बिर्तामोड स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी खड्का लुकाएको खोप सहित पक्राउ

0
1049

बिर्तामोड ।

झापाको बिर्तामोडस्थित एक होटलमा नगरका कर्मचारीले लुकाएको सय भायल कोरोना बिरुद्धको भेरोसिल खोप सहित नगरका स्वस्थ्य फोकल पर्सन नै फेला परेका छन् ।

शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको खोप सहित नगरका स्वास्थ्य फोकल पर्सन ओम खड्का फेला परेका हुन् । कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई मात्र दिने गरेको गुनासो भइरहेका बेला लुकाएर राखिएको खोप र बिर्तामोड नगरका स्वास्थ्य फोकल पर्सनलाई स्थानीय युवाले अपरान्न ४ बजे फेला पारेका हुन् ।

विगत केही दिनयता जनस्वास्थ्य प्रमुख खड्काले सो होटलमा नजिकका ब्यक्तिहरुलाई बोलाएर खोप लगाउने गरेको जानकारीमा आएको छ । होटेलको दराजमा लुकाएर राखिएको अवस्थामा खोप फेला परेपछि खड्काले सिलबन्दी कार्टुन फोडेर खोप अन्यन्त्रै लुकाएका थिए । तर, स्थानीय केही युवालाई शंका लागि खोजी गर्दा होटलको र्याकमा उक्त खोपको कार्टुन फेला परेको हो । खोप सहित जनस्वास्थ्य प्रमुख नै फेला परेपछी प्रहरी टोली समेत पुगेको थियो ।

खड्काले भने आफू होटेलमा नै क्वारेन्टाईनमा रहेकाले खोप ल्याइएको दावी गर्दै आफ्नो बचाउ गरेका छन् तर होटलको अभिलेखमा भने खड्का शुक्रबार मात्रै इन्ट्री भएको पाइएको छ । खड्कामाथि यस अघि पनि खोप लुकाएर प्रतिब्यक्ति १० हजार रुपयाँ असुलेर बिक्री गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

बिर्तामोडमै औषधिको होलसेल पसल समेत गर्दै आएका खड्काले कोरोना संक्रमण शुरू भएयता आफ्नै फर्मका लाखौं मूल्यका सामाग्री नियमविपरीत नगरपालिकालाई बिक्री गरी अनियमीतता समेत गर्दै आएको स्थानीयको आरोप छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले प्रहरीले खोप बरामद गरिसकेको र सो विषयमा छानविन थालिएको बताएका छन् । लक्षित वर्गले कोरोना खोप नपाएको गुनासो आइरहेका बेला उक्त खोप फेला परेको हो ।

स्थानीय युवाहरुले खोपको दुरुपयोग भएको भन्दै खड्कालाई पक्राउ गर्न माग गरेका थिए । स्थानीय युवाहरुले प्रमुख जिल्ला अधिकारी आएपछि मात्रै खोप र खड्कालाई लानदिने भन्दै नाराबाजी समेत गरेका थिए ।

बिर्तामोडमा खोपको दुरुपयोग भएको गुनासो आइरहेका बेला शंकास्पद् रुपमा खोप भेटिनुले खड्ककाको कार्यशैली प्रति शंका उत्पन्न भएको प्रत्यक्षदर्शीले बताए । खोप फेला परेको दुई घण्टासम्म पनि प्रमुख जिल्ला अधिकारी नआएपछि प्रहरीले मुचुल्का तयार पारेर प्रक्रिया पुरा गरेपनि मुचुल्कामा के लेखिएको थियो भनेर सञ्चारकर्मी, उपस्थित सर्वसाधारणलाई जानकारी दिइएन् । यसैबीच इलाका प्रहरी कार्यालय अनारमनीले खोप सहित खड्कालाई पक्राउ गरेको छ ।

घटनाको सम्बन्धमा बुझने काम भइरहेको स्वास्थ्य कार्यालय झापाका पोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । घटनामा दोषि पाए कारबाही हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here