पढाइ बन्द, निर्माण धमाधम

0
1004

झापा, कोरोना भाइरसको बढ्दो संक्रमणका कारण अहिले पनि झापासहित देशभरका सबै विद्यालय बन्द छन् । विद्यालय बन्द भएसँगै पठनपाठन ठप्प छ । केही विद्यालयले वैकल्पिक विधिद्वारा (अनलाइन कक्षा) पठनपाठन गराए पनि धेरै विद्यालय र विद्यार्थी अनलाइनको पहुँचमा नहुँदा सामुदायिक मात्र होइन निजी विद्यालयको पनि पठनपाठन हुन सकेको छैन ।                                              गौरीशंकर मावि

तर, कोरोना कहरमा सामुदायिक विद्यालयले भने भौतिक निर्माणलाई प्राथमिकता दिएर धमाधम विद्यालय भवन निर्माण गरिरहेका छन् । बाह्रदशी गाउँपालिकाभित्र रहेका सबैजसो विद्यालयले अहिले पठनपाठन ठप्प भएको समयमा भौतिक निर्माणलाई प्राथमिकता दिएका छन् । संघ, प्रदेश र स्थानीय तहमार्फत प्राप्त बजेटबाट भौतिक निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ ।
तराई–मधेश समृद्ध कार्यक्रम अन्तर्गत बाह्रदशी गाउँपालिका–५ र ७ नम्वर वडामा रहेका दुई वटा विद्यालयको भवन निर्माणको काम अहिले धमाधम भइरहेको बाह्रदशी गाउँपालिका–५का वडाध्यक्ष भूपेन्द्र कटुवालले जानकारी दिए । वडा नम्वर ५मा फूलवारी माध्यमिक विद्यालय र वडा नम्वर ७मा रहेको गौरीशंकर माविको भवन निर्माण भइरहेको छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि यो वर्ष भौतिक निर्माणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाभित्र रहेका विद्यालयको ८० प्रतिशत भौतिक सुधारको काम सकिएको बाह्रदशी गाउँपालिका– ५का वडाध्यक्ष कटुवालले बताए । गौरीशंकर माविमा ४० लाख रुपैयाँको लागतमा दुई तले भवन निर्माण भइरहेको प्रधानाध्यापक लेखनाथ कटुवालले जानकारी दिए । संघीय सरकारको तराई–मधेश समृद्ध कार्यक्रमबाट प्राप्त रकममा गाउँपालिकाले १० प्रतिशत थप रकम प्रदान गरेसँगै विद्यालय भवन निर्माण भइरहेको छ– प्रधानाध्यापक कटुवालले भने । पहिलो चरणमा २६ लाख रुपैयाँले भवन निर्माणको काम शुरु भएको थियो– प्रधानाध्यापक कटुवालले भने– यो आर्थिक वर्षमा १७ लाख रुपैयाँले निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तराई–मधेश समृद्ध कार्यक्रम अन्तर्गत फूलवारी माध्यमिक विद्यालयमा ३५ लाख रुपैयाँ र वडा नं. ३मा राजवंशी समाज विकास समितिको भवन निर्माण भएको छ ।

गौरीशंकर माविको निर्माणाधीन भवन ।

तराई–मधेश समृद्धि कार्यक्रममार्फत विद्यालयको भवन निर्माणसँगै अब बाह्रदशी–७मा रहेको गौरीशंकर माविमा विद्यालय भवनको समस्या हट्दै गएको बताइएको छ । तर, कोभिडको यो समयमा चाहेर पनि आफ्ना बालबालिकालाई अध्ययन अध्यापन गराउन नसकिएको प्रअ कटुवालले बताए । आदिवासी, जनजाति, लोपोन्मुख, सन्थाल सीमान्तकृतसहित विपन्न वर्गका धेरै बालबालिका यस विद्यालयमा अध्ययन गर्छन्, उनीहरुलाई चाहेर पनि अनलाइन कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन– प्रधानाध्यापक कटुवालले भने– कोभिडको यो समयमा विद्यालयको पठनपाठन गराउन नसके पनि भौतिक निर्माणलाई प्राथमिकता दिएका छौं । कोभिडको संक्रमणका कारण बाह्रदशी गाउँपालिका–७ गौरीशंकर माविको मात्र पठनपाठन प्रभावित भएको होइन सिङ्गो गाउँपालिकाकै विद्यालयको अवस्था उस्तै छ । तर, सबै विद्यालयले यो समयमा भौतिक निर्माणलाई प्राथमिकता दिएका छन् ।

प्रधानाध्यापक कटुवाल – गौरीशंकर मावि

अहिले गाउँपालिकाको पशुपति माध्यमिक विद्यालयलाई प्राविधिक धारको पठनपाठन गराउन विद्यालय भवन निर्माणको चरणमा छ । अमृत आधारभूत विद्यालयलाई स्तरोन्नति गर्दै माविमा रुपान्तरण गरेसँगै यस विद्यालयमा पनि भवन निर्माणको कामले प्राथमिकता पाएको छ । त्यस्तै जनज्योति, कटरडाँगी, घोडामारामा रहेको विद्यालयको पनि भवन निर्माणको काम भइरहेको बताइएको छ ।
जनविकास र घोडामारा आधारभूत विद्यालयलाई संघीय सरकारबाट विशेष अनुदानबापत एक करोड रुपैयाँ बजेट प्राप्त भएको बताइएको छ । अमृत आधारभूत विद्यालय वडा नम्वर १, जनविकास आधारभूत विद्यालय वडा नम्वर ४ र वडा नम्वर ६को पञ्चमणि आधारभूत विद्यालयको स्तरोन्नति गरिएको बताइएको छ । गाउँपालिकाभित्र सबै वडाका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधारका कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

28 asar final इ – पेपर पढ्नका लागि यो यहाँ क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here