अब्बल सम्भावना बोकेर अल्मल्लिएको प्रदेश एक

0
784

 


विकासमा अब्बल सम्भावना बोकेको प्रदेश एक प्राकृतिक साधन र स्रोतका हिसाबले पहिलो दर्जामै पर्दछ । पछिल्लो समय सबैले भनेको विकास र समृद्धी नै हो । प्रदेश १ अरु प्रदेशको तुलनामा विकास निर्माणको हिसाबले होस् या भौतिक संरचना, प्राकृतिक स्रोत र साधनको हिसाबले पनि अब्बल नै मानिँदै आएको छ । यो प्रदेशले अब्बल दर्जाकै सम्भावना बोकेको छ ।

समग्र आर्थिक विकास र जीवनस्तर उकास्न प्रादेशिक सडक, आवास, भवन तथा शहरी विकास, जलश्रोत तथा सिँचाइ एवम् खानेपानी तथा सरसफाईको पूर्वाधार निर्माण कार्य तथा आधारभूत सेवा सुधार र यातायात व्यवस्थाको लागि यस प्रदेशमा विविध योजनाहरु अघि सारिएको छ भने विकास निर्माणको गतिले पनि तीव्रता पाउन थालेको छ । देशका सात प्रदेश मध्ये प्रदेश नम्बर १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल रहेको छ । यहाँ कृषि, जलस्रोत र पर्यटनको प्रचुर सम्भावना छ ।

के–के छन् त सम्भावना ?

प्रदेशमा ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुसहित तीमान जिल्ला हिमाल, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित आठ जिल्ला पहाड तथा झापा, मोरङ र सुनसरी तराईका जिल्ला हुन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ वटा गाउँपालिका सो प्रदेशमा छन् । २५ हजार नौ सय पाँच वर्ग किलोमिटर क्षेत्रफलको यो प्रदेशको जनसंख्या पछिल्लो गणना २०६८ अनुसार अनुसार ४५ लाख ३४ हजार नौ सय ४३ छ । जनघनत्व एक सय ७५ दशमलव ०६ रहेको छ । प्रदेश नम्बर १ को जनसंख्या र भौगोलिक क्षेत्रफलले नेपालको १७ प्रतिशत हिस्सा ओगटेको पाइन्छ । प्रदेशमा साक्षरता दर ६५ प्रतिशत छ ।

प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृतिको विविधता छ । यहाँ सप्तकोसी जलाधार क्षेत्र र २० हजार मेगावाटको विद्युत् उत्पादन क्षमता, विश्वको सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरमाथिका पाँच हिमाल रहेका छन् । मकालु, लोत्से, कञ्चनजंगा र कुम्भकर्ण हिमाल छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोसी टप्पु वन्यजन्तु आरक्ष यहीँ छ । धनकुटाको त्रिवेणीबाट शुरु भएर चीनको तिब्बतसम्म पुगेको एसियाकै लामो पर्वत शृंखलामा छ भने गुराँसको राजधानी तीनजुरे–मिल्के जलजले क्षेत्र तथा जैविक विविधताले भरिपूर्ण वन जंगल यहीँ पर्दछन् । देशको सबैभन्दा होचो कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा पनि १ नम्बर प्रदेशकै शान हो ।

व्यापारिक मार्ग

उत्तरी छिमेकी र दक्षिणी छिमेकीसँग आर्थिक सामाजिक, कारोबार बराबरी हुन सक्ने सम्भावनाको प्रचुरता पाइन्छ । जोगबनीदेखि किमाथांकासम्मको राजमार्गलाई विस्तार गरे अन्तर्राष्ट्रियस्तरमा समेत यो प्रदेश एउटा गहकिलो आर्थिक नाकाको रूपमा स्थापित गर्न सकिन्छ ।

मध्य पहाडी लोकमार्गले १४ जिल्ला मध्ये नौ वटा जिल्ला छोएको छ भने पूर्व–पश्चिम राजमार्गले तराईका जिल्लामा यातायात सुविधा दिएकै छ । मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग लगायत यातायातका लागि अन्य स–साना स्थानीय सडकले सबै जिल्लालाई जोडेको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्ग यस क्षेत्रको पहाडी जिल्लाहरूको विकासको मेरुदण्ड हो । यस प्रदेशमा पर्ने सुनसरी र मोरङ जिल्ला पुराना औद्योगिक जिल्लाहरू हुन् । १ नम्बर प्रदेशमा मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभामा तुम्लिङटार, खोटाङमा लामिडाँडा, खाडीडाँडा र थामखर्क, सोलुखुम्बुमा नाम्चेसहित १३ वटा विमानस्थल छन् । ती मध्ये विराटनगर विमानस्थललाई तत्काल अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्न ट्रान्जिट विमानस्थलको अवधारणालाई अघि सारिएको छ । प्रक्रियामा छ ।

धार्मिक स्थल

प्रदेश १ धार्मिक क्षेत्रको हिसाबले निकै महत्वपूर्ण मानिएको छ । प्रदेशमा ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेसी हुँदै सुनसरीको बराह क्षेत्र, बूढासुब्बा, पिण्डेश्वरी जस्ता महत्वपूर्ण धार्मिक क्षेत्र छन् । इलाम बजारको माइथान, फाकफोकथुमको ज्ञानदिल स्मारक, गजुरमुखी धाम लगायत यही प्रदेशमा छन् भने प्रदेशमा धनकुटाको छिन्ताङदेवी, मोरङको विराट दरबार, सुनवर्षी, झापाको कन्काई धाम, शिवसताक्षी जस्ता धार्मिक क्षेत्र छन् । पाथीभरा र हलेसीमा मात्रै हरेक वर्ष हजारौं आन्तरिक र बाह्य धार्मिक पर्यटकहरू आउने गरेका थिए । पछिल्लो समय भने कोरोना महामारीका कारण यी पर्यटकीय क्षेत्रहरु ओझेलमा परेका छन् ।

आन्तरिक पर्यटनमा सम्भावना

उच्च सगरमाथादेखि देशकै होचो भूभाग झापाको केचनासम्म रहेको सो प्रदेशमा पर्यटनको प्रचुर सम्भावना बोकेका धेरै स्थान छन् । मोरङका मिक्लाजुङ डाँडा, जेफाले डाँडा र बेतेना सिमसार, झापाको केचनाकलन, जामुनखाडी सिमसार र अर्जुनधारा, सतासीधाम, इलामका अन्तुडाँडा र कन्याम, फाकफोकथुमको ज्ञानदिलदास द्धार, जोरधारा, ज्ञानदिल गुफा, गजुरमुखी देवीथान, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमशृंखला क्षेत्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के र मैयुङ डाँडा, तेह्रथुमको गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र जौबारी महादेव गुफा, सोलुखुम्बुका सगरमाथा, ल्होत्से र चोयु हिमाल, खोटाङका बराहपोखरी र ट्याम्के डाँडा, उदयपुरका जाल्पादेवी, लिम्पाटार र रौतापोखरी तथा ओखलढुंगाको सतासीधाम जस्ता पर्यटन क्षेत्र प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् । सगरमाथा, मकालु, कञ्चनजंघा लगायतका हिमालले हरेक दिन पर्यटकलाई आकर्षित गरिरहेका हुन्छन् । आन्तरिक पर्यटक तानिरहेकै छन् ।

अन्न उत्पादनको भण्डार

तराईका झापा, मोरङ र सुनसरी अन्न उत्पादनका भण्डार मानिन्छन् । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने हो भने यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने क्षेत्रीय कृषि निर्देशनालय विराटनगरको आँकलन छ । यी क्षेत्रमा वार्षिक सरदर १२ लाखभन्दा बढी मेट्रिक टन धान उत्पादन हुन्छ । प्रदेशमा मकै, गहूँ, अमलिसो, अदुवा, अलैंची, चिया, आलु लगायत पनि उत्पादन हुन्छ । कृषि, पर्यटन, शिक्षा, उद्योग, जलस्रोत, जातीय र सांस्कृतिक विविधता, सामाजिक बनोट र पर्यावरणीय हिसाबले प्रदेश नम्बर १ सबैभन्दा अगाडि छ । कृषिको आधुनिकीकरण गर्ने हो भने तीनले मात्रै यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ ।

ऊर्जाको सम्भावना

बढी विद्युत् उत्पादनको सम्भावना १ नम्बर प्रदेशले बोकेको छ । यस प्रदेशमा १० वटा ठूला जलाशययुक्त आयोजनाबाट मात्र सात हजार पाँच सय मेगावाट बिजुली उत्पादन सम्भावना रहेको छ । तीन हजार चार सय ८९ मेगावाट क्षमताको सप्तकोसी उच्च बाँध, एक हजार तीन सय ५७ मेगावाटको सुनकोसी–१, सात सय ६२ मेगावाट तमोर, छ सय ९६ मेगावाट तमोर–१ आयोजना यस प्रदेशमा पर्दछन् ।

त्यसैगरी कन्काई ९,८४०, दूधकोसी पहिलो ९३०००, दूधकोसी दोस्रो ९३,०००, माई ९,६२०, अपर माई ९,५३०, तमोर तेस्रो ९१,८६० लगायत आयोजनाको सम्भावना यस प्रदेशले बोकेको छ । ऊर्जा मन्त्रालयमा नयाँ जिम्मेवारी पाएर मन्त्री बनेकी पम्फा भुसालले प्रदेश १ मा दूधकोशी र तमोर जलाशययुक्त विद्युत् आयोजना अगाडि बढाउने प्रतिबद्धता जनाइसकेकी छन् । प्रदेश १ मा तमोर र कोशी करिडोरको ४०० केभी प्रशारण लाइन निर्माण तीव्ररुपमा अघि बढ्दैछन् ।

शिक्षा र स्वास्थ्यमा पनि अब्बल

केही वर्षअघिसम्म यो क्षेत्रका अभिभावकले आफ्ना छोराछोरीलाई अध्ययनका लागि काठमाडौंसहित भारतका विभिन्न शहरमा पठाउँथे । राम्रो उपचारका लागि भारत र काठमाडौं जानुपर्ने बाध्यता पनि थियो । तर, पछिल्लो समय शिक्षा र स्वास्थ्यमा थपिएको लगानीले यो क्षेत्रका बासिन्दाले उपचार कै लागि अब भारत र काठमाडौं जानुपर्ने अवस्था छैन । स्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध छ । स्तरीय इञ्जीनियरिङ बाहेक अन्य सबै अध्ययन हुन्छ यो क्षेत्रमा । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, नोबेल मेडिकल कलेज, बीएण्डसी र विराट मेडिकल कलेज गरी चार वटा मेडिकल कलेज समेत स्थापना भइसकेका छन् । झापाको बिर्तामोडमा सुविधासम्पन्न बीएण्डसी हस्पिटल सञ्चालनमा आएको छ । गाउँ–गाउँमा निजी विद्यालय र हस्पिटलको बिस्तारले आम सर्वसाधारणलाई सहजता हुँदै गएको छ । प्रदेश नम्बर १ मा पूर्वाञ्चल विश्वविद्यालय र चार वटा मेडिकल कलेज सञ्चालनमा छन् । यसले तत्कालको भारलाई धान्न सक्छ ।

वन सम्पदा

वनजन्य उत्पादन, जडिबुटी, मसलाजन्य उत्पादनलाई विस्तार गर्ने सम्भावना अधिक रहेको छ, जसको प्रवद्र्धन गर्नु आवश्यक छ । प्रदेश १ मा रहेका करिब ४२ प्रतिशत भागमा जंगल रहेको छ । वन क्षेत्रलाई कायम राख्ने, यसको संरक्षण विकास गर्दै मानब हितका लागि जडीबुटी, वन पर्यटनलाई जीविकोपार्जन र औद्योगिक विकासको आधार बनाउनुपर्छ । अलैँची, अमलिसो, लोक्ता जस्ता कच्चापदार्थलाई आधार मानेर कागज उद्योग निर्माण गर्ने हो भने कागज आयातमा कटौती गर्न सकिन्छ ।

पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रदेश एकले लक्ष अनुसार विकास गतिलाई तीव्रता दिन भने सकेको पाइँदैन । प्रदेश सरकारका विगत वर्षहरु नीतिनिर्माण गर्ने र राजनीतिक हिसाबले सत्ता संरक्षण गर्नेमा नै धेरै समय बितिरहेको छ । प्रदेश सरकारले अहिलेसम्म प्रदेशको नाम समेत जुराउन सकेको छैन । यो दुःखद् विषय हो । आगामी दिनमा उपयुक्त सम्पदा र विकासका सम्भावनाहरुलाई ध्यानमा राखेर समृद्धीको यात्रालाई तीव्रताका साथ अघि बढाउन सक्नुपर्छ । अलमल गरेर हुन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here