४० बर्ष भारतीय जेलमा रहेका दुर्गाको अवस्था जटिल बन्दै

0
984

बिमल दहाल,
इलाम ।

भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएपछि घर ल्याइएका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । माई–१० लुम्बाकमा परिवारसँगै बस्दै आएका उनी परिवार र समाजमा घुलमिल हुन समस्या भइरहेको अवस्थामा स्वास्थ्यमा थप जटिलता देखिएको हो ।

दुर्गाप्रसादको बोलीचाली र व्यवहार शुरुमा सहज भए पनि अहिले जटिल बनिरहेको छ । उनी मानसिक बिरामी झंै नालीको पानी उठाउँदै पिउने, आफ्नै सुत्ने कोठामा पिसाब गर्ने, घरका अन्य सदस्यलाई कुट्न झम्टिने, घरमा थाह नदिई टाढा–टाढासम्म घुम्ने लगायतका अनौठो कार्य गर्न थालेका छन् । ‘पहिला–पहिला अधिकांश समय मानसिक रूपमा ठीक अवस्थाको बोली–व्यवहार थियो’– दुर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले भने– ‘दिन बित्दै गएपछि उहाँको अवस्था झन्–झन् असहज र जटिल बन्दैछ ।’ गोपाल भन्छन्– घरमा खाना खुवाउन, लुगा लगाउन, सरसफाई लगायतका काम गराउन ठूलो बुवालाई केही साता यता गाह्रो परिरहेको छ । गोपालले भने– ‘चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भन्ने सल्लाह दिएका थिए तर अवस्था चाहिँ झन्–झन् बिग्रिँदै गएको छ ।’

उनलाई गत बैशाखमा विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको थियो । ‘चिकित्सकले उहाँको मानसिक अवस्था ठीक छ, बिस्तारै सुधार हुन्छ भनेका थिए तर उहाँको अबस्थामा त झन जटिल बन्दै गयो– गोपाल भन्छन्– मनोचिकित्सकसँग पनि परामर्श गरिएको हो, उहाँहरुले पनि ठीक हुन्छ भन्नु भएको थियो । तर, अबस्था जटिल हुँदै गएको छ ।

दुर्गाप्रसादले घर छाडेर हिँडेपछि परिवार तत्कालीन एकतप्पा गाउँ पञ्चायतबाट माई नगरपालिका–१०, लुम्बाकमा बसाइँ सरेको थियो । दुर्गाप्रसाद बेला–बेला छाडा शव्द बोल्दै मेरो घर एकतप्पा हो, एकतप्पा नै जान्छु, मलाई भारतको जेलमै पु¥याइदिनू भन्दै झगडा गर्ने, बर्बराउने गर्छन् । अभद्र कुरा र कार्य गर्दै परिवारलाई समेत त्रसित बनाउँछन् ।

स्थानीय समाजसेवी शिवप्रसाद अधिकारीले दुर्गाप्रसादलाई लामो समय उपचारका लागि अन्यत्र लानु पर्ने अबस्था भएको बताएका छन् । उनले एकपटक सबै सहयोगी निकाय र व्यक्तिलाई दुर्गाप्रसादको अबस्था हेरिदिन समेत आग्रह गरे । दुर्गाप्रसादलाई १ नम्बर प्रदेश सरकारमार्फत गत बैशाखमा विराटनगरस्थित बिराट मेडिकल कलेजमा १७ दिन अस्पतालमै राखेर उपचार गरिएको थियो भने माई नगरपालिकाले ५० हजार नगद र यातायात खर्च १७ हजार रुपैयाँ प्रदान गरेको थियो । गोपाल भन्छन्– ‘धेरै संघ–संस्थाले ठूलो बुवाको लागि सहयोग गर्ने गरेको भएता पनि उहाँले पाएको ४० बर्षको बिना कसुर सजायको क्षतिपूर्ति दिलाउन कसैबाट सहयोग नपाएको गुनासो गरे । उनले भने– क्षतिपूर्ति आए त्यसैबाट ठूलो बुवाको उपचार गर्ने थियौं ।’

दुर्गाप्रसाद २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जीलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी गत फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिएका हुन् । विभिन्न संघ–संस्थाको पहलमा उनलाई गत चैत ८मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो ।

सन् १९८१मै जेल परेका उनको मुद्दामा कुनै सुनुवाई नै भएन । यसरी लामो समय जेलमै कोचिएको थाह पाएपछि कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६÷६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउने गरी गत चैत ७मा रिहा गरेको थियो । चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहार मात्र गर्नसक्ने रिपोर्ट दिएका थिए । जेलबाट छुटेपछि दुर्गाप्रसादले आफूले हत्या गरेको नभई कसैले फसाएको बताएका थिए ।

एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) का दुर्गाप्रसाद मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका थिए । त्यस यता बेपत्ता उनी जिउँदै छन् या छैनन् भन्ने नै परिवारजनलाई थाहा थिएन । घरबाट हिँडेपछि उनी दार्जीलिङमा रोजगारी गरिरहेको अपुष्ट खबर आएको थियो । तर, दार्जीलिङमा त्यतिबेला गोर्खाल्याण्ड आन्दोलन चलिरहेकाले त्यहीं उनको मृत्यु भएको अनुमान परिवारलाई थियो ।

१० वर्षअघि दुर्गाप्रसादसँगै जेलमा बसेका भारतीय नागरिक राधेश्याम दासले आफू पुनः अर्काे मुद्दामा गत जनवरीमा जेल पुग्दा दुर्गाप्रसादलाई पहिलाकै हालतमा भेट्टाएका थिए । त्यसपछि उनले भारतकै वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादको अवस्थाबारे खबर गरेका थिए ।

यस्तो खबर आएपछि रेडियोले नेपालका विभिन्न संयन्त्रसँग उनको वास्तविक ठेगानाबारे सूचना लिने प्रयास गरेको थियो । जेल र अदालती कागजमा ‘दीपक जोशी’ नाम उल्लेख भएका दुर्गाप्रसादको वास्तविक नाम, ठेगाना र परिवार त्यसपछि पत्ता लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here