खानपान र शयनका परम्परागत नियम

0
748

सामान्यतः हामी त्यतिबेला मात्र आहारविहारका नियमबारे चासो राख्ने गर्छौं जब हामी रोगाादीको अवस्थामा पर्छौं । अन्य अवस्थामा खानपान तथा शयनका नियमबारे बेवास्ता गरिरहेका हुन्छौं । तर, आरोग्यता र दीर्घजीवनका लागि सबै समय र अवस्थामा नीति–नियम तथा अनुशासनको पालना गर्नु अत्यावश्यक छ । जीवनका हरेक परिस्थिति र अवस्थाहरुमा धार्मिक तथा परम्परागत मूल्य–मान्यता अनुसार नीति–नियमको पालना गर्नसके रोग, शोकमुक्त बन्न सकिन्छ । हेरौं, कस्ता छन् त हाम्रा खानपन र शयनका परम्परागत नियम–

खानपानका नियम

– खान खानुअघि दुई हात, दुई पाउ र मुख धोएर मात्र खाना खानुपर्छ । राम्रोसँग हात धुनुपर्छ । चिसो खुट्टाले खाना खाँदा पाचनशक्ति बढ्ने र खाना पचाउन सहज हुन्छ ।

– जुत्ता लगाएर र दक्षिण फर्किएर खाना खान हुँदैन । खाना बस्दा पूर्व वा उत्तर फर्केर बस्नुपर्छ, जसबाट दिर्घायू र स्वस्थ बन्न सकिन्छ ।

– रोएर वा हाँस्दै खानपान गर्नु हुँदैन । केटाकेटीलाई रोएको भए फकाएर खाना खुवाउनुपर्छ ।

– एकान्तमा खानुपर्छ । धेरै जना जम्मा भएर खानपान गर्नु हुँदैन, सँगै बसेर खाना खाँदा जुठो हुने सम्भावना रहन्छ ।
– खुल्ला आकाशमुनि, खाली भुइँमा बसेर, काखमा थाल राखेर खान खान हुँदैन । हिँड्दै, उभिएर कहिल्यै खाना खान हुँदैन । अँध्यारोमा, भिजेको लुगा लगाएर, एउटा मात्र लुगा लगाएर, फुटेको पात्रमा खाना खान हुँदैन ।

– सुपारी, उखु, कन्दमुल, फल, जल र दूध खाएर स्नान, पूजा गर्नुहुन्छ । तर, यी खाएपछि चुठ्नु वा कुल्ला गर्नुपर्छ ।
– खाना दिनमा बिहान र बेलुका गरी दुई पटक खाने व्यक्तिलाई व्रतको फल प्राप्त हुन्छ, जुन उपबास बसे सरह मानिन्छ । बीचमा अल्पाहार गरे पनि खाना भने खान नहुने शास्त्रीय विधान छ ।

– ओछ्यानमा बसेर खाना खान हुँदैन । जसबाट पोखिने, जुठो हुने सम्भावना हुन्छ । खाना भएको थालमा पानीको गिलास राखेर खानु हुँदैन । खानामा पानी पोखिन सक्छ ।

– कसैले कसैको जुठो खानु र जुठो खान दिनुहुँदैन । आमाबाबुले छोराछोरी र छोराछोरीले आमाबाबुको पनि जुठो खान हुँदैन । जसबाट रोग सर्ने डर हुन्छ ।

– एउटै पात्र वा थालमा धेरै (एक जनाभन्दा बढी)ले खाना खान हुँदैन । उठेर, घुमेर वा हिँड्दै खाना खान हुँदैन । एकै ठाउँमा बसेर मात्र खानुपर्छ ।

– इष्र्या, क्रोध, डर, कामभावयुक्त अवस्थामा खाना खानु हुँदैन । जसबाट अपच हुने हुन्छ । थकान लागेको बेला केही क्षण आराम गरेर मात्र खाना खानुपर्छ । तुुरुन्त पानी पनि पिउनुहुँदैन ।

– सधैँ कासको पात्रमा खाना खानुपर्छ । तर, आइतबार भने खान हुँदैन । यसो गर्नाले यश, किर्ति, आयु, ऐश्वर्य बढ्छ । पवित्र ढंगले बनाइएको (संस्कारित) खाना खानुपर्छ । अन्न आदि धेरै रासायनिक मलखाद्य विषादी प्रयोग नगरेको हुनुपर्छ ।

– खाना खादा आवाज निकाल्नु (धेरै बोल्नु) हुँदैन । सधैँ मौन रहेर एकान्त शान्त चित्तले खानपान गर्नुपर्छ ।
– खाना खादा बचेको बाँकी जुठो खाना पुनः सेवन गर्नहुँदैन । बढी भएर बचेको बासी खाना बेलुकी वा बिहान पुनः खान हुँदैन ।

– देब्रे हातले दूध पिउनु, खाना खानु हुँदैन, दाहिने हातले मात्र खानुपर्छ । देब्रे हातले सेवन गर्दा दूध पनि मदिरा समान हुन्छ भनिएको छ ।

– गरीब वा अरुको अरुलाई राखिएको खाना खान हुँदैन । यसो गरेमा ऊ भोको रहन्छ । अरुको निन्दा गर्दै, खानामा दोष लगाउँदै खाना पकाउनु र खानु हुँदैन । बरु प्रशंसा गर्नुपर्छ ।

– पायस (खिर), हलुवा र मालपुवा भगवानलाई अर्पण नगरी खानु हुँदैन । यी भगवानलाई समर्पण गर्न पकाइनु पर्छ । खाना सिमित, शुद्ध र सात्विक खानुपर्छ, यसो गर्नाले आयु, आरोग्य, बल, सुख, सन्तान, सुन्दरता यी छ कुरा प्राप्त हुन्छ ।

– सन्यासीले आठ गाँस, वानप्रस्थीले सोह्र गाँस, गृहस्थीले बत्तीस गाँस र ब्रम्हचारी वा विद्यार्थीले आवश्यकता अनुसार खाना खानुपर्छ । खाना खादा मुखमा अट्ने मात्र गाँस हाल्नुपर्छ । बढी हालेर थालमा झरेको जुठो पुनः खानु हुँदैन । सो खाएमा चन्द्रयाण व्रत बसेर मात्र प्राश्चित हुन्छ भनिएको छ ।

– अल्पाहार गर्ने व्यक्ति स्वस्थ हुन्छ । खाली पेटलाई तीन भागमा विभाजन गरेर एक भागमा अन्न (खाना), एक भागमा पानी र बाँकी एक भाग वायुका लागि खाली छाड्नुपर्छ । खाना खादा अन्त्यमा केही (थोरै)भाग बाँकी राख्नुपर्छ, सबै खानुपर्छ । तर घिऊ, दूध, खिर भने बाँकी राख्नुहुँदैन ।

– मनलाई आनन्द दिने, रसिलो, चिल्लो, सात्विक, बल, बुद्धि, आयु बढाउने खालका पदार्थ, फलफूल खानुपर्छ । खाना खादा पहिलो मीठो बीचमा अमिलो पिरो र अन्त्यमा तितो हुने पदार्थ खानुपर्छ । त्यस्तै रसिलो, पचाउन सजिलो हुने खानुपर्छ ।

– खाना सुख्खा, धेरै पिरो, अमिलो, बासी, भारी धेरै बढी खानु हुँदैन । जसबाट अपच हुने, रोग लाग्ने सम्भावना रहन्छ । खाना खाएर काँसको थालमा चुठ्नु हुँदैन । काँसको थालमा खाना खानाले आरोग्यता, सुख प्राप्त हुन्छ ।

शयनका नियम

– खाना खाएर राम्ररी नचुठी जुठै शयन गर्न हुँदैन । मुखमा खानेकुरा राखेर शयन गर्दा अड्कने सम्भावना रहन्छ ।
– शयन कक्ष वा कोठामा गोडातिर भगवानको तस्वीर राख्नु हुँदैन । यसो गर्दा भगवानको अपमान हुने भएकाले बिछ्यौनाको शिर वा टाउको पट्टि राख्नुपर्छ । सुत्दा सिरानी पूर्व वा दक्षिणपट्टि पार्नुपर्छ । सुत्दा उत्तर वा पश्चिम सिरानी पार्न निषेध गरिएको छ । वैज्ञानिकरुपमा पनि पृथ्वीको आकर्षण शक्तिको असरबाट नकारात्मक प्रभाव पर्ने बताइन्छ ।

– बालक, रोगी बाहेक अरु बिहान सूर्योदयपछि र बेलुका सूर्य अस्ताएपछि साँझमा सुत्नु हुँदैन । सधैँ सूर्योदयभन्दा एक–डेढ घण्टा पहिले ब्रह्ममुहुर्तमा बिछ्यौना त्याग गर्नुपर्छ ।

– शयन गर्दा निवस्त्र भएर सुत्नु हुँदैन, वायु, सूर्यको प्रकाशको उज्यालो आवागमन हुने कोठामा सुत्नुपर्छ । शयन कक्षमा डरलाग्दा हिंस्रक जनावर तथा अन्य कुराको तस्वीर राख्नु हुँदैन । शान्त प्रकृतिका आनन्ददायी तस्वीर मात्र राख्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here