मासिन थाल्यो वरपीपल

0
785

युवराज बिष्ट,
भोजपुर।

डिभिजन वन कार्यालयले वरपीपल रोप्ने अभियान चलाएको छ । सडक विस्तार तथा मानवीय गतिविधिका कारण वरपीपल मासिन थालेकोले यस्तो अभियान चलाएको बताइएको छ ।

कार्यालयले वरपीपलले प्रशस्त मात्रामा अक्सिजन दिने तथा वातावरणलाई स्वच्छ राख्न सहयोग पु¥याउने भएकाले सार्वजनिक तथा खुला क्षेत्रमा रोप्ने गरी अभियान सञ्चालन गरिएको जनाएको छ ।

धेरै मात्रामा वरपीपलका रुख विस्तार गर्न सकिएमा बस्तीमा बाँदर आउने क्रम समेत रोकिने कार्यालयको जिकिर छ । वरपीपलको फल खाएर बाँदर अल्मलिने हुँदा किसानका अन्नबालीमा कम क्षति हुने कार्यालय प्रमुख विष्णुप्रसाद घिमिरेले बताए ।

उनले भने– ‘पछिल्लो समय धेरै वर्ष पुराना वरपीपलका रुख मासिँदै गएका छन् । अधिकांश ठाउँमा वरपीपलका ठूटा मात्र देखिन्छन् । यसले वातावरणलाई प्रत्यक्ष रुपमा हानी पुगिरहेको छ । यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर यसलाई अभियानका रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ विस्तार गरिरहेका छौँ ।’

बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक वनमा फलफूलजन्य बिरुवा तथा स्कुस रोपणलाई ध्यान दिन कार्यालयले आग्रह गरेको छ । बाँदरका लागि खाने आहारा वन क्षेत्रमा नै उत्पादन गर्न सकिएमा गाउँबस्तीमा कम क्षति गर्ने कार्यालयको भनाइ छ ।

प्रमुख घिमिरेले भने– हामीले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौँ । वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ । हामीले वन क्षेत्रमा पनि फलफूलका बिरुवालाई विस्तार गर्न जरुरी देखिएको छ । त्यसैले हामीले खुला क्षेत्रमा वरपीपल रोप्ने अभियान सञ्चालनमा ल्याएका हौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here