बिर्तामोड ।

झापाको बिर्तामोडमा आज बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेपछि प्रहरीले कुकुरको सहायतामा अनुसन्धान शुरु गरेको छ ।
बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् । महिलाको अर्धनग्न शव भेटिएको घटनामा झापा प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान प्रक्रिया अगाडि बढाउने भएको छ ।
सुनसरीको धरानबाट कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले तालिम प्राप्त कुकुरको सहायतामा घटनाको प्रारम्भिक अनुसन्धान अगाडि बढाइएको बताए ।
उनले भने– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक जाँचका तीन जना चिकित्सकको टोली र तालिम प्राप्त कुकुर सहितको टिमले घटनाको अनुसन्धान शुरु गरेको छ । शरिरमा चोटपटक र अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको बताए ।
मृतक बस्नेत बिर्तामोडको एउटा सहकारी संस्थाकी कर्मचारी भएको खुलेको छ । उनलाई कसैले मारेर फालेको हुनसक्ने प्रहरीले आंशका गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीदेखि करिब एक किलोमिटर पूर्वमा महलिाको शव फेला परेको भन्दै बिर्तामोड शान्ति सुरक्षा कायम गर्न प्रहरीले असफल भएको स्थानीयको भनाई छ । पछिल्लो समयमा बिर्तामोड आसपासका क्षेत्रमा अपराधका घटना बढ्न थालेको स्थानीयले बताए ।




























