लक्ष्मी मावि टेन्डर प्रकरण : अध्यक्षले दिए राजीनामा, प्रअले मागे माफी

0
762

भद्रपुर ।

कचनकवल गाउँपालिका –६ बनियानीस्थित लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपाल दंगालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सार्वजनिक खरिद ऐन विपरीत विद्यालय व्यवस्थापन समितिले निर्णय गर्दै खुलाएको १५ दिने सिलबन्दी बोलपत्र कोटेसनमा सूचनादेखि दर्तासम्मको प्रक्रिया नीति नियम मिचेर टेन्डर स्वीकृत गरेको विषयमा पूर्वाञ्चल दैनिकमा समाचार प्रकाशित भएपछि पार्टीको दबाबपछि दंगालले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

अध्यक्ष दंगालले कचनकवलको शिक्षा, युवा तथा खेलकुद शाखालाई लिखित रुपमा राजीनामा दिएको शाखाका प्रमुख छवि बस्नेतले जानकारी दिए । ‘अध्यक्षज्यूले बुधवार शाखामा आएर पत्र बुझाउनु भएको छ, उहाँले अध्यक्षको जिम्मेवारी सदस्य रुपा गौतमलाई दिनुभएको पत्रमा उल्लेख छ’– शाखा प्रमुख बस्नेतले भने ।

शिक्षा शाखाले नै उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्ति गरेको थियो । दंगाल राप्रपा निकट कार्यकर्ता हुन् । विद्यालय व्यवस्थापन समितिको नयाँ अध्यक्ष नचुनिएसम्म सदस्य गौतमले नै कार्यवाहक अध्यक्षको जिम्मेबार पूरा गर्ने जनाइएको छ ।

गाउँपालिकाले विद्यालय अध्यक्षको जिम्मेवारी दंगाललाई दिएदेखि नै विद्यालयको आन्तरिक गतिविधिहरू पटक– पटक विवादित बन्दै आएको स्थानीयवासीको दाबी छ ।

सङ्घीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयलाई ६ लाख ५० हजारको कार्यक्रम परेको थियो । त्यसपछि विद्यालयले असार ३ गते इन्टरेक्टिभ प्यानल बोर्ड एक थान, स्मार्ट टिभी दुई थान, ल्यापटप एक थान, प्रोजेक्टर एक थान, कम्प्युटर सामग्री राख्ने दराज एक थान र कम्प्युटर टेबल एक थान खरिदका बोलपत्र आव्हान गरेको थियो । सो टेन्डर प्रक्रिया नीति नियम मिचेर दर्ता नभएको बोलपत्रदातालाई दिएको भन्दै अन्य बोलपत्रदाताहरु विरोधमा उत्रिँदै शिक्षा शाखा र गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । त्यसको भोलिपल्ट शिक्षा शाखाका प्रमुख बस्नेत नेतृत्वमा गएको तीन सदस्यीय छानबिन समितिले टेन्डर प्रक्रिया सम्बन्धी सम्पूर्ण खातापाता जाँच गरेर प्रक्रियामा त्रुटी भएको भन्दै सम्पूर्ण प्रमाणित कागजात लिएर छानबिन थालेको थियो ।

यता छानबिनको घेरामा परेका प्रधानाध्यापक रवि बुढाथोकीको विषयमा अहिलेसम्म ठोस निर्णय हुन नसकेको शाखा प्रमुख बस्नेतले बताए । उनलाई पदमा राख्ने वा नराख्ने विषयमा छानबिन समितिले गाउँपालिकालाई प्रतिवेदन बुझाएपछि मात्र टुङ्गो लाग्ने उनले बताए ।

प्रअ बुढाथोकीले मागे पत्रकारसँग माफी

समाचारको विषय लिएर पत्रकार पार्थ मण्डललाई प्रअ बुढाथोकीले लिखित स्पष्टीकरणसहित विद्यालयमा हाजिर हुन भनी पत्र काटेका थिए । प्रअ बुढाथोकीले सो स्पष्टीकरणको पत्र सामाजिक सञ्जालमा राखेका थिए । त्यसपछि सो घटनाको भत्र्सना गर्दै पत्रकार महासङ्घसहित पत्रकारका संघ संगठनहरूले विज्ञप्ति निकालेर आपत्ति जनाए ।

नेपाल पत्रकार महासंघ झापा, प्रेस सङ्गठन झापा, प्रेस चौतारी, प्रेस क्लब भद्रपुर, खोज पत्रकारिता मञ्च चन्द्रगढी र सञ्चार क्लब गौरादहले छुट्टाछुट्टै विज्ञप्ति निकालेर प्रधानाध्यापक बुढाथोकीको सो कार्यशैलीको विरोध जनाएका थिए ।

प्रधानाध्यापक बुढाथोकीको यस्तो कार्य अहम्को पराकाष्टा र प्रेस स्वतन्त्रता माथिको ठाडो प्रहार भएको उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यस विरुद्ध कानूनी उपचारको बाटो हुँदाहुँदै सार्वजनिक निकायमा बहाल रहेका विद्यालयको प्रधानाध्यापकजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई स्पष्टीकरण सोध्न पत्राचार गर्नु र उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर पत्रकारको मर्यादामा आँच पु¥याउने कार्य आफैँमा आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो’– भन्दै सबै संघसंगठनले बिरोध जनाएका थिए । पत्रकार महासंघसहित संघसंगठनहरूले विज्ञप्ति निकालेपछि विद्यालयका प्रधानाध्यापक बुढाथोकीले माफी मागेका छन् । लक्ष्मी माविले कुनै पनि कार्य एकल निर्णयबाट नभएर विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम नै हुने गरेको र यसमा मेरो व्यक्तिगत आग्रह वा पूर्वाग्रह नरहेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कोटेसन उपर विभिन्न सञ्चारमाध्यमबाट टीकाटिप्पणी आएकोले सो विषयमा जानी नजानी प्रअको नाताले मैले पत्रकारको नाम लेखेर गरेको हस्ताक्षरले स्वतन्त्र प्रेस र पत्रकारिताको क्षेत्रमा अहोरात्र खट्ने पेशागत सङ्घ सङ्गठनमा असर परेको भए नियतवश नभई अञ्जानमा भएकोले व्यक्तिगत तर्फबाट क्षमायाचना गर्दछु– उनले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । साथै प्रधानाध्यापक बुढाथोकीले पत्रकार मण्डललाई फोन गरेरसमेत माफी मागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here