेसका पुराना नेता गोपालराज भण्डारी समेत सभापतिको आकांक्षी छन् । उनी अघिल्लो अधिवेशनमा डिकबहादुर लिम्बूसँग सभापतिमा पराजित भएका थिए ।
यसपटकको अधिवेशनबाट पनि लिम्बूले आफूलाई सभापतिको दाबेदारका रूपमा अगाडि सारिरहेका छन् । मोरङमा यो पटक १४ हजार ५ सय नयाँ क्रियाशील सदस्य थपिनेछन् । पुराना १६ हजार २ सय ५५ गरी अब कुल क्रियाशील सदस्यको संख्या ३० हजार पुग्नेछ ।
यसअघि पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट चुनाव जितेका लिम्बू यसपटक भने देउवा इतर पक्षमा लागेको बताइन्छ । तर, लिम्बूले आफू गुटमा भन्दा पनि कांग्रेसमा विश्वास गर्ने बताएका छन् । लिम्बू २०७० दोस्रो संविधानसभामा मोरङ क्षेत्र नम्बर ९बाट निर्वाचित सदस्य हुन् ।
वर्तमान कांग्रेस मोरङका सचिव नागेश कोइराला पनि सभापतिका आकांक्षी हुन् । उनी कोइराला परिवारका सदस्य समेत भएकाले उनी पनि बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् । मोरङ कांग्रेसमा कोइराला परिवारको प्रभाव बलियो रहेकाले पनि नागेशलाई बलियो प्रतिस्पर्धीका रूपमा लिइन्छ ।
यस्तै विद्यार्थी राजनीतिबाट आएका १ नम्बर प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका केदार कार्की पनि जिल्ला सभापतिको दौडमा छन् । उनी पनि अघिल्लो अधिवेशनमा सभापतिमा पराजित भएका थिए । लिम्बू, कार्की, कोइराला र भण्डारी देउवा इतर प्यानलका नेता हुन् । अन्तिम समयमा आफ्नो समूहबाट एकै जना उम्मेदवार बन्ने सो समूहका नेता नागेश कोइराला बताउँछन् ।
‘हामी क्रियाशील सदस्यताको टुंगो लगाउन लागिरहेका छौं, यसपछि आफ्नो समूहमा छलफल गरेर एउटै उम्मेदवारको टुंगो लगाउँछौं’– कोइरालाले भने– ‘म पनि सभापतिको लाइनमा छु ।’ यस्तै निरञ्जनप्रसाद रिजाल पनि सभापतिका रूपमा चर्चामा छन् । उनी नेपाली कांग्रेसको पुराना नेता पनि हुन् ।
यता, पार्टी सभापति शेरबहादुर देउवा लाइनबाट दिलीप गच्छदार र रमेशजंग रायमाझी मोरङ सभापति बन्ने दाउमा छन् । गच्छदारलाई फोरम लोकतान्त्रिकबाट कांग्रेसमा मिसिएका बिजयकुमार गच्छदारको खास मान्छेका रूपमा लिइन्छ । गच्छदार पनि २०७० सालको संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३बाट प्रत्यक्ष निर्वाचित भएका थिए । यस्तै हाल राष्ट्रियसभा सदस्य रहेका रमेशजंग रायमाझी पनि देउवा लाइनबाट जिल्ला सभापतिको दौडमा रहेका छन् ।
जिल्लामा देउवाको पक्षमा खरो उत्रने रायमाझी ०३६ सालदेखि कांग्रेसमा लागेका नेता हुन् । मोरङ कांग्रेसको राजनीतिमा कोइराला खेमाको बर्चस्व रहेको चर्चा हुने गरेको छ । कोइराला परिवारका नेताहरू शेखर कोइराला, शशांक कोइराला, मीनेन्द्र रिजाल, महेश आचार्यको प्रभाव मोरङमा छ । यो बाहेक मोरङ कांग्रेसमा अमृत अर्याललाई पनि अर्का खेलाडीका रूपमा लिइन्छ ।
मोरङको कांग्रेस सभापतिको चर्चामा रहेका अर्का दुई व्यक्तित्व हुन्, कांग्रेस मोरङका पूर्वसचिव मदन संग्रौला र यदु विष्ट । उमेदवारका रूपमा चर्चामा उनीहरू सबैले चुनावी अभियानलाई तीव्रता पनि दिइरहेका छन् ।
प्रदेश १का प्रदेश सभा सचेतक केदार कार्कीले आफूहरू मिलेर एक जना उम्मेदवार छान्ने तयारीमा रहेको बताए । उनले इच्छा आकांक्षा राखेर मात्रै पनि नहुने भन्दै परिस्थिति अनुसार सामूहिक निर्णय गरेर असल उम्मेदवार बनाउने बताए । उनले भने– केन्द्रको समीकरण पनि मोरङमा प्रभाव पार्छ । केन्द्रमा शेखर कोइरालालाई सभापतिमा जिताउन म जुनसुकै ‘सेक्रिफाइस’ गर्न तयार छु– कार्कीले भने ।
सुनसरीमा तीन आकांक्षी
सुनसरीको सभापति बन्नका लागि अहिलेसम्म तीन जना नेताहरूले आकांक्षा देखाउँदै तयारी थालेका छन् । अहिलेका पार्टी सचिव केदार भण्डारी, फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएका प्रदीप चौधरी र उपसभापति सञ्जय श्रेष्ठ सभापतिका मुख्य आकांक्षी देखिएका छन् ।
भण्डारी देउवा इतरका नेता हुन् भने श्रेष्ठलाई देउवा निकट नेताका रूपमा चिनिन्छ । यस्तै प्रदीप चौधरीलाई भने विजय गच्छदारका खास मानिसका रूपमा लिइन्छ । सुनसरीमा देउवा र देउवा इतर लाइनसँगै विजय गच्छदारको समेत प्रभाव छ । तर, सुनसरी जिल्लामा २८ हजार सक्रिय सदस्यको अन्तिम नामावली कांग्रेसको केन्द्रीय कार्यालय पुगेको छ । दुई आकांक्षीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
दुई कार्यकाल जिल्ला सचिव भइसकेका अधिवक्ता समेत रहेका केदार भण्डारी र जिल्ला उपसभापति सञ्जय श्रेष्ठले जिल्ला सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । चौधरीले भने अहिलेसम्म उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।
सभापतिका उम्मेदवार भण्डारी भन्छन्– ‘नेपाली कांग्रेस सुनसरीको संगठनलाई अझ सशक्त बनाएर लैजानेछु ।’ प्रजातन्त्र सुदृढीकरणका लागि अभियान चलाउँदै कांग्रेसलाई सुनसरीमा सशक्त बनाउन आफ्नो भूमिका हुने उनी बताउँछन् । अहिले कार्यकर्ताहरूसँग भेटघाट छलफलको काम भइरहेको भण्डारीको भनाइ छ ।
अर्का सभापतिको उम्मेदवार सञ्जय श्रेष्ठले पनि चुनावी अभियानमा आफू होमिएको बताएका छन् । कोरोना भाइरसका कारण कार्यकर्ताहरू एकल–एकल भेट्ने गरेको उनको भनाइ छ । आफू सभापति बने कांग्रेसलाई थप बलियो बनाउँदै लैजान्छु– श्रेष्ठले थपे ।
झापामा त्रिपक्षीय भिडन्त
कांग्रेस झापामा भने त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्म सभापति बन्ने आकांक्षी हेर्दा देउवा, कोइराला, पौडेल र कृष्ण सिटौला पक्षीय नेताहरूका बीचमा महाधिवेशनमा प्रतिस्पर्धा हुने देखिएको छ ।
झापामा अहिलेसम्म राम कट्टेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी जिल्ला उपसभापतिका रूपमा कार्यरत रहेका छन् । उनलाई कृष्ण सिटौला नजिकका नेताका रूपमा चिनिन्छ । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
कट्टेलसँगै देउमान थेवे समेत झापा कांग्रेसको नेतृत्व लिन आकांक्षीका रूपमा देखिएका छन् । थेवे यस अगाडि उपसभापति भइसकेका छन् भने अहिले महासमिति सदस्य छन् । उनी देउवा निकट नेताका रूपमा चिनिन्छन् । यसै गरी लोकराज ढकाल र राजेन्द्र घिमिरेले समेत सभापति बन्ने आकांक्षा देखाएका छन् । ढकाल कांग्रेस झापाका प्रवक्ता हुन् भने रेडक्रस लगायतका सामाजिक संघ– संस्थामा समेत आबद्ध छन् ।
यसैगरी झापाको नेतृत्वमा सुधिर शिवाकोटी समेत दोहोरिन सक्ने सम्भावना छ । कांग्रेस स्रोतले उनी सर्वसम्मत नेतृत्वमा आउने तयारी गरिरहेको बताएको छ ।
झापा कांग्रेसका पूर्व सभापति तथा संविधान सभाका सदस्य शिवाकोटी धेरै आकांक्षी भए मिलाएर लैजाने भन्दै सर्वसम्मत नेतृत्व हत्याउने दाउमा छन् । झापा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, कृष्ण सिटौलाको गृहजिल्ला हो । अधिवेशनको कार्यतालिका अनुसार साउन १२ गते वडा, १६ गते नगरपालिका र गाउँपालिका, २० गते संसदीय निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा २३ गते चुनाव हुनेछ ।
यसैगरी, जिल्लाको निर्वाचन साउन २६ गतेका लागि तय गरिएको छ । प्रदेश–१ को भदौ १ र २ गते चुनाव हुनेछ ।




























