भारतस्थित नेपाली कूटनीतिज्ञको मोबाइल फोनमा पनि जासूसी भएको खुलासा

0
881

काठमाण्डौं । 

फ्रेन्च समाचारपत्र ‘ले मोन्डे’मा प्रकाशित समाचार अनुसार, पेगासस स्पाइसवेयर नामक सफ्टवेयर मार्फत भारतका राजनीतिज्ञ, पत्रकार, दिल्लीस्थित कूटनीतिज्ञ र राजदूतको मोबाइल फोन ट्यापिङ गरी जासूसी गरिएको थियो।

सन् २०१७ देखि २०२१ सम्म सफ्टवेयर मार्फत गरिएको जासुसीको सम्भावित सूचीमा इरान, अफगानिस्तान, चीन, साउदी अरेबियासँगै नेपालका कूटनीतिज्ञ र राजदूत पनि छन्। तर, नेपाली राजदूत नीलाम्बर आचार्यकै फोन ट्यापिङ गरी जासूसी भएको हो कि होइन् भन्ने प्रष्ट खुलेको छैन।

“भारतमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका राजदूत सम्भावना लक्षित सूचीमा छन्, त्यसमा दिल्लीस्थित विभिन्न देशका दर्जनौं राजदूत र कूटनीतिज्ञ पनि छन्,” ले मोन्डेमा उल्लेख गरिएको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस्तो समाचार प्रकाशन भएको विषयमा मन्त्रालयमा छलफल नभएको बताइन्।

सोमबार ले मोन्डेसहित अमेरिकाबाट प्रकाशित हुने वाशिङ्टनपोस्ट, बेलायतको द गार्जियन, भारतको अनलाइन द वायर आदिले पेगासस नामक सफ्टवेयर मार्फत भारतमा जासूसी भएको समाचार प्रकाशित गरेका थिए।

पेगासस सफ्टवेयरको माध्यमबाट भारतका ४० पत्रकारसहित विश्वभरिका दर्जनौं पत्रकार, अधिकारकर्मी तथा ख्यातिप्राप्त व्यक्तिको जासूसी भएको हुनसक्ने समाचारहरूमा उल्लेख गरिएको थियो। यो सूचीमा बेलायती पत्रिका फाइनान्सियल टाइम्सका सम्पादकसँगै भारतबाट प्रकाशित हुने द इन्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्सका पत्रकार र सम्पादक पनि थिए।

हिन्दुस्तान टाइम्सका कार्यकारी सम्पादक शिशिर गुप्ता, सोही पत्रिकाका प्रशान्त झा लगायत पत्रकारको मोबाइल नम्बर पेगासस सफ्टवेयरको डेटाबेसमा देखिएको थियो।

पेगासस नामक ह्याकिङ सफ्टवेयरलाई इजरायलको एनएसओ समूहले बनाएको हो। यो कम्पनीले सरकारहरूलाई मात्रै यो सफ्टवेयर बिक्री गर्ने दाबी गर्दै आएको छ।

पेगासस नामक जासूसी गर्ने भाइरस चुपचाप कुनै पनि डिभाइसमा छिरेर प्रयोगकर्ताको जानकारी विना नै फोनमा रहेका गोप्य जानकारी चोर्नसक्छ। फोन नम्बर, कल रेकर्ड, क्यामेरा, माइक्रोफोन लगायत महत्त्वपूर्ण एप आदिका सूचनामा यसले जासूसी गर्नसक्छ। नेपाल सरकारले यस्तो जासूसी सफ्टवेयर खरीद गरेको छ वा छैन भन्ने खुलेको छैन।- हिमालखबरबाट सभाार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here